काठमाडौं। हाल देशभर मनसुनी वायुको प्रभाव रहेको जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार आज दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहनेछ।
कोसी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशलगायत देशका पहाडी भू–भागका केही स्थान तथा बाँकी भू–भागका थोरै स्थानमा मेघगर्जन÷चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।
देशका पहाडी भू–भागका एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ। देशको उच्च–पहाडी तथा हिमाली भू–भागका थोरै स्थान हल्कादेखि मध्यम वर्षा÷हिमपातको सम्भावना रहेको छ।
आज राती देशभर आंशिकदेखि साधारणतया बदली रहने मौसम विज्ञान विभागको पूर्वानुमान महाशाखाले जनाएको छ। गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत देशका पहाडी भू–भागका केही स्थान तथा बाँकी भू–भागका थोरै स्थानमा मेघगर्जन÷चट्याङ सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।
महाशाखाका अनुसार गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा भारीदेखि धेरै भारी वर्षाको पनि सम्भावना रहेको छ। देशको उच्च–पहाडी तथा हिमाली भू–भागका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षा÷हिमपातको सम्भावना रहेको छ।
लुम्लेमा भारी वर्षा मापन
जल तथा मौसम विज्ञान विभागका अनुसार आज बिहान ३ः२५ बजे कास्कीको लुम्ले र आसपासका क्षेत्रमा पछिल्ला ६ घन्टामा भारी वर्षा मापन गरेको छ। विभागले अझै पनि वर्षा जारी रहने सम्भावना रहेको बताएको छ।
वर्षाका कारण सो क्षेत्र हुँदै बहने साना खोलामा आकस्मिक रूपमा बहाव बढ्न सक्ने सम्भावना रहेको र कमजोर तथा भिरालो भू–भागमा पहिरोको खतरा पनि उच्च रहेको विभागले जनाएको छ।
स्थानीय बासिन्दालाई आवश्यक सतर्कता अपनाउन, खोला किनार तथा भिरालो स्थानबाट टाढा रहन र विभाग तथा स्थानीय प्रशासनबाट आउने सूचनालाई ध्यानपूर्वक पालन गर्न विभागले अनुरोध गरेको छ।