पर्सा। सशस्त्र प्रहरी बल नेपाल नम्बर १३ गण हेडक्वार्टर पर्साले चालू आर्थिक वर्षको ११ महिनामा ३८ करोड २७ लाख ७९ हजार आठ सय ९० मूल्य पर्ने भन्सार छली तथा बिलबिजक नभएको सामान बरामद गरेको छ।
सीमा सुरक्षामा खटिने सशस्त्र प्रहरीले सक्रियता बढाएसँगै गत आर्थिक वर्षको १२ महिनाको तुलनामा चालु आवको असार १० गतेसम्मको अवधिमा भने ३ करोड ९० लाख ४४ हजार ६ सय ६ मूल्य पर्ने भन्सार छली तथा बिलबिजक नभएका सामान बरामद गरेको छ।
सशस्त्र प्रहरी बल नेपाल १३ नम्बर गणका गणपति राधेश्याम धिमालले गत आवभरिको तुलनामा चालु आर्थिक वर्षको ११ महिना १० दिनको अवधिमा भन्सार छली गरेर भित्र्याइने वस्तु तथा सामान बरामद उल्लेखनीय रुपमा वृद्धि भएको जानकारी दिए।
‘गत आवभरिमा भन्सार छली गरेर भित्रिएका १४ करोड ९९ लाख पाँच हजार पाँच सय २८ मूल्य बराबरका अवैध समान वीरगन्ज भन्सार कार्यालयलाई बुझाएका थियौं,’ उनले भने, ‘चालू आवमा भने भन्सार छली गरेर भित्रिएका २७ करोड ५६ लाख ५६ हजार चार सय ८७ रकम मूल्य पर्ने अवैध सामान भन्सार वीरगञ्ज कार्यालयमा दाखिला गरेका छौं।’
गणपति धिमालले सशस्त्र प्रहरीले भन्सार कार्यालयसँगको सहकार्यमा शंकास्पद गोदामको नियमित अनुगमनको क्रममा भन्सार छलीका सामान बरामद हुने क्रम ह्वातै बढेको बताए।‘हामीले भन्सार छली गरेर ल्याउनेलाई सुक्ष्म निगरानीमा राख्दै आइरहेका हुन्थ्यौं,’ उनले भने, ‘भन्सार कार्यालयसँगको समन्वयमा छापा मार्दा पनि उल्लेखनीय मात्रामा भन्सार छलीका सामान बरामद भएका हुन्।’
सशस्त्र प्रहरीले बिलबिजक नभएका सामान भने राजस्व अनुसन्धान कार्यालय पथलैया बुझाउँदै आइरहेको छ।सशस्त्र प्रहरीले चालू आवको जेठ १० सम्म अवधिमा बिलबिजक नभएका १० करोड ७१ लाख २३ हजार चार सय तीन मूल्य पर्ने सामान राजस्व अनुसन्धान कार्यालय पथलैया बुझाएको छ।
जबकि गत आवभरिमा भने सशस्त्र प्रहरीले बिलबिजकअनुसार नभएका १९ करोड ३८ लाख २९ हजार सात सय ५६ मूल्य पर्ने सामान बरामद गरेर राजस्व अनुसन्धान कार्यालय पथलैयामा बुझाएको जनाएको छ। गणपति धिमालले सीमा सुरक्षामा खटिने प्रहरीले सक्रियता बढाएसँगै राजस्व संकलनमा पनि तिव्रता पाएको बताए।
‘सशस्त्र प्रहरीले सक्रियता बढाएसँगै अवैध चोरी पैठारी गरेर भित्रिने लत्ताकपडा, इलेक्ट्रोनिक्स सामान, हार्डवेयर, मोटरपाट्र्स, खाद्यान्न पदार्थ र किरानाका सामान बरामद हुने क्रम बढेको छ’, उनले भने, ‘पछिल्लो समय सशस्त्र प्रहरीले सीमा नाकामा सीसीक्यामेरा, नाकामा तालिमप्राप्त कुकुर पनि खटाएर जाँच गर्दै आएकाले पनि अवैध सामानको बरामद हुने क्रममा तीव्रता पाएको हो।’
सशस्त्र प्रहरीले चालू आवमा स्रोत नखुलेको (हुन्डी) एक करोड १५ लाख ९४ हजार पाँच सय २२ रकम पनि बराबद गरेको छ। गत आव भरिमा सशस्त्र प्रहरीले ७९ लाख २६ हजार दुई सय ६५ स्रोत नखुलेको रकम बरामद गरेको छ।
यस्तै चालू आवमा ४२ लाख मूल्य पर्ने एक हजार पाँच सय ९६ क्यूफिट काठ बरामद गरेको छ। गत आवभरिमा भने ४० लाख ९३ हजार तीन सय ५५ मूल्य पर्ने एक हजार पाँच सय ५४ क्यूफिट काठ बरामद गरेको छ।