काठमाडौं। सरकारले देशभर हालसम्म करिब ५९ प्रतिशत धान रोपाइँ भएको विवरण सार्वजनिक गरेको छ।
कृषि विकास मन्त्रालयका अनुसार असार २९ सम्म ८ लाख १६ हजार ४०५ हेक्टर जमिनमा रोपाइँ भएको हो। गत वर्षको तुलनामा झन्डै ८ प्रतिशतले रोपाइँमा कमी आएको हो।
प्रतिशतका हिसाबले सबैभन्दा बढी सुदूरपश्चिम प्रदेशमा करिब एक लाख ६४ हजार हेक्टरमा रोपाइँ भएको छ। उक्त प्रदेशमा ९३ प्रतिशत रोपाइँ भएको जनाइएको छ।
कर्णाली प्रदेशमा ६४ हजार हेक्टरमा रोपाइँ सकिएको छ। यहाँ ८३ प्रतिशत रोपाइँ भएको छ। लुम्बिनी प्रदेशमा दुई लाख २३ हजार हेक्टरमा रोपाइँ सम्पन्न भएको छ भने प्रतिशतका हिसाबले ७३ प्रतिशत रोपाइँ भएको हो।
गत वर्ष सोही अवधिमा करिब ६७ प्रतिशत धान रोपाइँ भएको थियो। मन्त्रालयले आइतबारसम्म संकलन गरेको तथ्यांकअनुसार देशका केही भागमा रोपाइँ जारी छ। आगामी साउन अन्तिम सातासम्म ९८ प्रतिशत रोपाइँ हुने अनुमान गरिएको छ।
कृषि तथा पशुपक्षी विकास मन्त्रालयका सूचना अधिकारी महानन्द जोशीका अनुसार धान उत्पादन तथा क्षेत्रफलका हिसाबले तराई क्षेत्र राम्रो मानिन्छ। त्यस क्षेत्रबाट धानको उत्पादकत्वसमेतमा वृद्धि भई कुल उत्पादनको ७० प्रतिशत योगदान छ। पहाडी क्षेत्रमा ३० प्रतिशत उत्पादन हुने गरेको छ।
गत आर्थिक वर्ष २०८०÷८१ मा ५७ लाख २४ हजार २३४ टन धान उत्पादन भएको थियो। मौसमको प्रतिकूलता, दैवीप्रकोप, अतिवृष्टि तथा अनावृष्टिले रोपाइँमा नकारात्मक प्रभाव परी कतिपय क्षेत्रमा ढिलो रोपाइँ हुने गरेको छ।
मुलुकमा करिब १४ लाख हेक्टर जमिनमा रोपाइँ हुने गर्दछ। पछिल्लोपटक विकास भएका ज्ञान, सीप, प्रविधि तथा उन्नत जातका बिउबिजनको विकासका कारण उत्पादन वृद्धि हुने अनुमान छ।
धान उत्पादनमा करिब १० प्रतिशतले घटबढ भएमा मुलुकको कुल गार्हस्थ्य उत्पादनमा एक प्रतिशतले घटबढ हुने जनाइएको छ। यस वर्ष स्वदेशमा उत्पादन हुने अनुमान गरिएको ६० लाख टन धानबाट करिब ३५ लाख टन खानयोग्य चामल बन्ने मन्त्रालयको भनाइ छ।
पानी नपर्दा सुक्यो धानको ब्याड
सुनसरीमा समयमै वर्षा नहुँदा यहाँका किसानले राखेको धान ब्याडमै सुक्न थालेको छ। असार बित्नै लाग्दासमेत पर्याप्त पानी नपर्दा र सिँचाइ सुविधा अभावले धान रोपाइँ हुन नसकेको हो।
आकाशे पानीको भरमा रहेका बराहक्षेत्र नगरपालिका–६ श्रीलंका टापु चिलैया र गरैया क्षेत्रका किसानले रोपेको धानको रोपो नै सुक्न थालेको छ। स्थानीय कृषक सन्तोष चन्द्रवंशीले भने, ‘यो वर्ष पानी पर्ने आशा त थियो, तर चाहिएको बेला पानी परेन। हामी आकाश हेरेर बसेका छौँ, धानको रोपो सुक्न थालेको छ।’
उनका अनुसार विद्युत् आपूर्तिसबै क्षेत्रमा नपुगेकाले पम्पसेट मार्फत सिँचाइ गर्न सकिएको छैन। वराहक्षेत्र नगरपालिकाले श्रीलंका टापुका किसानलाई ४३ थान विद्युतीय मोटर, ६० थान डेलिभरी पाइप र १५५ थान त्रिपाल अनुदानमा वितरण गरेको छ।
रामधुनी नगरपालिकाका किसान रामभुवन रायले आफूले दुई बिघाहमा रोपाइँ गर्दै आएकोमा अहिलेसम्म आधा खेतमा पनि रोपाइँ गर्न नसकेको बताए। वर्षामा भर पर्ने उनीहरुजस्ता किसानलाई यही अवस्था रहिरहे धानबाली नै गुम्ने खतरा रहेको उनको भनाइ छ।
कोशी गाउँपालिका–७ की किसान सरस्वती मियाँले जेठमै ब्याड तयार पारे पनि पानी नपरेपछि सुक्न थालेको बताए। धरान उपमहानगरपालिका–६ का किसान बुद्धिमान तामाङका अनुसार कुलोमा पानी नआएपछि रोपाइँ गर्न सकिएको छैन। ‘पोहोर साल यही समयसम्म रोपाइँ सकिएको थियो, तर यसपाली तीन भागमा एक भाग पनि रोपाइँ सकिएको छैन’, तामाङले भने।
सुनसरीमा हाल ४८ हजार ९ हेक्टर क्षेत्रफलमा धान रोपाइँ हुँदै आएको छ। कृषि ज्ञान केन्द्र सुनसरीका प्रमुख निल कमल सिंहका अनुसार गत वर्ष असारको अन्त्यसम्म जिल्लामा करिब ५० प्रतिशत रोपाइँ सम्पन्न भएको थियो। तर यस वर्ष सोही अवधिमा ३२ प्रतिशत मात्र रोपाइँ भएको छ।
किसानले समयमै सिँचाइको व्यवस्थाका साथै मल, बिउ र अन्य कृषि उपकरणमा अनुदान माग गरिरहेका छन्। केही किसानले निजी स्रोतबाट सिँचाइको व्यवस्था मिलाउने प्रयास गरे पनि सबैका लागि त्यो सम्भव नहुने भन्दै सरकारी तहबाट राहत माग गरेका छन्।