म्याग्दी। म्याग्दीको धवलागिरि गाउँपालिका–७ शिवाङको हम नमूना आवासीय माविका विद्यार्थीहरुले बाँझिएको पाखोबारीमा झाडी फाँडेर तरकारी खेती गरी हराभरा बनाएका छन्।
झिनडाँडास्थित छात्रावास भवन परिसरको विद्यालय र व्यक्तिको ६ रोपनी पाखोबारीको झाडी फाडेर खनजोत गरी विद्यार्थीले तरकारी खेती गरेका हुन्। तरकारी खेती हुनुअघि उक्त जग्गामा वनमाराको झाडी थियो।
विद्यालयका शिक्षक गिरिप्रसाद छन्त्यालले विद्यार्थीलाई तरकारी खेतीसम्बन्धी व्यावहारिक र व्यावसायिक ज्ञान, सीप सिकाउने, छात्रावासमा आवश्यक पर्ने तरकारी आफैं उत्पादन गर्ने र फुर्सदको समय सदुपयोगका लागि तरकारी खेती गरिएको जानकारी दिए।
‘धवलागिरिको इच्छा, गरिखाने शिक्षा’ कार्यक्रममार्फत गाउँपालिकाको सहयोगमा छात्रावासमा बस्ने विद्यार्थीले साँझ–बिहान श्रमदान गरेर पाखोबारीको झाडी फाँडेर तरकारी खेती गरेका हुन्’, उनले भने, ‘विद्यार्थीले पढ्दै कमाउने सीप सिक्ने, बाँझो जग्गा र फुर्सदको समय सदुपयोग हुने, छात्रावासमा आवश्यक तरकारी किन्नु नपर्ने र खर्च बचत हुने भएकाले यो कार्यक्रम प्रभावकारी भएको छ।’
बिरुवा उत्पादनका लागि दुई वटा टनेल बनाउनुका साथै पाखोबारीमा सिमी, बोडी, फर्सी, काँक्रो, चरेला, पिँडालु, करेला, फापर, रायोसाग, धनिया, बन्दा, काउलीलगायत प्रजातिका तरकारी लगाएका छन्। करेसाबारीमा लोपोन्मुख तेलहन फिलिंगो पनि रोपिएको छ।
चार रोपनी जग्गा विद्यालयको हो भने दुई रोपनी वार्षिक पाँच हजार तिर्ने गरी भाडामा लिएका छन्। विद्यालय समयपछि साँझ एकाध घन्टा करेसाबारीमा बिताउँदा विद्यार्थीले जीवनोपयोगी र व्यावसायिक सीप सिक्नुका साथै ‘रिफ्रेस’ महसुस गरेका छन्। गण्डकी सरकार र धवलागिरि गाउँपालिकाको सहयोगमा सञ्चालित छात्रावासमा ५० जना विद्यार्थी रहेको हेम नमुना आवासीय माविका प्रअ शेरबहादुर केसीले बताए।
छात्रावासका विद्यार्थीका लागि आवश्यक तरकारी करेसाबारीबाट आपूर्ति गर्ने, बढी भएको तरकारी बेच्ने र कुखुरा, बाख्रा र खरायोपालन गर्ने योजना रहेको उनको भनाइ छ। करेसाबारी स्थापना गर्न धवलागिरिले चालू आर्थिक वर्षमा एक लाख ५० हजार सहयोग गरेको छ।
गाउँपालिका अध्यक्ष प्रेमप्रसाद पुनले विद्यार्थीलाई पढ्दै कमाउदै गर्ने सीप सिकाउने उद्देश्यले हेम नमुना र मुनाको धवलागिरि माध्यमिक विद्यालयमा ‘धवलागिरिको इच्छा, गरिखाने शिक्षा’ कार्यक्रम सञ्चालन गरेको जानकारी दिए।
गत वर्ष तीन लाख बजेट विनियोजन भएको कार्यक्रम प्रभावकारी बनेकाले आगामी वर्षलाई पनि निरन्तरता दिएको उनले बताए।–रासस