काठमाडौं । अमेरिकी डलरसंग नेपाली रुपैयाँ पुनः कमजोर भएको छ । डलरको भाउ फेरी उकालो लागेको छ । नेपाल राष्ट्र बैंकले मंगलबार १ डलर बराबर ११९ रुपैयाँ १४ पैसा बिक्रीदर तोकेको छ । विश्व अर्थतन्त्रमा कोरोना भाइरसको सन्त्राश बढेपछि डलर थप मजवुत हुन थालेको हो ।
भारतीय रिजर्व बैंक (आरबीआई) ले १ डलर बराबर ७४ भारु तोकेको छ । स्थिर विनिमयदर भएकाले भारु कमजोर हुनसाथ नेपाली रुपैयाँ पनि कमजोर हुन्छ । डलरसंग भारु कमजोर भएपछि यसको असर नेपाली रुपैयाँमा परेको हो ।
कोरोना भाइरसका कारण कच्चा तेल र सेयर बजार ओरालो लागेका कारण अन्तर्राष्ट्रिय बजारमा डलर नै सुरक्षित लगानीको क्षेत्र देखिएकाले भाउ उकालो लागेको हो ।
पछिल्लो समयमा विश्व बजारमा कच्चा तेलको भाउ निरन्तर घट्दै गएका, सुनको भाउ पनि अस्वभाविक रुपमा बढेकाले यसले पनि लगानीकर्तालाई तान्न नसकेको हो । यस्तै वस्तु विनिमय र सेयर बजार पनि असुरक्षित देखिएका कारण डलर मजवुत हुन गएको विश्लेषकहरुको भनाई छ ।
अमेरिकाको केन्द्रीय बैंक फेडरल रिजर्वले ब्याजदर ०.५ विन्दुले घटाउँदा पनि लगानीकर्ता डलरतर्फ आर्कर्षित भएका छन । फेडरल रिजर्वले ब्याजदर .०५ विन्दुबाट घटाएर १.५२ प्रतिशतमा झारेको छ । उसले अझै ब्याजदर घटाउने तयारी गरेको छ ।
ब्याजदर घटेर प्रतिफल कम आउने भए पनि अमेरिकी अर्थतन्त्र अझै मजवुत भएकाले अहिले लगानीकर्ता डलरतर्फ आर्कर्षित देखिएका हुन ।
डलर महंगिदा विदेशमा काम गर्ने नेपालीले पठाउने पैसा रेमिट्यान्स आप्रवाहमा वृद्धि र निर्यात व्यापारमा फाइदा हुने भए पनि आयात महंगो हुने भएकाले बजार भाउ बढ्न सक्ने छ । यद्यपी निकासीकर्तालाई यो बेला फाइदा हुन्छ । यस्तै विदेशी कच्चा पदार्थमा निर्भर उद्योगको लागतमा वृद्धि हुने छ ।
डलर बढ्दा सरकारलाई विदेशी ऋण र साँवा भुक्तानीमा अतिरिक्त भार पर्छ । विदेशी कम्पनीहरुले लाभांश फिर्ता लैजादा बढी दिनुपर्छ ।
मुद्रास्फिती ६ प्रतिशत पुगिसकेकाले डलरले झनै बढाउने संभावना छ । कोरना भाइरसको संक्रमणले चीनतिरको नाका बन्द भएपछि वस्तुको अभाव भई भाउ बढ्ने खतरा छ ।