काठमाडौं। नेपाली आँपको बजारीकरण र प्रवर्द्धनका लागि तीनदिने ‘नेपाल म्यांगो फेस्ट २०२५’ आयोजना गरिने भएको छ।
तराईमा उत्पादित नेपाली आँपको विविधता, स्वाद र मूल्य शृंखला प्रवर्द्धन गर्न असार १३ देखि वालनट बिस्ट्रो, लाजिम्पामा म्यांगो फेस्ट गरिन लागेको हो।
काठमाडौं अर्गानिक्स, एग्री नेपाल, अर्थियर एप र यूबी होल्डिङ््सको सहकार्यमा हुने म्यांगो फेस्टको मुख्य उद्देश्य नेपाली आँपको पहिचान विस्तार, स्थानीय कृषकको मूल्य शृंखला मजबुत बनाउने र प्राकृतिक, विषादीरहित उत्पादनप्रति उपभोक्ताको पहुँच बढाउनु रहेको आयोजकले बताएका छन्।
कार्यक्रममा १० भन्दा बढी प्रजातिका आँप, प्रत्यक्ष किसानबाट माल्दा, दसहरी, जरदा, किसानभोग, कलकत्तिया खरिद गर्न सकिनेछ भने २० बढी आँप समावेश गरिएका परिकार राखिनेछन्।
म्यांगो फेस्टिभल लाजिम्पाटको वाल्नट बिस्ट्रो, स्वयम्भूको एचटुओ क्याफे र झम्सीखेलको वाटरिङ होलमा हुनेछ। यी तीनवटै रेस्टुरेन्टले विशेष म्यांगो मेनु र रेसिपी प्रस्तुत गर्नेछन्।