काठमाडौं। नेपाल धानको बीउमा आत्मनिर्भरउन्मुख छ। रोपाइँमा प्रयोग हुने कुल बीउमध्ये ९५ प्रतिशत स्वदेशमै उत्पादन हुन्छ। सरकारी तथ्यांकअनुसार करिब १३ देखि साढे १४ लाख हेक्टर धान खेतीलाई आवश्यक पर्ने ६ करोड २८ लाखदेखि साढे ६ करोड किलो धानको बीउमध्ये करिब ६ करोड किलो नेपालमै उपलब्ध छ।
यसरी २८ लाखदेखि ५० लाख किलो बीउ मात्र आयात गर्नुपर्ने अवस्था छ। कृषि विभागले यस वर्ष १३ लाख ९५ हजार २०७ हेक्टरमा धान रोपाइँ हुने अनुमान गरेको छ। प्रतिहेक्टर ४५ किलो धानको बीउ सिफारिसअनुसार कुल ६ करोड २७ लाख ८४ हजार ३१५ किलो बीउ आवश्यक पर्छ।
चालू आर्थिक वर्षको जेठ मसान्तसम्म २५ लाख ७० हजार ६८४ किलो धानको बीउ आयात भएको छ, जसको अर्थ बाँकी ६ करोड २ लाख १३ हजार ६३१ किलो बीउ स्वदेशी उत्पादनले धान्नेछ।
नेपालमा प्रायजसो कृषि वस्तु आयात भएको तथ्यांक छ। तर धानको बीउ आफ्नै प्रयोग भएको छ। कृषि विज्ञ डा.रामवरण यादवका अनुसार नेपालमा प्रतिहेक्टर क्षेत्रफलमा ४५ किलो धान प्रयोग गरिन्छ। बाहिरबाट केही अपुग धानको बीउमात्रै आयात गरिन्छ। आयात भएका बीउमध्ये आधाको हाराहारीमा हाइब्रिड हुने उनले बताएका छन्।
कृषि विभागले यस वर्ष १३ लाख ९५ हजार २०७ हेक्टरमा धान रोपाई हुने अनुमान गरेको छ।
‘हाइब्रिड बीउ एक वर्ष प्रयोग गरेर अर्को वर्ष प्रयोग पाइँदैन,’ उनले भने, ‘तर नेपालमा प्रयोग हुने हाम्रो आफ्नो बीउ छ। किसानले हाइब्रिड प्रयोग गरेमा बीउ राख्नु हुँदैन भनेर सचेत छन्।’
यादवका अनुसार लागभाग २५ प्रतिशत सरकारी निकायले सुधारिएको धानको बीउ उपलब्ध गराउँछ भने बाँकी बीउ किसान आफैले जोहो गर्ने गरेका छन्।
नेपाल धानमा बीउमा आत्मनिभर हुनुमा किसानको मेहनत, कृषि अनुसन्धान परिषद् (नार्क) उन्नत जातका बीउ विकासमा गरेको प्रयास, सरकारले बीउ उत्पादनमा दिएको प्रोत्साहन तथा अनुदान कार्यक्रमको परिणाम हो। गुणस्तरीय बीउको प्रयोगले २० देखि २५ प्रतिशतसम्म कृषि उत्पादन बढाउन सकिने विज्ञहरुले बताएका छन्। ‘धानको उत्पादन बढाउनमा मूख्य भूमिका बीउको नै हुन्छ,’ कृषिविज्ञ रामबहादुर केसी भन्छन्, ‘बाँकी मलजल दोस्रो हो, तर यो पनि आवश्यक पर्छ नै।’
नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) ले १४० भन्दा बढी धानका उन्नत जातहरू दर्ता गरिसकेको छ। नेपालमै हाइब्रिड धानका जातहरूको विकास पनि भइरहेको कृषि विभागका महानिर्देशक प्रकाशकुमार सञ्जेल बताउँछन्। नेपालको प्रमुख खाद्यान्न बाली धानको महत्वलाई उजागर गर्दै र यसको उत्पादन वृद्धिमा जोड दिँदै आइतबार (असर १५ गते) देशभर २२औं राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव मनाइरहेको छ।
नेपालमा खाद्य सुरक्षाको मेरुदण्ड मानिने धान बालीको आर्थिक, सामाजिक, साँस्कृतिक र धार्मिक महत्वलाई दृष्टिगत गर्दै २०६१ सालदेखि हरेक वर्ष असार १५ गते धान दिवस मनाउने गरिएको छ। यस वर्ष जलवायु परिवर्तनको नकारात्मक असरलाई न्यूनीकरण गर्दै जलवायु अनुकूलित धान खेती प्रविधिहरूको अवलम्बन, अनुसन्धान र विकासमा जोड दिइनेछ। विशेष गरी वर्षे र चैते धानको सघन खेतीमार्फत उत्पादन र उत्पादकत्व वृद्धि गरी देशलाई खाद्यान्नमा आत्मनिर्भर बनाउने सन्देश यस वर्षको नाराले दिएको छ।

चालू आर्थिक वर्ष २०८१/८२ मा वर्षे र चैते गरी कुल १४ लाख २० हजार ६ सय ३६ हेक्टर क्षेत्रफलमा धान खेती भएको थियो, जसबाट ५९ लाख ५५ हजार ४ सय ७६ टन धान उत्पादन भएको छ। यस वर्ष औसत उत्पादकत्व ४.१९ मेट्रिक टन प्रति हेक्टर रहेको छ। अघिल्लो आर्थिक वर्ष २०८०/८१ को तुलनामा १.२८ प्रतिशत कम क्षेत्रफलमा रोपाइँ भए पनि उच्च औसत उत्पादकत्व हासिल भएकाले कुल उत्पादनमा ४.०४ प्रतिशतले वृद्धि भएको कृषि विभागले जनाएको छ।
यद्यपि, मुलुकलाई आवश्यक पर्ने करिब ७० लाख टन धानमध्ये अझै करिब १० लाख मेट्रिक टन धान अपुग रहेको छ। फलस्वरुप, चालु आर्थिक वर्षको जेठ मसान्तसम्म करिब ७ लाख ५३ हजार टन धानजन्य वस्तु (धान, धानको बीउ, चामल र कनिका) आयात भएको छ, जसबाट करिब ३८ अर्ब ९४ करोड रुपैयाँ विदेशिएको छ।
विशेष चामलमा अत्यधिक निर्भरता,नेपालमा कम उत्पादन हुने मसिनो तथा बास्नादार चामलमा उपभोक्ताको बढी रोजाइ र छिमेकी मुलुकको निर्यात नीति लगायतका कारणले उत्पादन वृद्धि हुँदाहुँदै पनि आयात अपेक्षित रूपमा कम हुन सकेको छैन।