झापा। मेचीनगर नगरपालिका–१५ का किसान गोविन्द घिमिरे अकासे पानी पर्याप्त नपरेका कारण बेलैमा धान रोप्न नपाएर दुःखी छन्।
विगतमा असारभित्र रोपाइँ सकिने गरेकामा यसपालि असार बितिसक्न लाग्दा उहाँको दुई बिघा खेतका सुक्खा गरामा कमिला कुदिरहेका छन्। ‘गरा भरिने गरी अकासबाट पानी पर्छ र धान रोपौंला भनेर पर्खेको धेरै भइसक्यो’, उनी भन्छन्, ‘ब्याडमा बिउ छिप्पिसक्यो। पानी परेको छैन। यो पाला धान रोप्न पाइन्छ जस्तो छैन।’
अर्जुनधारा नगरपालिका–८ का किसान श्याम अधिकारीको पीडा पनि उस्तै छ। विगत पाँच वर्षदेखि एक बिघा खेत वार्षिक ठेक्कामा लिएर धान खेती गर्दै आएका उनले असारमा खडेरी पर्दा किसानलाई ठूलो क्षति भएको बताए।
समयमा रोपाइँ गर्न नसक्दा जग्गाधनीलाई वार्षिक रूपमा ठेक्काबापत तिर्नुपर्ने रु ५० हजार कहाँबाट जुटाउने भन्ने चिन्ताले पिरोल्ने गरेको उनको गुनासो छ। झापाका अधिकांश खेतमा सिँचाइका लागि कुलो र बोरिङको व्यवस्था नभएको हुँदा धानखेती गर्ने किसान अकासे पानीमा निर्भर छन्।
धान उत्पादनका लागि उर्वरभूमि मानिएको झापामा सिँचाइ अभावले पर्याप्त रोपाइँ हुन नसकेको कृषि ज्ञान केन्द्रले जनाएको छ। केन्द्रका प्रमुख सागर विष्टले हालसम्म जिल्लामा २१ प्रतिशतमात्र रोपाइँ भएको बताए।
उनले भने, ‘वर्षा नभएका कारण किसानले पर्याप्त रोपाइँ गर्न पाएका छैनन्। जति रोपाइँ भएको छ, ती सबै कुलो र भूमिगत सिँचाइबाट सम्भव भएको हो।’
कोसी प्रदेशमा जेठ १५ मै मनसुन भित्रिएको थियो। मनसुन भित्रिएलगत्तै जेठ १७ गते पूर्वी नेपालमा ठूलो वर्षा र बाढी आयो। झापामा माईखोलाको बाढीले २२ घर डुबान भयो।
त्यसपछि खेतमा रोपाइँ हुनेगरी वर्षा भएको छैन। झापामा खेतीयोग्य जमिन ९८ हजार ७१६ हेक्टर रहेको छ। त्यसमध्ये ७५ हजार ५५९।१८ हेक्टरमा धानखेती हुने गरेको विष्टले बताए। छिटो पाक्ने अगुवा धान असारभित्रै रोपिसक्नुपर्ने हुन्छ।
जिल्लामा नियमित सिँचाइका लागि कनकाई, निन्दा, टाङटिङ, पालिया, खुदुनाबारी, सिद्धिनहर, भुतेनीखोलालगायत सिँचाइ आयोजना सञ्चालनमा छन्। कचनकबल, कनकाई, कमल, गौरादह, मेचीनगर, बिर्तामोड, बाह्रदशीलगायत पालिकाका केही जग्गामा भूमिगत सिँचाइ व्यवस्था छ। बाँकी अधिकांश जग्गामा धानखेतीका लागि अकासे पानीको निर्भरता हटेको छैन।–रासस