काठमाडौं। अर्थ मन्त्रालय र प्रधानमन्त्री कार्यालयबाट सहयोग नपाएपछि कृषि मन्त्रालयले उखु किसानलाई प्रतिक्विन्टल प्रोत्साहन मूल्यबापत दिँदै आएको ७० रुपैयाँ रकम घटाएर ३५ रुपैयाँ मात्र दिने निर्णय गरेको छ।
चालू आर्थिक वर्षका लागि छुट्याइएको कुल बजेटमध्ये करिब ८०/८२ करोड रुपैयाँ बाँकी रहेकाले र थप रकमान्तर गर्न अर्थ मन्त्रालयले सहमति नदिएपछि यस्तो निर्णय लिनुपरेको कृषि मन्त्रालयले जनाएको छ।
उखु किसानलाई करिब १ अर्ब ६५ करोड अनुदान दिन रकम आवश्यक पर्नेमा मन्त्रालयसँग ८०/८२ करोड रुपैयाँ मात्रै रहेको कृषि मन्त्रालयले स्रोतले जनाएको छ।
कृषि मन्त्रालयले रासायनिक मल खरिद शीर्षकमा खर्च नभएको रकमबाट रकमान्तर गरी उखु किसानलाई ७० रुपैयाँ नै प्रोत्साहन मूल्य दिनका लागि अर्थ मन्त्रालयमा प्रस्ताव पठाएको थियो। तर, अर्थ मन्त्रालयले उक्त प्रस्तावमा सहमति नदिएपछि प्रधानमन्त्री कार्यालयमा समेत फलोअप गरिएको थियो।
तर, त्यहाँबाट पनि सकारात्मक प्रतिक्रिया नआएको एक अधिकारीले बताए। ‘कृषि मन्त्रालयले उखुको मूल्य बढाउने र किसानलाई दिँदै आएको ७० रुपैयाँ प्रोत्साहन मूल्य कायम राख्ने प्रस्ताव मन्त्रिपरिषद्मा पठाए पनि यसबारे निर्णय गरेन,’ स्रोतले भन्यो।
सरकारले तीन वर्षयता उखुको समर्थन मूल्य खासै बढाएको छ। तीन वर्षमा उखुको मूल्य प्रतिक्विन्टल २० देखि २५ रुपैयाँ बढाइएको सरकारी तथ्यांक छ।
आर्थिक वर्ष २०७९/८० मा प्रतिक्विन्टल ६१० रुपैयाँ मूल्य रहेको उखु आर्थिक वर्ष २०८०/८१ मा ६३५ प्रतिक्विन्टलमा बिक्री भएको थियो। चालू आर्थिक वर्ष प्रतिक्विन्टल २० रुपैयाँ मूल्य बढाएर ६५५ मा क्रसिङ भएको छ।