काठमाडौं। एक साताभित्र बिमा कम्पनीलाई भोटेकोशी नदीको बाढीबाट भएको क्षतिको विवरण बुझाउन नेपाल बिमा प्राधिकरणले निर्देशन दिएको छ। मंगलबार बिहान भोटेकोशी नदीमा आएको बाढीबाट भएको क्षतिको विवरण एक साताभित्र (आगामी बुधबार) प्राधिकरणमा बुझाउन बिमा कम्पनीलाई निर्देशन दिएको हो।
भोटेकोशी नदीमा आएको भिषण बाढीले रसुवामा जनधन र पूर्वाधारमा ठूलो क्षति पुर्याएको छ। बाढीबाट सडक अवरुद्ध, सवारी साधन बगाउने, कन्टेनर डिपो क्षतिग्रस्त हुने र केही हाइड्रोपावर आयोजना पूर्ण रूपमा बन्द भएका छन्। यी सबै सम्पत्तिको क्षति विवरण छिट्टै बुझाउन बिमा कम्पनीहरूलाई प्राधिकरणले निर्देशन दिएको छ।
नेपाल प्रहरीका अनुसार भोटेकोशी बाढीले २३ वटा कन्टेनर डब्बा, ६ वटा मालवाहक ट्रक र ३५ युनिट नयाँ विद्युतीय सवारी साधन (इभी) बगाएको तथ्यांक छ। यसबाहेक तीन वटा जलविद्युत आयोजना बन्द भएका छन्।
बिमा प्राधिकरणका अनुसार प्राकृतिक प्रकोपबाट भएको क्षति बिमा पोलिसीको प्रकार र कभरेज सर्तअनुसार आंशिक वा पूर्ण रूपमा कभरेजमा पर्ने छ। त्यसैले प्राधिकरणले सम्बन्धित बिमा कम्पनीहरूलाई दाबी प्रक्रियालाई छिटोछरितो बनाई पारदर्शिता कायम गर्न पनि निर्देशन दिएको छ।
नेपाल बिमा प्राधिकरणले बाढीबाट क्षति भएको सम्पतिको क्षति विवरण इन्स्योरेन्स कम्पनीमार्फत संकलन गरिरहेको जनाएको छ। अहिलेसम्म बाढीले कति रुपैयाँ बराबरको क्षति पुगेको छ भन्ने केही विवरण नआएको नेपाल बिमा प्राधिकरणका कार्यकारी निर्देशक सुशिलदेव सुवेदी बताउँछन्।
बिमा कम्पनीले नेपाल आयातका लागि कन्टेनर र ट्रकमा भएका सामान तथा सवारी साधनको क्षति ट्रान्जिट बिमाले कभर गर्ने छ।
‘अहिलेसम्म बाढी कति रुपैयाँ बराबरको क्षति पुगेको छ? भन्ने केही विवरण आएको छैन। त्यस कारण अहिलेसम्म हामीले अनुमान गरेको छैन,’ कार्यकारी निर्देशक सुवेदीले क्यापिटल नेपालसँग भने, ‘कम्पनीबाट डाटा आएपछि मात्र अनुमानित नेट डाटा सार्वजनिक गर्ने छौँ।’
प्राधिकरणले सबै कम्पनीहरूलाई बुधबारसम्म क्षतिको विवरण बुझाउन निर्देशन दिएको उनको भनाइ छ। ‘प्राधिकरणले बिमितहरूलाई सम्पर्क गरेर इन्स्योरेन्सलाई पठाउन भनिरहेको छ। बाढीबाट बिमित ग्राहकले समयमै क्षतिपूर्ति पाउनुपर्छ भन्ने हाम्रो प्राथमिकता हो। त्यसैले सबै बिमा कम्पनीहरूलाई एक साताभित्र क्षति विवरण बुझाउन भनेका छौँ।’ कार्यकारी निर्देशक सुवेदीले भने।
बिमा कम्पनीले नेपाल आयातका लागि कन्टेनर र ट्रकमा भएका सामान तथा सवारी साधनको क्षति ट्रान्जिट बिमाले कभर गर्ने छ। सामान आयातका लागि खोलिने बैंक ग्यारेन्टि (एलसी)मा नै ट्रान्जिट बिमाको प्रिमियम तिर्नुेपर्ने हुन्छ। त्यस कारण बाढीले पुर्याएको क्षतिको बिमा कभर हुनेछ।
बिमा प्राधिकरणले भोटेकोशी बाढीबाट भएका क्षतिहरूको बिमा दाबीहरूको विस्तृत विवरण, मूल्यांकन र भुक्तानीको प्रगति प्रतिवेदन प्राधिकरणमा पेश गर्न आग्रह गरेको छ।
प्राधिकरणका अनुसार बाढीले कृषि क्षेत्र, घरायसी सम्पत्ति, व्यवसाय तथा अन्य संरचनामा ठूलो क्षति पु¥याएको र त्यसमा बिमा गरिएका सम्पत्तिहरूको क्षति मूल्यांकन अत्यावश्यक भएकाले सबै सम्बन्धित बिमा कम्पनीलाई छिटोभन्दा छिटो क्षति विवरण उपलब्ध गराउन भनिएको हो।