काठमाडौं। प्रतिबन्धले चीनलाई चिप अभाव हुने र अमेरिकी प्रविधि कम्पनीको ठूलो आम्दानीको हिस्सा गुम्ने देखिएपछि चीनमा पुन अमेरिकी चिप निर्यात हुने देखिएको छ। विश्व प्रसिद्ध चिप निर्माता कम्पनी एनभिडियाले फेरि चीनमा आफ्नो कृत्रिम बुद्धिमत्ता चिप एच २० बिक्री गर्ने योजना रहेको जनाएको छ।
एनभिडियाका एआई चिपहरू अमेरिकी निर्यात नियन्त्रणको मुख्य केन्द्रमा रहनुको उद्देश्य राष्ट्रिय सुरक्षा चिन्ताका कारण चीनजस्ता मुलुकलाई अत्याधुनिक प्रविधि पहुँचबाट टाढा राख्नु थियो। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यस्ता चिपहरू चिनियाँ सेनाले अत्याधुनिक हतियार निर्माणमा प्रयोग गर्न सक्ने भन्दै गत अप्रिलदेखि चीन निर्यातमा प्रतिबन्ध लगाएका थिए।
तर, प्रतिबन्धले चिप निर्माता कम्पनी एनभिडियाले हालसम्मकै सबैभन्दा ठूलो क्षति व्यहोर्ने पुग्यो। प्रतिबन्धले कम्पनीको आम्दानीमा करिब १५ अर्ब अमेरिकी डलरको घाटा भएको एनभिडियाले जनाएको छ। जुन कम्पनीको कुल आम्दानीको १३ प्रतिशतभन्दा बढी हो।
एनभिडियाले अप्रिलमा ट्रम्प प्रशासनद्वारा लगाइएको निर्यात प्रतिबन्धको कारण चीनमा आफ्नो एच–२० चिप बिक्री गर्न सकिरहेको छैन। ट्रम्पको कदमको आलोचनासमेत गर्दै आएको छ।
एनभिडिया अहिले अमेरिकी सरकारसँग आफ्नो चिप चीनमा बिक्री गर्नका लागि अनुमति मागिरहेको फाइनान्सियल टाइम्सले लेखेको छ। एनभिडियाले भनेको छ, 'अमेरिकी सरकारले हामीलाई लाइसेन्स दिने आश्वासन दिएको छ। हामी चाँडै वितरण सुरु गर्ने आशा राख्छौं।'
एनभिडियाका प्रमुख कार्यकारी अधिकृत (सीईओ) जेनसेन हुआंग यतिबेला चिनिया आपुर्ति शृङ्खला प्रदर्शनीमा सहभागी हुन हाल पेचिङमा छन्। उनी अप्रिलपछि २ पटक चीनको यात्रा गरिसकेका छन् भने हुआंग बेइजिङ भ्रमण जानुअघि ट्रम्पसँग भेट गरेका थिए।
अमेरिकाले चीनमा चिप डिजाइन सफ्टवेयर सेवाहरू पुनः सुरु गर्न भने अनुमति दिएको छ। चीनले रेयर अर्थ निर्यात नियन्त्रणमा केही लचकता देखाएको छ। यी कदमहरू पेचिङ र वासिङ्टन तनाव कम गर्नका संकेतको रूपमा हेरिएको छ।
एनभिडिया अहिले हुवावे र अन्य चिनियाँ जीपीयु निर्माता कम्पनीसँग प्रतिस्पर्धा गरिरहेको छ भने चिनियाँ कम्पनी अमेरिकी चिपमा निर्भर रहँदै आएका छन्। अप्रिलमा प्रतिबन्धित भएको यो चिप चीनमा कानुनी रूपमा उपलब्ध सबैभन्दा शक्तिशाली एआई चिप थियो।
चिनियाँ प्रविधि कम्पनीहरू एनभिडियाको सीयूडीए कम्प्युटिङ प्लेटफर्मको कारण उसकै चिप प्रयोग गर्न चाहान्छन्। तर चीन र अमेरिकाबीच अझै अनिश्चितता भने कायमै छ। एच २० प्रतिबन्धमा फुकुवामा ढिलाइ भए पनि चिनियाँ कम्पनीले आपूर्ति सुरक्षाका लागि वैकल्पिक उपाय भने खोजिरहेका छन्।
चिप डिजाइन सफ्टवेयर सेवाहरू पुनः सुरु गर्न अनुमति पाएसँगै कम्पनीले नयाँ जीपीयू मोडेल आरटीएक्स प्रो चिप पनि सार्वजनिक गरेको छ। जुन चिनियाँ नियामकले तोकेका न्युनतम मापदण्ड र आवश्यकता अनुरूप विशेष रूपमा डिजाइन गरिएको छ।
समाचारअनुसार, आरटीएक्स प्रो ६०००डी मा आधारित चिप चीनमा एच–२० भन्दा धेरै सस्तो मूल्यमा ल्याइने छ। यो ब्ल्याकवेल आर्किटेक्चरमा आधारित चिपको स्पेसिफिकेसन र निर्माण प्रक्रिया एच–२० भन्दा सरल छ।