काठमाडौं। राष्ट्रियसभाबाट खानेपानीमा कर छुट र सहुलियतसहितको संकल्प प्रस्ताव पारित भएको छ। खानेपानी तथा सरसफाई उपभोक्ता महासंघ नेपालको विशेष अनुरोधमा २०८२ जेठ ६ गते राष्ट्रियसभामा दर्ता भएको उक्त संकल्प प्रस्ताव असार १२ गते पारित भएको हो।
खानेपानीलाई जनताको मौलिक हकको रुपमा स्थापित गर्दै यसमा कर छुट, विद्युत महसुलमा सहुलियत, किफायती कर्जाको व्यवस्था र स्वदेशमै ब्लिचिङ पाउडर उत्पादन गर्ने सम्बन्धी संकल्प प्रस्ताव राष्ट्रियसभाबाट सर्वसम्मतिले पारित भएको हो।
प्रस्तावक सांसद जग प्रसाद शर्माले राष्ट्रियसभामा पेस गरेकाे यस प्रस्तावलाई सांसद कृष्ण बहादुर रोकाय,सांसद गोपी बहादुर अछामी सार्की, सांसद भवगती न्यौपाने, सांसद मदन कुमारी शाह (गरिमा) र सांसद मोहम्मद खालिदले समर्थन गरेका थिए। प्रस्तावमाथि छलफलका क्रममा अन्य सांसदहरुले पनि आफ्नो महत्वपूर्ण धारणा राखेका थिए।
खानेपानीको क्षेत्रमा सम्भवतः पहिलो पटक प्रस्तुत भएको यस संकल्प प्रस्तावलाई सबै सांसदहरूले खुलेर समर्थन गर्दै यसको शीघ्र कार्यान्वयनले खानेपानी क्षेत्र, उपभोक्ता र समग्र राज्यलाई नै प्रत्यक्ष फाइदा पुग्नेमा जोड दिएका थिए। सो अवसरमा उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेल, खानेपानीमन्त्री प्रदिप यादवलगायतको उपस्थिति थियो।
छलफलको क्रममा सांसदहरूले उठाएका जिज्ञासाहरूको जवाफ दिँदै खानेपानीमन्त्री यादवले प्रस्तुत संकल्प प्रस्ताव समय सापेक्ष र यथार्थपरक रहेको भन्दै यसलाई जतिसक्दो छिटो कार्यान्वयनमा ल्याउन आफूले निरन्तर प्रयास गरिरहेको प्रतिबद्धता व्यक्त गरे।