काठमाडौं। जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले हाल देशभर मनसुनी वायुको प्रभाव रहेको तथा मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेकाले विभिन्न स्थानमा पानी परिरहेको जनाएको छ।
आज दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहनेछ। महाशाखाका अनुसार बागमती, गण्डकी र लुम्बिनीलगायत अन्य प्रदेशका पहाडी भागका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।
गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको एकदुई स्थानमा भारी वर्षाको सम्भावना छ।उच्चपहाडी तथा हिमाली भागका केही स्थानमा हल्कादेखि मध्यम वर्षा र हिमपातको सम्भावना छ।
त्यसैगरी आज राती देशभर आंशिकदेखि साधारणतया बदली रहनेछ। कोसी, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भागका केही स्थान तथा अन्य प्रदेशका केही भागका मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।
कोसी, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एकदुई स्थानमा भारी वर्षाको सम्भावना छ। देशका उच्चपहाडी तथा हिमाली भागका केही स्थानमा हल्कादेखि मध्यम वर्षा र हिमपातको सम्भावना छ।
सम्भावित वर्षाका कारण बाढीपहिरो तथा गेग्य्रान बहावको जोखिम रहेको बताउँदै महाशाखाले सहरी तथा तराई क्षेत्रमा डुबानको जोखिम रहेकाले सावधान रहन ती क्षेत्रका सर्वसाधरणलाई अनुरोध गरेको छ।
ठूला तथा साना नदीनाला र खोलामा पानीको सतह बढ्न सक्ने, दैनिक जनजीवन, कृषि, स्वास्थ्य, पर्यटन, नदी क्षेत्र आसपासका सडक तथा हवाई यातायात प्रभावित हुन सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन तथा पूर्वतयारी गर्न सर्वसाधारणमा अनुरोध गरिएको छ।
गौरीघाट, गुह्येश्वरी क्षेत्रमा जलसतह सतर्कता तहभन्दा माथि पुग्यो
बागमती नदीको गौरीघाट, गुह्येश्वरी क्षेत्रमा जलसतह सतर्कता तह पार गरेको जल तथा मौसम विज्ञान विभागको बाढी महाशाखाले जनाएको छ।
मंगलबार राती १२ बजे आसपासदेखि निरन्तर परेको पानी २ बजे सतर्कता तह पार गरेकाले गौरीघाट, गुह्येश्वरी, चावहिल, नयाँबस्ती, जोरपाटी क्षेत्रमा बस्नेको मोबाइलमा सुरक्षित रहन सन्देश प्रवाह गरिएको महाशाखाका इन्जिनियर आशीष भट्टले जानकारी दिए।
यसैगरी रुद्रमती (धोबीखोला) को कपन क्षेत्रमा पनि जलसतह सतर्कता तह पार गर्न लागेको छ।
राजधानीका अधिकांश भागमा राती १२ बजेदेखि नै करिब २५ मिलिमिटरको दरमा निरन्तर पानी परिरहेकाले पनि सुरक्षित हुन विभागले आह्वान गरेको छ।