काठमाडौं। नेपाल राष्ट्र बैंकको मुख्य जिम्मेवारीमध्ये नोट निष्काशन एक हो। तर, केन्द्रीय बैंकले विगत ७ वर्षयता ५ सय र १ हजार दरका नोट छाप्न नसक्दा प्रणालीमा एटिएम मेशिनमा राख्न योग्य पैसा अभाव हुँदै गएको हो।
नेपालमा कानुनी रूपमा चलनचल्तीमा आउने नोट तथा सिक्का जारी गर्ने अधिकार राष्ट्र बैंकलाई मात्र छ। हाल (असार १५ गतेसम्म) चलनचल्तीमा ७ खर्ब ३३ अर्ब ९४ करोड २३ लाख रुपैयाँ रहेको छ।उक्त परिमाणमा बैंक तथा वित्तीय संस्था र सर्वसाधारणका हातमा १, २, ५, १०, २०, ५०, १००, ५०० र १००० दरका नोटहरु रहेका हुन्। यी नोटहरुको छपाइको काम राष्ट्र बैंकले क्यालेन्डरै बनाएर गर्छ।
यी नोटको औषत आयु एकदेखि पाँच वर्षसम्म हुन्छ। यद्यपि नोटको आयु नोट छपाइमा प्रयोग हुने कागजको गुणस्तर र प्रयोगकर्ताको व्यवहारमा निर्भर रहन्छ।
राष्ट्र बैंकले हरेक दुई वर्षमा साढे तीन वर्षका लागि पुग्ने गरी सबै दरका नोट छाप्ने गरेको छ भने बजारमा मागअनुसार तोकिएको समयअघि वा पछि पनि छपाइ गर्छ।
तर, २०७६ साल असारमा १ हजार दरका ४० करोड थान र २०७६ चैतमा ५ सय दरका १९ करोड थान नोट छपाएको थियो। त्यसयता भने राष्ट्र बैंकले उक्त दरका नोट छपाएको छैन। एटिएममा ठूलादरका (५ सय र एक हजार) नोटहरु मात्रै राखिन्छ। साना दरका नोट बैंक तथा वित्तीय संस्थाको काउन्टरमार्फत् राष्ट्र बैंकले नै चाडपर्वको समयमा सर्वसाधारणलाई सटही सुविधा दिएर वितरण गर्छ।

बैंकहरुले चेक सटहीका लागि आउने ग्राहकलाई दिने नोटमा समस्या नभए पनि पछिल्लो केही महिनायता एटिएममा राख्न योग्य पैसाको अभाव हुँदै गएको नेपाल बैंकर्स संघका अध्यक्ष सन्तोष कोइराला बताउँछन्।
‘पछिल्लो समय फिजिकल क्यास सटेज हुँदै गएको छ भने, बैंकहरुलाई अहिले एटिएममा राख्न योग्य नोट साट्न पनि गाह्रो हुन थालेको छ,’ संघका अध्यक्ष कोइरालाले क्यापिटल नेपालसँग भने, ‘ग्राहकले फिर्ता ल्याएका नोटबाट एटिएम फिट नोट निकाल्न समस्या छ, राष्ट्र बैंकको प्रदेशिक कार्यालय नजिक नभएका शाखाहरुलाई तत्काल एटिएम फिट पैसा व्यवस्थापनमा समस्या बढ्दै गएको छ, अहिले एटिएममा पुरानो नोटका कारणले गर्दा पनि एटिएमले पैसा च्यातिने, अड्किएर मेसिन नै डाउन हुने हुन्छ।’
राष्ट्र बैंकले ५ सय र १ हजार दरका नोट नछापेको धेरै समय भएको हुँदा यी दरका नोट अभाव हुँदै गएको उनले जानकारी दिए।
बजारबाट फर्किएका नोटहरुलाई बैंकहरुले ३ भागमा सटिङ गर्छ। पहिलो चलनल्तीमा ल्याउन मिल्ने नोट ‘क्लिन नोट’ जसलाई बैंकहरुले काउन्टरमा प्रयोग गर्छन्।
क्लिन नोटमध्ये पनि राम्रो गुणस्तरको नोटलाई सटिङ गरेर बैंकहरुले ‘एटिएम फिट नोट’ निकाल्छन्। एटिएममा राम्रो प्रकारको नोट भएन भने एटिएम मेसिनमै अड्किने हुन्छ, मेसिनले रिड नै नगर्ने हुन्छ। त्यसका लागि बैंकले बजारबाट आएको चलनचल्तीमा पठाउन मिल्ने सुकिला नोटबाट पनि ‘एटिएम फिट नोट’ छुट्याउँछन्।
यस्ता एटिएम फिट नोट काठमाडौं उपत्यका बाहिरका जिल्लाहरु पहिलेको भन्दा अभाव हुँदै गएको छ। पछिल्लो समय डिजिटल ट्रान्जेक्सन वृद्धि भए पनि एटिएम कारोबार पनि वृद्धि भएसँगै एटिएम बुथमा राख्न योग्य ५ सय र हजारदरका नोट अभाव भएको संघका अध्यक्ष कोइराला बताउँछन्।
‘पहिले एटिएम प्रयोग नगर्ने ग्राहकहरुले प्रयोग गर्न थालेको हुँदा कारोबार पनि बढेको हो। तर, बुथहरुमा राख्न पर्याप्त पैसा नहुने समस्या भइरहेको छ,’ उनले भने, ‘उपत्यका बाहिरी जिल्लामा क्यूआर पेमेन्टभन्दा धेरै नगदकै कारोबार बढी भएको पाइन्छ, हिजो चेक साट्न आउने मान्छे आजभोली एटिएमबाट पैसा भिक्ने भएका छन्, यसले पनि एटिएम कारोबार बढाएको छ।’
यता, नेपालका बैंक तथा वित्तीय संस्थाहरुमध्ये सबैभन्दा बढी ग्राहक भएको ग्लोबल आइएमई बैंकलाई समेत राष्ट्र बैंकले समयमै नोट नछाप्दा समस्या हुन थालेको छ। ग्राहकमा आवश्यक पैसा अभाव हुन नदिए पनि ग्राहकको आवश्यकता पुर्ति गर्न भने बैंकलाई समस्या हुन थालेको बैंकका कार्यकारी अधिकृत (सिइओ) सुरेन्द्रराज रेग्मी बताउँछन्।
‘अभाव भएर ग्राहकलाई नै दिन नसकेको भने होइन तर, उनीहरुलाई नोट पुर्याउन भने व्यवस्थापनमा समस्या हुँदै गएको छ, राष्ट्र बैंकबाट नयाँ नोटभन्दा सुकिला नोट आउँछ, त्यहाँबाट दर ग्राहकबाट फिर्ता भएका नोटबाट एटिएममा राख्न मिल्ने नोटको स्ट्याण्डर्ड मेन्टेन गर्न चुनौतीपूर्ण हुँदै गएको छ,’ बैंकर्स संघका उपाध्यक्ष समेत रहेका बैंकका सिइओ रेग्मीले क्यापिटल नेपालसँग भने, ‘पहिला हामी फ्रेस नोट नै एटिएममा राख्ने हुन्थ्यो। त्यस्ता नोट मेसिनबाट काउन्ट गर्न पनि सहज हुन्थ्यो। अहिले राष्ट्र बैंकले सुकिलो नोट दिन्छ, त्यसबाट पनि एटिएम फिट नोट सटिङ गर्न कर्मचारी र समय नै बढी लाग्छ, एटिएमबाट पैसा निकाल्दा पनि मेसिनले समय लगाउँछ।’
सातवर्षे पुराना नोट सर्वसाधारणको हातमा
हालसम्म राष्ट्र बैंकले अन्तर्राष्ट्रिय प्रतिस्पर्धामार्फत कम्पनी छनोट गरी नोट छपाइको काम गरिहेको छ। राष्ट्र बैंक मुद्रा व्यवस्थापन विभागले सामान्यतया एकपटक नोट छपाउँदा साढे तीन वर्षसम्म पुग्ने अनुमान गरेर छाप्छ।
तर, विभागले २०७६ यता ५ सय र हजार दरका नोट छपाइ गर्न सकेको छैन। ५ सय दरको नोट भने राष्ट्र बैंकले गत चैतमा २३ करोड थान छपाउनका लागि आवश्यक प्रक्रिया अघि बढाएको छ। उक्त दरका नोट छपाउन छपाइ कम्पनी छनौट गरेर पठाइसकेको र एक हजारदरको नोटको समेत छपाइको आवश्यक प्रक्रिया सुरु भइसकेको राष्ट्र बैंकका प्रवक्ता किरण पण्डितले बताए।

‘५ सय दरका नोट छपाइमा पठाइसकेका छौं भने एक हजार दरका नोट छपाइको पनि आन्तरिक प्रक्रिया सुरु भइसकेको छ, सम्भवत आगामी दसै तिहारमा यी दरका नोट छपाइ भएर आउन सक्छ।’
राष्ट्र बैंकले एक हजारदरको नोट भने पछिल्लो पटक छनोटमा परेको भारतीय नोट कम्पनीसँग सम्झौता रद्द गरी प्रक्रिया अघि बढाउन नसकेको हो। विभागले २०७६ असार १२ मा हजार दरका नोट छपाइका लागि बोलपत्र आह्वान गरी असोजमा चिनियाँ कम्पनीलाई जिम्मा दिएको थियो। विभागले हजार दरका ४० करोड थान नोट चिनियाँ कम्पनी चाइना बैंक नोट प्रिन्टिङ एन्ड मिन्टिङ कर्पोरेसनसँग ९१ लाख ९० हजार अमेरिकी डलर उक्त समयको विदेशी मुद्रा सटही दरअनुसार नेपाली १ अर्ब ५ करोड रुपैयाँ खर्च गरेर छपाएको थियो।
२०७६ चैतमा १९ थान ५ सयदरको नोट छपाएको थियो। उक्त समय छपाइ गरिएका यी नोटहरु राष्ट्र बैंकले यसबीचको चाडपर्वमा सर्वसाधारणलाई सटही गरेको थियो भने अहिले पनि बैंक काउन्टर र एटिएमबाट पाइने हजार दरका नोट यही समय छपाइ भएका हुन्। जुन झुत्रा मैला भएर सर्वसाधारणको गोजीमा बसेका छन्।राष्ट्र बैंकले नोट छपाइको जिम्मेवारी पूरा नगर्दा सर्वसाधारण सात वर्ष पुराना झुत्रा नोट बोकेर हिँड्न बाध्य छन्।
बोलपत्र आह्वानमार्फत कम्पनी छनोट गरी नोट छपाइ भएर बजारमा सर्वसाधारणको हालमा पुग्दा न्यूनतम एक वर्ष समय लाग्छ। राष्ट्र बैंकले नोट छपाइ बजारमा कति नगद आवश्यक छ भन्ने अनुमानका आधारमा निर्णय गर्छ भने जनसंख्या वृद्धि, आर्थिक गतिविधि, चाडपर्वजस्ता कारणले नगदको माग बढे नयाँ नोट छाप्ने गर्छ।
पुरानो नोटको अवस्था, अत्यधिक मुद्रास्फीति भए पनि साना दरको नोट हटाएर ठूला दरको नोट छपाउँछ भने बैंकहरुको माग तथा राष्ट्र बैंक स्वयंको योजनाअनुसार अन्तर्राष्ट्रिय मुद्रण संस्थासँग समन्वय गरेर नयाँ नोट छपाइ गर्छ। नोट छपाइ प्रक्रिया सुरु गरी सर्वसाधारणको हालसम्म आइपुग्न कम्तीमा एक वर्ष लाग्ने हुँदा यस वर्षको चाडपर्वमा सर्वसाधारणको हातमा पुरानै नोट पर्ने संकेत देखिन्छ।