काठमाडौं। नेपाल धितोपत्र बोर्ड (सेबोन)ले तोकेको चुक्ता पुँजी २८ वटा धितोपत्र दलाल व्यवसायीहरू (ब्रोकर कम्पनी)ले पूरा गरेका छन्। विं.सं. २०७९ भदौमा बोर्डले २०७४ मा धितोपत्र दलाल, धितोपत्र व्यापारी तथा बजार निर्माता नियमावली, २०६४ संशोधन गरेर ब्रोकर कम्पनीको २० लाख रुपैयाँ चुक्ता पुँजीलाई दुई करोड कायम गरेको थियो।
जसलाई कायम गर्नुपर्ने समय बोर्डले २०८२ असार मसान्तलाई निर्धारण गरेको थियो। बोर्डले नयाँ ब्रोकर कम्पनीलाई लाइसेन्स खुलाउँदै पुराना ५० वटालाई समेत दुई वर्ष समय दिएर तोकिएको पुँजी कायम गर्न भनेको थियो।
उक्त समयमा १२ वटा पुराना ब्रोकर कम्पनीहरूको पुँजी दुई करोड रुपैयाँ कायम थियो। बाँकी ३८ वटामध्ये असार २२ गतेसम्म १६ वटाले पुर्याएको बोर्ड स्रोतले बताएको छ। बाँकी २२ वटाले पुर्याउन नसक्ने अवस्थाको प्रारम्भिक जानकारी बोर्डमा दिएका छन्।
‘रिपोर्टिङ गर्ने क्रम जारी छ। असार मसान्तसम्मको समय हो। तर, बाँकी २२ वटाले पुर्याउन समय थप गर्नुपर्ने जस्तो अनौपचारिक रुपमा भनिरहेका छन्,’ बोर्ड स्रोतले क्यापिटल नेपालसँग भन्यो, ‘गत साता समय थप हुने गरी नियामावली संशोधनको मस्यौदा तयार गरेर अर्थ पठाइसकेका छौँ। नपुग्नेलाई २०८२ चैत मसान्तसम्म समय दिनुपर्ने प्रस्ताव गरिएको छ।’
बोर्डले धितोपत्र नियमावली, २०६४ (दशौँ) संशोधनसहित म्याद थपको प्रस्ताव स्वीकृतिका लागि अर्थ मन्त्रालय पठाएको हो। गत साताको बोर्ड सञ्चालक समिति बैठकले निर्णय गरी ब्रोकर कम्पनीलाई तोकिएको न्यूनतम चुक्ता पुँजी पुर्याउने समय नौ महिना थप गर्ने गरी नियमावली संशोधन मस्यौदा मन्त्रालयमा पठाएको स्रोतले जानकारी दिएको छ।
चालु आर्थिक वर्षको नाफालाई पुँजीकरण गर्न ६ महिना पर्याप्त नहुने भएकाले २०८२ चैतसम्म तोकिएको पुँजी पुर्याउने समय थप्ने बोर्डले अर्थसमक्ष आग्रह गरेको हो।
बोर्डले ४२ वटा स्टक ब्रोकरलाई लाइसेन्स दिए पनि सञ्चालनमा रहेका सेयर ब्रोकरका लागि पुँजी पुर्याउने अवधि २०८२ असारसम्म छ। बोर्डले गत २०८१ पुसमा पुँजी नपुगेका ब्रोकर कम्पनीलाई पुँजी पुर्याउने योजना मागेको थियो। चालु आर्थिक वर्षको मुनाफाबाट लाभांश वितरण गरेर पुँजी पुर्याउन नसक्ने कम्पनीले पुँजी थप्नुपर्ने वा मर्जरमा जाने विकल्प छ।
उक्त समय पुँजी नपुगे पनि हाल पुर्याउनेमा २८ नम्बर श्री कृष्ण सेक्युरिटिज, ५७ नम्बरको आर्य तारा, ५२ नम्बरको सुनधारा, ६ नम्बरको अग्रवाल, ४१ नम्बरको लिञ्चस्टक मार्केट, ३५ नम्बरको कोहिनुर सेक्युरिटिज, १९ नम्बरको नेपाल इन्भेष्टमेन्ट एण्ड सेक्युरिटिज ट्रेडिङ, ७ नम्बरको जेएफ सेक्युरिटिज, २२ नम्बरको सिप्रबी सेक्युरिटिज, ५५ नम्बरको भृकुटी सेक्युरिटिज र १ नम्बरको कुमारी सेक्युरिटिज रहेका छन्।
साथै, ४७ नम्बरको निभ सेक्युरिटिज, ८ नम्बरको अशुतोष सेक्युरिटिज, १६ नम्बरको प्राइमो सेक्युरिटिज, १३ नम्बरको त्रिभी ब्रोकेज र २९ नम्बरको त्रिशुली सेक्युरिटिजको पनि दुई करोड रुपैयाँ चुक्ता पुँजी कायम भइसकेको छ।
