काठमाडौं। एनआईसी एसिया बैंकले ५० प्रतिशत हकप्रद सेयर निष्काशन गर्न नेपाल राष्ट्र बैंकबाट पूर्वस्वीकृति पाएको छ। बैंकलाई हाल कायम २ कित्ता सेयर बराबर नयाँ १ कित्ता (२ः१) को अनुपातमा हकप्रद सेयर बिक्री अनुमति दिइएको राष्ट बैंक प्रवक्ता गुरु पौडेलले बताए।
राष्ट्र बैंकबाट पूर्व–स्वीकृति पाएसँगै बैंकले आगामी २८औं वार्षिक साधारणसभामा यो प्रस्ताव पेस गर्नेछ। बैंकले आगामी जेठ १८ गतेका लागि साधारणसभा आह्वान गरिसकेको छ।
साधारणसभाबाट हकप्रद निष्कासनको विशेष प्रस्ताव पारित भएपछि बैंकले अन्तिम स्वीकृतिका लागि नेपाल धितोपत्र बोर्डमा आवेदन दिनेछ। धितोपत्र बोर्डबाट स्वीकृति पाएपछि मात्रै बैंकले सर्वसाधारण तथा सेयरधनीका लागि हकप्रद सेयर निष्कासन प्रक्रिया अघि बढाउने र बुक क्लोजको मिति तय गर्नेछ।
बैंकको गत पुस २० गते बसेको सञ्चालक समितिको ७४६औं बैठकले चुक्ता पुँजीको ५० प्रतिशत हकप्रद निष्काशन गर्ने निर्णय गर्दै स्वीकृतिका लागि राष्ट्र बैंकमा आवेदन दिएको थियो।
हाल बैंकको चुक्ता पूँजी १४ अर्ब ९१ करोड ७५ लाख ६६ हजार ९२२ रुपैयाँ छ। ५० प्रतिशत हकप्रद निष्कासनपछि बैंकले थप ७ अर्ब ४५ करोड ८७ लाख ८३ हजार ५०० रुपैयाँ पुँजी जुटाउनेछ।
बैंकले कुल ७ करोड ४५ लाख ८७ हजार ८३५ कित्ता सेयर निष्कासन गर्नेछ। हकप्रद सेयर जारीपछि बैंकको कुल चुक्ता पुँजी करिब २२ अर्ब ३७ करोड रुपैयाँ पुग्नेछ।
राष्ट्र बैंकको एकीकृत निर्देशनबमोजिम पुँजीगत आधार बलियो बनाउन र व्यवसाय विस्तारका लागि बैंकले हकप्रदको बाटो रोजेको बताइएको छ। नियामकीय प्रावधानअनुसार बैंकहरुले प्राथमिक पुँजी कोष न्यूनतम ८.५ प्रतिशत कायम गर्नुपर्छ।
तर, चैत मसान्तसम्म बैंकको प्राथमिक पुँजीकोष ६.४८ छ। हकप्रद निष्कासनले बैंकको प्राथमिक पुँजी अनुपातमा सुधार ल्याउन मद्दत पुग्ने विश्वास गरिएको छ।