काठमाडौं। गत आर्थिक वर्षमा नेपाल पहिलो पटक बिजुलीको खुद निर्यातकर्ता (नेट एक्सपोर्टर) बनेको छ। यो नेपालको अर्थतन्त्रका लागि महत्वपूर्ण उपलब्धि हो। चालु आर्थिक वर्षमा गत वर्षको तुलनामा तीन लाख मेगावाट आवर बढी बिजुली सरकारले निर्यात गरेको छ।
नेपालले चालु आर्थिक वर्ष २०८१/०८२ को असार २५ गतेसम्म गत आर्थिक वर्ष २०८०/८१ असारको तुलनामा तीन लाख पाँच हजार १६ मेगावाट आवर बिजुली निर्यात भएको छ। नेपाल विद्युत प्राधिकरण (एनईए)का अनुसार यो वर्ष २२ लाख २७ हजार ६५८.४९ मेगावाट आवर बिजुली आयात–निर्यात भएको छ। गत वर्ष १९ लाख २२ हजार ६४२.३५ मेगावाट आवर बिजुली निर्यात थियो। यो बिजुली भारत र बंगलादेश निर्यात भएको हो।
बरिष्ठ ऊर्जा विज्ञ प्रबल अधिकारीका अनुसार नेपालले हाल छिमेकी मुलुकमा करिब ९३६.७२ मेगावाट बिजुली निर्यातका लागि स्वीकृति पाएको छ। जसमध्ये ४० मेगावाट बंगलादेशमा र बाँकी भारतमा निर्यात भइरहेको छ। भारतमा दुई तरिकाले बिजुली बिक्री भइरहेको छ। मध्यकालीन सम्झौता (मिडियम टर्म पावर सेल एग्रिमेन्ट) र भारतीय ऊर्जा एक्सचेन्ज बजार (इन्डियन इनर्जी एक्सचेन्ज–आईईएक्स)मार्फत दैनिक बिडिङ गरेर बिजुली निर्यात भइरहेको हो।
करिब ५२१ मेगावाट बिजुली आईईएक्स बजारमा बिक्री भइरहेको अधिकारी बताउँछन्। आईईएक्स बजारमा मूल्य सुश्चित नहुने उनको भनाइ छ। ‘आईईएक्समार्फत बिजुली निर्यात गर्दा १५/१५ मिनेटमा मूल्य फेरबदल हुन्छ,’ उनले भने, ‘यसले रकम मिडियम टर्म पावर सेल एग्रिमेन्टमा भने रकम निश्चित हुन्छ।’
नेपालको विद्युत् ढल्केबरबाट भारतको बहरमपुर हुँदै बंगलादेश निर्यात भइरहेको छ। प्राधिकरणले ६ महिनासम्म बंगलादेशलाई विद्युत् निर्यात गर्ने एनईएका प्रवक्ता राजन ढकाल बताउँछन्।
भारतमा बिजुली बेच्दा भारतीय रुपैयाँ (भारु) आर्जन हुन्छ। बंगलादेशमा डलरमा भुक्तानी हुन्छ। नेपालले यही असार १ (जुन १५) देखि बंगलादेशलाई ४० मेगावाट विद्युत् निर्यात गरिरहेको छ। गएको असोजमा एनईए र बंगलादेश पावर डेभलपमेन्ट बोर्ड (बीपीडीबी)बीच नेपालबाट बंगलादेशमा ४० मेगावाट विद्युत् निर्यात गर्ने सम्झौता भएको थियो।
नेपालको विद्युत् ढल्केबरबाट भारतको बहरमपुर हुँदै बंगलादेश निर्यात भइरहेको छ। प्राधिकरणले ६ महिनासम्म बंगलादेशलाई विद्युत् निर्यात गर्ने एनईएका प्रवक्ता राजन ढकाल बताउँछन्। ‘हाल नेपालको मुख्य बजार भारत र बंगलादेश हो, बंगलादेशमा प्रतियुनिट ६.४ सेन्ट अर्थात करिब ८.७१ रुपैयाँ आम्दानी हुन्छ,’ उनले भने।
नेपालले निर्यात गरेको मेगावाट आवर बिजुली

बंगलादेशसँग ६.४ सेन्ट प्रतियुनिटमा बिजुली बिक्रीको सम्झौता भएको छ। जुन डलरमा भुक्तानी हुने पहिलो ट्रान्जेक्सन हो। एनईएका अनुसार असार–साउनमा नेपालको कुल विद्युत् उत्पादन २५ सयदेखि तीन हजार मेगावाट वा सोभन्दा बढी पुग्छ।
यसको तुलनामा नेपालको आन्तरिक विद्युत् माग सामान्यतया २१ सय मेगावाटको हाराहारीमा रहन्छ। सो अवधिमा नेपालसँग आफ्नो आन्तरिक माग पूरा गरेर पनि करिब ५०० देखि ९०० मेगावाटसम्म विद्युत् बढी हुन्छ। यही बढी भएको विद्युत्मध्ये ४० मेगावाट बंगलादेशलाई निर्यात भइरहेको प्रवक्ता ढकाल बताउँछन्।
मंसिर (डिसेम्बर) वा पुस (जनवरी)देखि नेपालको विद्युत् उत्पादन घट्दै जान्छ। हिउँदमा नदीमा पानीको बहाव घट्ने हुँदा जलविद्युत् उत्पादनमा कमी आउँछ। यो उत्पादन आन्तरिक मागका लागि पनि अपर्याप्त हुन्छ। त्यसैले हिउँदमा नेपालले आन्तरिक माग पूरा गर्नका लागि केही विद्युत् आयात गर्नुपर्ने अवस्था छ।
नेपालमा माघदेखि वैशाख गरी चार महिना बिजुली उत्पादन कम हुने भएको निर्यात गरेको छैन। चार महिना सुख्खा सिजनमा बिजुली आयात गरिरहेको एनईएले जनाएको छ।
नेपालका अधिकांश जलविद्युत आयोजना नदीको बहाव (रन–अफ–रिभर) प्राविधिमा आधारितमा छन्। हिउँदयाममा नदीमा पानीको बहाव घट्दा उत्पादन कम हुन्छ। हिउँदमा उत्पादन कम हुँदा देशभरको आवश्यकताभन्दा कम उत्पादन हुन्छ। सो समयमा भारतबाट बिजुली आयात गरिन्छ।
नेपालमा माघदेखि वैशाख गरी चार महिना बिजुली उत्पादन कम हुने भएको निर्यात गरेको छैन। चार महिना सुख्खा सिजनमा बिजुली आयात गरिरहेको एनईएले जनाएको छ। चालु आर्थिक वर्षमा नेपालले भारतबाट १८ लाख ६५ हजार ०४३.४० मेगावाट आवर बिजुली आयात गरेको छ।
यो भनेको गत वर्ष २०८०/८१ को तुलनामा एक लाख ५५ हजार १७९.९७ मेगावाट आवर बिजुली बढी हो। गत वर्ष नेपालले १७ लाख ९ हजार ८६३.४३ मेगावाट आवर बिजुली आयात गरेको थियो।
नेपालले आयात गरेको मेगावाट आवर बिजुली

निर्यात बढाउन के गर्ने?
वरिष्ठ ऊर्जाविज्ञ अधिकारीका अनुसार नेपालको बिजुली उत्पादन क्षमता करिब तीन हजार ६०२ मेगावाट पुगेको छ। बर्खायाममा हरेक वर्ष करिब ९ सयदेखि एक हजार मेगावाट बिजुली थपिने प्रक्षेपण गरिएको छ। तर, हालको ढल्केबर–मुजफ्फरपुर ४ सय केभी प्रसारण लाइनको क्षमता करिब-करिब पूर्ण भइसकेको छ।
यसले गर्दा थप बिजुली निर्यातका लागि अन्तरदेशीय प्रसारण लाइनको अभाव देखिने अधिकारी बताउँछन्। बुटवल–गोरखपुर क्रस बोर्डर ट्रान्समिसन लाइन निर्माणाधीन अवस्थामा छ। तर, यसलाई सम्पन्न हुन अझै न्यूनतम एक वर्ष लाग्ने अनुमान गरिएको छ। नेपाल खण्डको प्रसारण लाइन एमसीसी परियोजनामा परेका कारण ढिलाइ भएको छ। भारतको खण्ड तयार भए पनि नेपालको खण्ड तयार नभए बिजुली निर्यातमा समस्या आउन सक्ने अधिकारीको तर्क छ।
यसका साथै देशभित्र पनि प्रसारण लाइनको सञ्जाल विस्तार गर्नुपर्ने देखिन्छ। यसले उत्पादित बिजुली देशका विभिन्न भागमा पुर्याउन सकिन्छ र खपत बढ्न जान्छ।
भारतको आईईएक्स बजारमा बिजुलीको मूल्य र परिमाणमा दैनिक उतारचढाव (भोलाटिलिटी) आउँछ। प्रत्येक १५–१५ मिनेटमा नयाँ दर निर्धारण हुन्छ। प्राकृतिक विपद्का कारण नेपालमा बिजुली उत्पादन कम हुँदा वा भारतमा मूल्य घट्दा निर्यातमा असर पर्न सक्छ।
चालु आवमा केही समय ५० पैसा प्रतियुनिटसम्म मूल्य झरेको थियो। यसको समाधानका लागि नेपालले मध्यकालीन (पाँच वर्षका लागि) वा दीर्घकालीन बिजुली बिक्री सम्झौता (लङ टर्म पावर सेल एग्रिमेन्ट)मा जोड दिनुपर्ने अधिकारी सुझाउँछन्।
आन्तरिक खपत कसरी बढाउन सकिन्छ?
नेपालमा बर्खायाममा बिजुली बढी हुने र सुख्खा याममा कम हुने प्रवृत्ति छ। मनसुन सिजनमा करिब चार महिना बिजुली सरप्लस हुन्छ भने नोभेम्बर १५ देखि जुन महिनासम्म उत्पादन कम हुन्छ। मनसुनमा बढी उत्पादन हुने बिजुलीको आन्तरिक रुपमा खपत बढाउनुपर्ने विज्ञ अधिकारी बताउँछन्। जसका लागि औद्योगिकीकरणमा जोड दिने, डाटा इन्डस्ट्रिजको सम्भावना खोज्ने, प्रसारण लाइन विस्तार गर्ने र खुला बजारको अवधारणा ल्याउन सुझाए।
‘डाटा इन्डस्ट्रिज, एग्रो–प्रोसेसिङ उद्योग, स्टिल तथा सिमेन्ट उद्योगजस्ता ठूला मात्रामा बिजुली खपत गर्ने उद्योगहरू स्थापना गर्ने,’ उनले भने, ‘नेपालको चिसो हावापानी डाटा इन्डस्ट्रिजका लागि उपयुक्त भएकाले यसमा लगानी आकर्षित गर्नुपर्छ। भुटानले क्रिप्टो इन्डस्ट्रिजमा लगानी गरी आन्तरिक खपत बढाएको उदाहरण यहाँ पनि लागू गर्न सकिन्छ।’
यसका साथै देशभित्र पनि प्रसारण लाइनको सञ्जाल विस्तार गर्नुपर्ने देखिन्छ। यसले उत्पादित बिजुली देशका विभिन्न भागमा पुर्याउन सकिन्छ र खपत बढ्न जान्छ। एनईएले बिजुली खरिद बिक्री गर्नु भन्दाको सट्टा प्रतिस्पर्धात्मक बजारको विकास गर्नुपर्ने अधिकारीले सुझाए।