काठमाडौं। नेपाल बिमा प्राधिकरणले अभिकर्तालाई प्रोत्साहन भत्ता (इन्सेन्टिभ) लिने र बिमा कम्पनीलाई टार्गेट पूरा गर्न सहुलियत दिएको छ।
प्राधिकरणले एक वर्षअघि गरेको जीवन बिमा कम्पनीको अभिकर्ताकोे लक्ष्य तोक्दा, इन्सेन्टिभ उपलब्ध गराउँदा स्किम जारी पूरा गर्ने विषयकाे समयसीमा हटाएर अभिकर्ता कम्पनीलाई सहुलियत दिएको हो।
जीवन बीमकले बिमालेख जारी गर्दा पालना गर्नुपर्ने पूर्वव्यवस्थाअन्तर्गतका दुई बुँदा हटाएको निर्णय गरेको छ। उक्त निर्णय २०८२ असार २४ को बैठकबाट गरिएको हो।
प्राधिकरणका तत्कालीन अध्यक्ष सूर्यबहादुर सिलवालले २०८१ साउन ३१ मा परिपत्र जारी गर्दै जीवन बिमा अभिकर्ताका लागि बिमा लक्ष्य तोक्दा, इन्सेन्टिभ दिँदा तथा स्किम जारी गर्दा प्रत्येक महिनाको २८ गतेभित्र पूरा गरिसक्नुपर्ने र त्यसपछि बिमालाई सोही महिनाको लक्ष्य, इन्सेन्टिभ वा स्किममा समावेश नगरी अर्काे महिनामा समावेश गर्नुपर्ने व्यवस्था गरेका थिए।
तर, प्राधिकरणका वर्तमान अध्यक्ष शरद ओझाले २०८२ असार २४ मा उक्त व्यवस्था खारेज भएको घोषणा गर्दै अर्को परिपत्र जारी गरेका छन्। प्राधिकरणको पत्र नम्बर ४१ (२०८१/२०८२) च.नं ६५१, ०८१/४/३१)मा बिमालेख जारीसम्बन्धी प्रक्रिया निर्देश गरिएको थियो। तर, सो पत्रको बुँदा नम्बर २ र ३ मा उल्लिखित व्यवस्था अब हटाइएको उल्लेख छ।
उक्त बुँदा नम्बर २ मा जीवन बिमा अभिकर्ताका लागि बिमा गर्ने लक्ष्य तोक्दा, इन्सेन्टिभ दिँदा तथा स्किम जारी गर्दा प्रत्येक महिनाको २८ गतेभित्र पूरा गरिसक्नुपर्ने गरी तोक्ने व्यवस्था थियो भने बुँदा नम्बर ३ मा २८ गतेपछि गरिने बिमालाई सोही महिनाको लक्ष्य, इन्सेन्टिभ वा स्किममा समावेश नगरी अर्काे महिनामा समावेश गर्नुपर्ने व्यवस्था थियो।
अब जीवन बिमा अभिकर्ताले इन्सेन्टिभ र स्किम पछिसम्म पनि पाउने प्राधिकरणका सूचना अधिकारी पूर्णबहादुर थापाले बताए।
‘अबदेखि जीवन बिमा अभिकर्ताले इन्सेन्टिभ र स्किम पछिसम्म पनि पाउनेछन् भने एजेन्टले पनि पाउने भए,’ सूचना अधिकारी थापाले भने, ‘अब सबै विषय खुला भएको छ। यो निर्णयले अभिकर्ता र कम्पनीलाई सहयोग हुनेछ। कुनै महिना २८ गतेपछि पनि ३०/३२ को हुन्छ। पुरानो व्यवस्थाले उनीहरूलाई यी दिनका बिमा गराउन लक्ष्य प्राप्त गरी इन्सेन्टिभ दिन रोकेको थियो।’
कम्पनी र अभिकर्ताले नै उक्त व्यवस्था हटाउन माग गर्दै आएकाले सम्बोधन भएको उनले जानकारी दिए। सूचना अधिकारी थापाका अनुसार बुँदा नम्बर १ मा भएको प्रत्येक त्रैमासिक अवधिको अन्तिम दिन कुनै पनि बिमा प्रस्ताव स्वीकृत नगर्ने व्यवस्था मात्र लागू गरी बुँदा नम्बर २ र ३ हटाइएको छ।
प्राधिकरणले बिमा प्रक्रिया अझ सरल, सहज र ग्राहकमैत्री बनाउने उद्देश्यले यो निर्णय लिएको हो। अब जीवन बिमा कम्पनीलाई बिमालेख जारी गर्दा विशेष बुँदा लागू नहुने भएकाले व्यावहारिक रूपमा प्रक्रियामा सहजता आउने अपेक्षा गरिएको छ।
प्राधिकरणले नयाँ व्यवस्थाबारे स्पष्ट जानकारी दिन सम्बन्धित निकायलाई निर्देशन दिइसकेको छ। बिमा क्षेत्रको विकास तथा बीमित हित सुनिश्चितका लागि गरिएको यो निर्णयले बिमालेख जारी प्रक्रियालाई थप प्रभावकारी बनाउने विश्वास प्राधिकरणको छ।
यस्ताे छ, सिलवाल र ओझाकाे परिपत्र

