काठमाडौं। खेतमा काम गरी दहीचिउरा खाएर आइतबार (असार १५) धान दिवस मनाइँदै छ। कामको चटारोले थकित भएका किसान शक्ति प्राप्तिका निम्ति दहीचिउरा खान्छन्।
यस बेला दहीचिउराले शरीरमा शीतलता भई शक्ति सञ्चय हुने विश्वास गरिन्छ। असार १५ लाई नेपाली समाजमा दहीचिउरा खाने पर्वका रूपमा पनि लिइन्छ। खेतीपातीबाहेक अरू पेसा र व्यवसायमा लागेका नेपालीले पनि यस दिन दहीचिउरा खाई असार १५ मनाउँछन्।
नेपाली संस्कृतिमा दहीको स्थान महत्त्वपूर्ण छ। शुभकार्यका निम्ति घरबाहिर निस्कने, विदेश जाने आदि महत्त्वपूर्ण कार्य गर्नुअघि दहीअक्षता मुछेर निधारमा रातो टीका लगाउने परम्परा छ। यस्ता शुभकाममा निस्कनुअघि सगुनका रूपमा पनि दही खुवाएर बिदाइ गरिन्छ। निस्कने बेलामा दही खाएर हिँडे साइत पर्ने जनविश्वास रहिआएको छ।
दही वैज्ञानिक दृष्टिले पनि स्वास्थ्यवद्र्धक मानिन्छ। गुरु गोरखनाथले नेपालको एकीकरणकर्ता पृथ्वीनारायण शाहलाई दही खान दिएर पराक्रमी हुने भविष्यवाणी गरेका थिए भनिन्छ। दहीले पाचन शक्ति पनि बढाउँछ।
पखाला लागेका बेला पनि यो लाभदायक हुन्छ। दहीचिउरा खाने संस्कारले नेपाली संस्कृतिमा बृहद रूप लिएको छ ।
धान दिवस
वि.सं. २०६१ मंसिर २९ गते मन्त्रीस्तरीय निर्णय गरी ०६२ असार १५ देखि राष्ट्रिय धान दिवस मनाउन थालिएको हो । कृषिप्रधान देश भएकाले नेपालका अधिकांश मानिसको पेसा खेतीपाती हो ।
किसान वर्षभरिका निम्ति छाक जुटाउन यो महिना खेतीमा व्यस्त हुन्छन्। आजका दिन असारे भाकामा लोकदोहोरी गाउँदै छुपुछुपु हिलोमा धान रोपिन्छ। ‘छुपु र छुपु हिलोमा धान रोपेर छोडौँला, बनाई कुलो लगाई पानी आएर गोडौँला’जस्ता लोकलयका गीत गाएर खेतमै रमाइलो पनि गरिन्छ।
मध्य गर्मीको यो समयमा युवा लाठे र युवती रोपाहारले खेतका गराको हिलो छ्यापाछ्याप गरेर मनोरञ्जन गर्छन्। असारमा एकपटक हिलोमा पस्नैपर्ने मान्यता पनि नेपालीमा समाजमा छ।
















