काठमाडौं। हाल देशभर मनसुनी वायुको प्रभाव रहेको जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
मनसुनको न्यून चापीय रेखा पूर्वमा सरदर स्थानको आसपास र पश्चिममा सरदर स्थानभन्दा थोरै उत्तरतिर रहेको महाशाखाको बुलेटिनमा उल्लेख छ।
देशभर आंशिकदेखि साधारणतया बदली रहेको छ। बागमती, गण्डकी र सुदुरपश्चिम प्रदेशलगायत देशका पहाडी भू–भागका केही स्थानहरू तथा बाँकी भू–भागका थोरै स्थानहरूमा मेघगर्जन÷चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।
बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ। महाशाखाका अनुसार देशको उच्च–पहाडी तथा हिमाली भू–भागका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षा/हिमपातको सम्भावना छ।
आज राती देशभर आंशिकदेखि साधारणतया बदली रहनेछ । कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका केही स्थान तथा बाँकी प्रदेशका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।
कोसी, मधेस र बागमती प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ। देशको उच्च–पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्कादेखि मध्यम वर्षा÷हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ।
महाकाली नदीको तल्लोे तटीय क्षेत्रका बासिन्दालाई सतर्कता अपनाउन आग्रह
जल तथा मौसम विज्ञान विभागले महाकाली नदीको तल्लोे तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह गरेको छ।भारतस्थित धौलीगंगा जलविद्युत् परियोजनाको बाँधको ढोका शुक्रबार राती १२ बजेदेखि शनिबार अपराह्न १२ बजेसम्म खोलिने भएकोले महाकाली नदीमा जलसतह बढ्ने सम्भावना रहेकाले तटीय क्षेत्रका बासिन्दाले सतर्कता अपनाउन विभागले आग्रह गरेको हो।
विभागले सूचना अजारी गर्दै महाकाली नदीको जलसतह बढ्ने जनाउँदै आइतबार बिहानसम्म सतर्कता अपनाउन आग्रह गरेको हो। त्यसैगरि धौलीगंगा पावर स्टेसन एनएचपीसीले पनि सूचना जारी गर्दै शुक्रबारदेखि बाँधका ढोका खोल्ने जनाएको छ।
पावर स्टेसनको जलाशयमा पानी अत्यधिक भएकाले सल्ट सरसफाइका लागि आकस्मिक रूपमा बाँध खोल्नुपरेको एनएचपीसीले जनाएको छ।