काठमाडौं। कर्णाली प्रदेशको राजधानी सुर्खेत वीरेन्द्रनगरमा आयोजित किसान सूचीकरणसम्बन्धी समन्वय गोष्ठीमा देशभर ७ लाख ६० हजार २०० किसान सूचीकरण भएको तथ्यांक प्रस्तुत गरिएको छ।
कृषि तथा पशुपक्षी विकास मन्त्रालय कृषि सूचना तथा प्रशिक्षण केन्द्रद्वारा आयोजित ‘प्रदेशस्तरमा किसान सूचीकरणसम्बन्धी समन्वय गोष्ठी’मा उक्त तथ्यांक सार्वजनिक गरिएको हो।
कार्यक्रममा किसान सूचीकरण कार्यक्रमको वर्तमान अवस्था र आगामी कार्यदिशा, यसको प्रादेशिक र जिल्लागत तथ्यांक, यसको आवश्यकता, नीतिगत पक्ष, तीन तह र तीसँग सम्बन्धित निकायको भूमिकाका विषयमा दुईवटा कार्यपत्र प्रस्तुत गरिएको थियो।
कृषि तथा अर्थक्षेत्रका जानकार शशी अधिकारीले किसान सूचीकरणको आवश्यकता, प्रणालीका अवयव, यसको अवस्था, विशेषता र उपयोगिता, सूचीकरण प्रदेश तथा जिल्लागत तथ्याङ्क, कार्यक्रमका सवाल तथा आगामी कार्यदिशाबारे आफ्नो कार्यपत्र प्रस्तुत गरे।
उनले कृषि विकास कार्यक्रमलाई वैज्ञानिक, पारदर्शी, प्रभावकारी बनाउन, अनुदानलगायतका राज्यका सेवा सुविधालाई व्यवस्थित बनाउन, किसानको मनोबल बढाउन, उनीहरूलाई कृषि कर्ममा लाग्न उत्पे्ररित गर्न, राष्ट्रिय तथ्याङ्क प्रणालीलाई मजबुत बनाउन, समग्र विकासलाई डिजिटल प्रणालीमा लैजान कार्यक्रम सञ्चालन गरिएको जनाए।
त्यसैगरी पशु चिकित्सक डा सञ्जीव पण्डितले किसान सूचीकरणका अवधारणा र आवश्यकता, सूचीकरणका प्रक्रिया, यससम्बन्धी ऐन, नियम, निर्देशिका र सर्त, खाद्य अधिकार तथा सम्प्रभुतासम्बन्धी जारी ऐन तथा नियमावली, किसानको वर्गीकरण र त्यसका आधार, यसका नीतिगत पक्ष र विभिन्न निकायको भूमिकालगायत विषयमा कार्यपत्र प्रस्तुत गरे।
भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय कर्णाली प्रदेशका कामु सचिव परशुराम रावतले किसान सूचीकण कार्यक्रमबाट उनीहरुले परिचयपत्र पाउने र कृषि क्षेत्रको अनुदान गैरकिसानको पोल्टोमा नपर्ने बताए।
कृषि सूचना तथा प्रशिक्षण केन्द्रका प्रमुख डा मतिना जोशी वैद्यले सबै प्रदेशमा समन्वय गोष्ठी गरेर कर्णालीबाट समापन गरिएको जानकारी दिइन्।