काठमाडौं। हाल देशभर मनसुनी वायुको प्रभाव रहँदा देशभर साधारण बदली भइरहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
मनसुनको न्यून चापीय रेखापूर्वमा सरदर स्थानको आसपास र पश्चिममा सरदर स्थानभन्दा थोरै उत्तरतिर रहेको जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
कोसी, मधेस, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशलगायत देशको पहाडी भू–भागमा केही स्थानमा तथा बाँकी प्रदेशका थोरै स्थानमा मेघगर्जन÷चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले बताएको छ।
कोसी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ र देशको उच्च–पहाडी तथा हिमाली भू–भागका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षा/हिमपातको सम्भावना छ।
यसैगरी आज राती कोसी, मधेस, बागमती, गण्डकी, लुम्बिनी प्रदेशका केही स्थान तथा बाँकी प्रदेशका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।
कोसी र लुम्बिनी प्रदेशका एकाध स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ। देशको उच्च–पहाडी तथा हिमाली भू–भागका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षा÷हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ।