काठमाडौं। सरकारको यस वर्षको राष्ट्रिय धान दिवसका लागि ‘धान बालीमा सघनताः खाद्य सुरक्षा र आत्मनिर्भरता’ नारा तय गरेको छ। खाद्य सुरक्षाका लागि धान उत्पादन वृद्धि गर्न यस्तो नारा तय गरिएको कृषि विभागले जानकारी दिएको हो।
कृषि विभागले २२औं राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव मनाउने क्रममा असार १५ मा जलवायु अनुकूलित प्रविधिको अनुसन्धान तथा धानको उत्पादन वृद्धि गर्न विभिन्न कार्यक्रम आयोजना गर्नेछ। खुमलटारमा रोपाइँ, कृषकलाई सम्मान, रैथाने बालीको संरक्षण, प्रविधिको प्रचारप्रसार, जलवायु परिवर्तनका कारण यस क्षेत्रमा परेको असर न्यूनीकरणका लागि विज्ञसँग अन्तक्र्रिया कार्यक्रमको तयारी गरेको हो।
विभागका महानिर्देशक प्रकाश सञ्जेलले कृषक र अन्य सम्बद्ध पक्षलाई धान उत्पादन एवं उत्पादकत्व बढाउन तथा खाद्य सुरक्षामा किसानलाई जागरुक बनाउने योजना रहेको जानकारी दिए। मुलुकको आर्थिक विकास, समाजिक, सांस्कृतिक र धार्मिक परम्परामा समेत प्रयोग गरिने धान प्रमुख खाद्यान्न बाली हो। औषत नेपालीको जीवन निर्वाह गर्ने अन्नका रूपमा लिइन्छ।
महानिर्देशक सञ्जेलले धानको विविध महत्वलाई दृष्टिगत गरी यसको उत्पादन वृद्धि एवं आधुनिकीकरण र व्यवसायिकीकरणलाई प्रवद्र्धन गर्ने उद्देश्यले विसं २०६१ असार १५ देखि प्रत्येक वर्ष राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव गरिँदै आएको बताए।
आर्थिक वर्ष २०८०/८१ मा ५७ लाख २४ हजार २३४ टन धान उत्पादन भएकामा आव २०८१÷८२ मा ५९ लाख ५५ हजार ४७६ टन भएको सरकारी आँकडा छ।
आव २०८०÷८१ मा १४ लाख ३८ हजार ९८९ हेक्टरमा धान रोपिएकामा आव २०८१÷८२ मा १४ लाख २० हजार ६३६ हेक्टरमा रोपाइँ भएको थियो। धान बाली लगाइएको क्षेत्रफलमा सामान्य कमी आउँदा पनि उत्पादकत्वमा आएको सकारात्मक वृद्धिले धानको कूल उत्पादन बढेको कृषि तथा पशुपक्षी विकास मन्त्रालयका सूचना अधिकारी महानन्द जोशीले जानकारी दिए। रासायनिक मल, उन्नत जातको बिउ र समयमा वर्षा हुँदा धान उत्पादन बढेको जनाइएको छ।