काठमाडौं। खानेपानीमन्त्री प्रदीप यादव र भारत सरकारका विज्ञ टोलीबीच तराई-मधेसको खानेपानीसम्बन्धी समस्या दीर्घकालीन रूपमा समाधान गर्ने विषयमा छलफल भएको छ।
मधेस प्रदेशमा देखिएको खानेपानी संकटको समाधानका लागि स्थलगत अनुगमन तथा निरीक्षण गरी काठमाडौं फर्किएका भारत सरकारका विज्ञ टोलीसँग आज मन्त्रालयमा गहन छलफल भएको हो।
उक्त टोलीले तराई-मधेस क्षेत्रमा खानेपानीको वर्तमान अवस्था, विद्यमान समस्य, तत्कालीन र दीर्घकालीन समाधानका लागि भइरहेका कार्यलगायत पक्ष समेटेर तयार पारिएको प्रतिवेदनबारे जानकारी गराएकाे मन्त्रालयका सहसचिव एवं प्रवक्ता मीना श्रेष्ठले जानकारी दिइन्।
विज्ञ टोलीसँग आज पनि मधेस प्रदेशको खानेपानी संकट र त्यसको स्थायी समाधानका विषयमा गहन र सार्थक छलफल भएका बताउँदै छलफलबाट प्राप्त निष्कर्ष र विज्ञ टोलीको सुझावका आधारमा सरकारले आवश्यक कार्य अघि बढाउने मन्त्री यादवले जानकारी दिए।
उनले भने, “खानेपानीको संकट समाधानका लागि पुर्याइएको सहयोगका लागि भारत सरकारप्रति विशेष आभारसहित विज्ञ टोलीको महत्त्वपूर्ण प्रयासका लागि हार्दिक धन्यवाद व्यक्त गदछौँ।”
प्रधानमन्त्री केपी शर्मा ओलीको आसन्न भारत भ्रमणको क्रममा तराई-मधेसमा दीर्घकालीन खानेपानी समाधानका लागि ठोस योजना र सहमति होस् भन्ने दृढ अपेक्षा रहेको उनले विश्वास व्यक्त गरे।
मन्त्री यादवले केही महिनाअघि भारत सरकारको जलशक्ति मन्त्रालयसँग समझदारीपत्र (एमओयु) मा हस्ताक्षर भएको स्मरण गर्दै उक्त सहकार्यले नेपाल-भारत सम्बन्धलाई अझ सुदृढ बनाउने विश्वास व्यक्त गरे। उनले मधेस प्रदेशका जनताको जीवनमा सकारात्मक परिवर्तन ल्याउने उद्देश्यले नेपाल–भारत सहकार्यलाई अझ प्रभावकारी र परिणाममुखी बनाउन सरकार प्रतिबद्ध रहेको जानकारी गराए।
छलफलका क्रममा भारतीय विज्ञ टोलीका प्रतिनिधि एवं देहरादूनका क्षेत्रीय निर्देशक प्रशान्त राईले तराई–मधेसका संकटग्रस्त जिल्लाहरूमा पुगेर आफूहरूले स्थलगत रूपमा अनुगमन गरी समस्या समाधानका लागि आवश्यक कार्ययोजनासहित प्रतिवेदन तयार गरिरहेको जानकारी दिए।
उनले भने, “हाम्रो टोली तराई–मधेसका संकटग्रस्त क्षेत्रमा पुगेर फर्किएको छ। खानेपानीसम्बन्धी समस्या र समाधानका विषयमा हामी प्रतिवेदन तयार गर्दैछौँ।”