काठमाडौं । अमेरिकी डलर मजवुत भई १२० रुपैयाँ कटेको छ । कोरोना भाइरसको अधिक प्रभाव विश्व अर्थतन्त्रमा परेपछि डलर मजवुत हुँदै गएको हो । दुई वर्षअघि पनि डलर महंगिएर १२० रुपैयाँ पुगेको थियो । कोरोना भाइरस संक्रमण बढ्दै गएकाले डलर थप मजवुत हुने संभावना देखिएको छ ।
शुक्रबार नेपाल राष्ट्र बैंकले १ डलर बराबर १२० रुपैयाँ २८ पैसा बिक्रीदर तोकेको छ । भारतीय रिजर्व बैंक (आरबीआई) ले १ डलर बराबर ७४.१७ भारु तोकेको छ । नेपाल र भारतबीच स्थिर विनिमयदर भएकाले भारु कमजोर हुनसाथ नेपाली रुपैयाँ पनि कमजोर हुन्छ । डलरसंग भारु कमजोर भएपछि यसको असर नेपाली रुपैयाँमा परेको हो ।
अमेरिकी डलर महंगिएर ११९ रुपैयाँ कट्यो, निकासीकर्ता र रेमिट्यान्स पठाउनेलाई फाइदा
कोरोना भाइसरको संक्रमण बढ्दै गएपछि कच्चा तेलको माग कम भई मूल्य घटेको छ । पछिल्लो समयमा लगानीकर्ताले डलरमा लगानी बढाउँदा थप मजवुत हुन पुगेको राष्ट्र बैंकका प्रवत्ता डा.गुणाकर भट्ट बताउँछन । कोरनाको असरले तेलको भाउ घटेपछि सुरक्षित लगानीको क्षेत्र डलर नै देखिएकाे उनको भनाई छ । भारतलगायत अन्य मुलुकहरुमा सेयरको भाउमा भारी गिरावट आएको छ । सेयर बजार, वस्तु विनिमय बजार र तेलको भाउ ओरालो लागेको छ ।
अमेरिकाको केन्द्रीय बैंक फेडरल रिजर्वले ब्याजदर १ प्रतिशत घटाएर ०.२५ प्रतिशत विन्दुमा झारेको छ । यति गर्दा पनि लगानीकर्ता डलरलाई सुरक्षित माने लगानी बढाइरहेका छन । फेडरल रिजर्वले कोरनाको असर रहुन्जेल ब्याजदर शुन्यमा झार्ने तयारी गरेको छ ।
डलर महंगिदा विदेशमा काम गर्ने नेपालीले पठाउने पैसा रेमिट्यान्स आप्रवाहमा वृद्धि र निर्यात व्यापारमा फाइदा हुन्छ । आयात गरिने वस्तु महंगो हुने भएकाले बजार भाउ बढ्न सक्ने छ । यद्यपी निकासीकर्तालाई यो बेला फाइदा हुन्छ । यस्तै विदेशी कच्चा पदार्थमा निर्भर उद्योगको लागतमा वृद्धि हुने छ ।
डलर बढ्दा सरकारलाई विदेशी ऋण र साँवा भुक्तानीमा अतिरिक्त भार पर्छ । विदेशी कम्पनीहरुले लाभांश फिर्ता लैजादा बढी दिनुपर्छ । मुद्रास्फीति ६.८७ प्रतिशत रहेको छ । डलरकाे मजवुतीले झनै बढाउने संभावना छ ।