काठमाडौं। सरकारी स्वामित्वमा रहेको नेपाल वायुसेवा निगमले दुई वटा न्यारोबडी जहाज भाडामा लिने तयारी थालेको छ। नयाँ जहाज खरिद गर्न चर्चा चले पनि भएका जहाजको किस्ता र ब्याज तिर्न नसकेपछि न्यारोबडी जहाज भाडामा लिने तयारी थालेको हो।
निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीले ६८औँ वार्षिक उत्सवको अवसरमा बजारलाई प्रतिस्पर्धी बनाउन र नयाँ गन्तव्य विस्तारका लागि तत्काल दुई वटा न्यारोबडी जहाज भाडामा लिने तयारी थालिएको जानकारी दिए।
‘संस्कृती, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयबाट अर्थ मन्त्रालयमा प्रस्ताव गएर स्वीकृती दिए तत्कालै दुई वटा न्यारोबडी जहाज भाडामा ल्याउन तयार छौँ,’ अध्यक्ष अधिकारीले पर्यटनमन्त्री बद्री पाण्डेसामू भने, ‘यसो हुँदा अन्तर्राष्ट्रिय १० वटा गन्तव्यको सेवा नियमित गर्न सकिन्छ।’
लामो समयदेखि चर्चामा रहँदै आएको अष्ट्रेलियाको सिड्नी र चीनको गोन्जाओमा जहाज पर्याप्त नभएका कारण उडान भर्न नसकेको बताउँदै पर्यटन मन्त्रालयले आवश्यक समन्वय गरिदिन अनुरोधसमेत गरे। हाल निगमले चार वटा जहाजमार्फत अन्तर्राष्ट्यि उडान गर्दै आएको छ।
ऋण दायित्व बढ्दै जादा नयाँ जहाज खरिद गर्न आवश्यक ऋण नपाइने र निगमसँग आफ्नै श्रोत नभएपछि भाडामा ल्याउने प्रस्तावअघि सारेको जनाएको छ।
दुई वटा वाइडबडी र दुई वटा न्यारोबडी जहाजमार्फत उडान गर्दै आएको निगमले जहाज पर्याप्त मात्रामा ल्याउन नसकेका कारण अन्तर्राष्ट्रिय उडानको संख्या बढाउन नसकेको जनाएको छ।
निगमले अन्तर्राष्ट्रियतर्फ भारतको नयाँ दिल्ली, बेङ्लोर र मुम्बई तथा हङकङ, मलेसिया, थाइल्यान्ड, जापानको नारिता, कतारको दोहा, युनाइटेड अरब इमिरेटसको दुबई र साउदीको रियादमा उडान भर्दै आएको छ। स्थापनाको ६७ वर्षको इतिहास बोकेको निगमले आफ्नो बजार हिस्सामा भने उल्लेख्य सुधार गर्न सकेको छैन। निगमको ऋण दायित्व करिब ५० अर्ब पुगेको जनाइएको छ।
वाइडबडी विमान खरिद गर्न कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोषबाट निगमले ऋण लिएको थियो। भएका विमान राम्ररी सञ्चालन नहुनु, बजेट एयरलाइन्ससँगको प्रतिस्पर्धालगायत कारणले खस्केको छ।
ऋण दायित्व बढ्दै जादा नयाँ जहाज खरिद गर्न आवश्यक ऋण नपाइने र निगमसँग आफ्नै श्रोत नभएपछि भाडामा ल्याउने प्रस्तावअघि सारेको जनाएको छ। यसअघि निगमले एक खर्ब ऋण लिनका लागि अन्तर्राष्ट्रिय टेण्डरसमेत आह्वान गरेको थियो।
सस्तो ब्याज दरमा एक खर्ब ऋण लिने र भएका दायित्वहरु तिरेर नयाँ जहाज खरिद गर्ने योजना निगमले बनाएको थियो। तर, अन्तर्राष्ट्रिय रुपमा खुल्ला गरिएको टेण्डरमा कसैले पनि सहभागी हुन नआएपछि निगम भाडाको जहाज ल्याउने विषयमा छलफल अगाडि बढाएको निगमका उच्च अधिकारीको भनाइ छ।