काठमाडौं। एक वर्षअघि (२०८१ साउन ९ गते) भएको सौर्य एयरलाइन्सको जहाज दुर्घटनामा नेपाल नागरिक उड्डयन प्राधिकरण(क्यान) र कम्पनी दुवैलाई दोषी ठहर गरिएकाे छ। जहाज दुर्घटनालगत्तै सरकारले बनाएको जाँचबुझ आयोगले एक वर्षपछि प्रतिवेदन बुझाउँदै घटनाको मुख्य दोषीको रुपमा सौर्य एयरलाइन्सको कम्पनी र प्राधिकरण देखिएको उल्लेख गरेको छ।
आयोगले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलाई अन्तिम प्रतिवेदन बुझाउँदै मर्मतका लागि पोखरा उड्न लागेको जहाजमा पाइलट र कोपाइलट बाहेकलाई उडान अनुमति दिएकोप्रति प्राधिकरणको गल्ती भएको औंल्याएको छ। सीचेकका लागि जान लागेको जहाजमा अन्य व्यक्तिहरु राखेर उड्न लागेको जहाजलाई प्राधिकरणले उडान अनुमति दिनु गलत भएको उल्लेख छ।
आयोगको प्रतिवेदनमा भनिएको छ, ‘म्यानुअल‑ भाग बी को अध्याय ७ मा उल्लिखित तौल लिने, लोडिङ र लोड सुरक्षित गर्ने सम्बन्धी आवश्यकताको पालना गरिरहेको थिएन।’ आयोगले यसलाई एयरलाइन्सको गम्भीर कमजोरी भनेको छ।
आयोगको जाँचबाट जहाजको मुख्य ल्यान्डिङ गियरको टीबीओ (टाइब बिटविन ओभरहल) २०२४ अप्रिल १७ सम्म मात्र रहेको खुलेको छ। यस्तै, जहाजको दुबै एमएलजीएसको टीबीओका लागि २०२४ अप्रिल २० मा म्याद थपिएको र त्यो १९ जुनसम्मका लागि मात्र मान्य रहेको पाइएको आयोगले प्रतिवेदनमा उल्लेख गरेको छ।
‘सबै अपरेटरले कार्गो र सामान व्यवस्थापनसम्बन्धी आवश्यकता पालना गर्नुपर्नेछ। ब्यागेज तथा कार्गोको तौल, यसको वितरण र ल्याचिङ अपरेसन म्यानुअल र ग्राउन्ड ह्यान्डलिङ म्यानुअलमा उल्लेख गरिएअनुसार सुनिश्चित गर्नुपर्नेछ’, आयोगले भनेको छ, क्यानले सबै गैरतालिकाबद्ध उडान (गैर‑राजस्व र फेरी)को अनुमति दिने प्रक्रिया र आवश्यकताको पुनरवलोकन र अद्यावधिक गर्नुपर्नेछ।’
जहाज दुर्घटनालगत्तै सरकारले बनाएको जाँचबुझ आयोगले एक वर्षपछि प्रतिवेदन बुझाउँदै घटनाको मुख्य दोषीको रुपमा सौर्य एयरलाइन्सको कम्पनी र प्राधिकरण देखिएको उल्लेख गरेको छ।
लोड सीटमा उल्लेख गरिएअनुसार टेक‑अफ तौल १८ हजार १३२ किलो थियो। त्यसमध्ये ६०० किलो सामानको तौल हो। इन्धन २ हजार किलो थियो।
‘घटनाको उडानको अपरेसन फ्लाइट प्लानमा उल्लेखित भी‑स्पी र एफडीआरमा रेकर्ड गरिएका भी‑स्पीड क्विक रेफरेन्स ह्यान्डबुकसँग मेल खाँदैन थिए। साथै, जहाजको १६ हजार ५०० किलोटीओडब्लूका लागि इन्टरपोलेट गरिएको स्पीड कार्डमा पनि उडानका लागि गलत भी‑स्पीड दिइएको थियो’, आयोगले भनेको छ।
आयोगले सुरक्षाका लागि सबै वायुसेवा प्रदायक कम्पनीलाई तत्काल आफ्ना स्पीड कार्ड र चार्टहरूको समीक्षा गर्न सुझाव दिएको छ। सौर्य एयरलाइन्सको ९ एन–एएमई सीआरजे २०० कलसाइनको जहाज त्रिभुवन विमानस्थलबाट उड्ना साथ दुर्घटना भएको थियो। जहाज दुर्घटनामा परी १८ जनाको मृत्यु भएको थियो। जहाजका पाइलट मनिषरत्न शाक्य भने बाँच्न सफल भएका थिए।
दुर्घटना भएको दिन नै सरकारले नेपाल नागरिक उड्डयन प्राधिकरणका पूर्वमहानिर्देशक रतिशचन्द्रलाल सुमनको नेतृत्वमा जाँचबुझ आयोग गठन गरेको थियो। आयोगमा नेपाल वायुसेवा निगमका क्याप्टेन दीपु ज्वारचन, निगमकै कर्मचारी सञ्जय अधिकारी, पुल्चोक इन्जिनियरिङ क्याम्पसका सुदीप भट्टराई र क्यानका एयर ट्राफिक कन्ट्रोलर मुकेश डंगोल सदस्य थिए।