काठमाडाैं। स्याङ्जाको कालीगण्डकी गाउँपालिकाले पालिकाभित्रका सबै नागरिकको निःशुल्क स्वास्थ्य बिमा गरिदिएको छ। गाउँपालिकाले चालू आर्थिक वर्ष २०८१/८२ मा पालिकाभित्र रहेका चार हजार पाँच सय ४३ घरधुरीका नागरिकको निःशुल्क बिमावापतको रकम रु एक करोड ७२ लाख भुक्तानी गरेको छ।
गाउँपालिकाभित्र बसोबास गर्ने पालिकाबासीको स्वास्थ्य सेवामा पहुँच पुर्याउने उद्देश्य राख्दै कालीगण्डकी गाउँपालिकाले पालिकाका सबै नागरिकको निःशुल्क स्वास्थ्य बिमा गरिदिएको हो।
निःशुल्क स्वास्थ्य बिमा गरेसँगै पालिकाले चालू आर्थिक वर्ष २०८१/८२ मा एक करोड ७२ लाख ७२ हजार एक सय ५० स्याङ्जास्थित स्वास्थ्य बिमा कार्यालयमा भुक्तानी गरेको गाउँपालिकाका निःशुल्क बिमा कार्यक्रममा कार्यरत दुर्गा पाण्डेले जानकारी दिए।
सात वटावडा रहेको कालीगण्डकी –१ मा सात सय ७२ घरधुरी, वडा नं २ मा सात सय २६ घरधुरी, वडा नं ३ मा पाँच सय ८३, वडा नं ४ मा छ सय ६८, वडा नं ५ मा छ सय ८०, वडा नं ६ मा पाँच सय ८८ र वडा नं ७ मा पाँच सय २६ गरी कूल चार हजार पाँच सय ४३ घरधुरीको निःशुल्क स्वास्थ्य बिमा गरिदिएको हो।
गाउँपालिकाले पहिलो चरणमा एक हजार ६१७ घरधुरीको बिमावापत ६१ लाख ७७ हजार १५० भुक्तानी गरेको थियो। दोस्रो चरणमा दुई हजार एक सय ८३ घरधुरीका लागि ८२ लाख रु ७० हजार ५००, तेस्रो चरणमा तीन सय ९९ घरधुरीका लागि १४ लाख ९२ हजार ५० र चौँथो तथा अन्तिम चरणमा तीन सय ४४ घरधुरीको बीमावापत १३ लाख ३२ हजार चार सय ५० भुक्तानी गरेको उनले जानकारी दिए।
गाउँपालिकाका सात वटै वडाका चार हजार पाँच सय ४३ कूल घरधुरीलाई निःशुल्क स्वास्थ्य बिमा कार्यक्रममार्फत समेटिएको गाउँपालिकाका अध्यक्ष खिमबहादुर थापाले बताए। गाउँपालिकाले नागरिकको स्वास्थ्य बिमा नवीकरणवापत प्रत्येक तीन÷तीन महिना गरी चार चरणमा रकम भुक्तानी गरेको हो।
एक जनादेखि पाँच जनासम्मको परिवारलाई तीन हजार ५०० भुक्तानी गर्ने उनले बताए। पाँच देखिमाथि परिवार संख्या भएको घरधुरीलाईप्रति संख्याका आधारमा सात सय थप गरिएको हो। गाउँपालिकाले आर्थिक वर्ष २०७८÷७९ देखि निःशुल्क स्वास्थ्य बिमा कार्याक्रम कार्यान्वयनमा ल्याएको अध्यक्ष थापाले बताए।