काठमाडौं । कोरोना भाइरसले पर्यटन क्षेत्र तहसनहस बनेपछि त्यसलाई ‘रिभाइभ’ गर्न नेपाल राष्ट्र बैंकले आवश्यक कदम चाल्ने भएको छ ।
अर्थतन्त्रमा महत्वपूर्ण योगदान पुर्याउने पर्यटन क्षेत्र कोरोना भाइरसका कारण प्रभावित बनेपछि राष्ट्र बैंकका कामु गभर्नर चिन्तामणि शिवाकोटीले बैङ्कर्स एसोसिएसनका पदाधिकारीलाई बोलाएर आवश्यक छलफल गर्ने भएका हुन ।
कोरोना भाइरस प्रत्यक्ष असर पर्यटन क्षेत्रमा पर्यो । यो क्षेत्रका व्यवसायीले ब्याज समेत तिर्न नसक्ने अवस्था आएपछि कामु गभर्नर शिवाकोटीले बैङ्कर्स संघका पदाधिकारीलाई राहतको प्याकेजका लागि छलफलमा बोलाएको बताए ।
पर्यटनमा कोरोना प्रभाव: व्यवसायीद्वारा ब्याज मिनाह गर्न आग्रह
ब्याज मिनाहदेखि ब्याजलाई साँवामा पुँजीकृत गर्न समेत पर्यटन व्यवसायीले माग गरेका छन् । त्यही विषयमाथि शुक्रबार छलफल हुने शिवाकोटीले जानकारी दिए ।
कोरोना भाइरसले नेपालको कुन कुन क्षेत्रमा असर पुर्याएको छ ? पर्यटन र उद्योग क्षेत्रमा परेको असरमाथि पछि छलफल हुने छ । त्यसैका आधारमा कुन क्षेत्रलाई कस्तो राहतको प्याकेज दिने भन्ने तय हुनेछ ।
कामु गभर्नर शिवाकोटीका अनुसार व्यवसायीलाई ब्याज अनुदान दिने कि, चैत मसान्तमा बुझाउनुपर्ने ब्याजलाई सावाँमा परिणत गर्ने हो, यस विषयमा बैङ्कर्स एसोसिएसनका पदाधिकारीबीच छलफल हुने छ ।
अहिले यहि नै राहतका प्याकेज आउँछ भन्ने छैन । तर, केही न केही राहतको प्याकेज ल्याउन राष्ट्र बैङ्कले पहल गर्ने छ ।
अहिले कतिपय व्यवसायीले साँवा तिर्न सक्दिन भनेका छन् ।
कतिपय व्यवसायीले ब्याज तिर्न गाह्रो भएको बताएका छन् । कतिपय व्यवसायीले किस्ता तिर्न नसक्ने बताएका छन् । ती सबै समस्या समाधान कसरी हल गर्न सकिन्छ भनेर छलफलका लागि बोलाएको कामु गभर्नर शिवाकोटीले बताए ।
व्यवसायीले कोरोनाबाट पर्यटन क्षेत्र तहसनहस भएपछि वैंकहरुलाई १ वर्षसम्म ब्याज मिनाहा वा सहुलियत दिन र कालोसूचीमा नराख्ने वातावरण बनाउन अनुरोध गरिरहेका छन ।