नेपालमा रुद्राक्षको महत्त्व सदियौंदेखि धार्मिक र आध्यात्मिक क्षेत्रमा रहँदै आएको छ। तर, हालैका वर्षमा यसको व्यावसायिक सम्भावना पनि खुल्दै गएको छ। विशेषगरी खादाको विकल्पको रूपमा रुद्राक्षको मालालाई प्रोत्साहन अभियान र यसको निर्यातबाट देशले विदेशी मुद्रा आर्जन गर्ने सम्भावनाले रुद्राक्ष क्षेत्रमा नयाँ उत्साह थपेको छ।
विभिन्न सभा–समारोह तथा कार्यक्रममा खादा प्रयोग बढ्दै गएको छ। यसले वातावरणीय असर र फोहोर व्यवस्थापनको चुनौती पनि बढाएको छ। यो अवस्था देखिरहँदा रुद्राक्षलाई खादाको विकल्पको रूपमा प्रयोग गर्न सकिने अवधारणा आएको हो। हामी करिब–करिब पाँच वर्षदेखि खादाको विकल्पमा रुद्राक्ष प्रयोग गर्न सकिन्छ भनेर पहल गरिरहेका छौं।
रुद्राक्षलाई भगवान् शिवको आँसु मानिन्छ। यसमा दैवीशक्ति रहेको जनविश्वास छ। यसलाई धारण गर्दा सुख, शान्ति र सकारात्मक ऊर्जा मिल्ने धार्मिक मान्यता छ। खादालाई कार्यक्रमपछि फोहोरको रूपमा फ्याँकिने प्रवृत्ति धेरै देखिन्छ। जबकि रुद्राक्षको मालालाई सम्मानपूर्वक राख्ने, पूजाकोठामा सजाउने वा व्यक्तिगत रूपमा धारण गर्ने गरिन्छ। यसले रुद्राक्षको दिगो प्रयोगलाई प्रोत्साहन गर्छ।

खादाको उत्पादन र उपभोगले वातावरणमा नकारात्मक असर पार्छ भने रुद्राक्ष प्राकृतिक वस्तु भएकाले यसले वातावरणमा कुनै क्षति पुर्याउँदैन। रुद्राक्षलाई मान्छेले सजाएर राख्ने गर्छन्। यसले वातावरण फोहोर हुन पाउँदैन।
यति मात्रै नभई खादाको तुलनामा रुद्राक्षको माला स्वाभाविक रूपमा सस्तो पर्न जान्छ। साधारण रुद्राक्षको माला २० रुपैयाँदेखि सुरु भई आवश्यकताअनुसार सयौं रुपैयाँसम्ममा खरिद गर्न सकिन्छ। यो सस्तो हुनुका साथै धार्मिक वस्तु पनि हो। खादाको उत्पादन र उपभोगले वातावरणमा नकारात्मक असर पार्छ भने रुद्राक्ष प्राकृतिक वस्तु भएकाले यसले वातावरणमा कुनै क्षति पुर्याउँदैन। रुद्राक्षलाई मान्छेले सजाएर राख्ने गर्छन्। यसले वातावरण फोहोर हुन पाउँदैन।
हामीले खादाको विकल्पमा रुद्राक्ष प्रयोगको अवधारणालाई बजारमा स्थापित गर्न धेरै मिहिनेत गरेका छौं। करिब तीन वर्षअघि विभिन्न जिल्लाका उद्योग वाणिज्य संघ, कार्यक्रम र व्यक्तिलाई रुद्राक्षको माला उपहारस्वरूप वितरण गरेका थियौं। यस्तो कार्यले रुद्राक्ष प्रयोगबारे देशव्यापी चर्चा फैलाउन मद्दत पुर्याएको छ। खादाको विकल्पका रूपमा रुद्राक्षलाई स्थापित गर्न लगभग सफलता मिलेको छ। तर, अझै सोचेअनुसार सफलता भने पाउन सकेका छैनौं।
नेपालमा रुद्राक्षको उत्पादन उल्लेखनीय रूपमा भइरहेको छ। हाल वार्षिक करिब ३० लाख केजीभन्दा बढी रुद्राक्ष उत्पादन हुने संघको अनुमान छ। रुद्राक्षको बजार वा कारोबार मुख्य गरी दुई किसिमको छ। एउटा, मुखी रुद्राक्ष र अर्को केजीमार्फत बिक्री हुने रुद्राक्ष।
मुखी रुद्राक्षको कारोबारमा गोटाको आधारमा बिक्रि हुन्छ। यस्ता रुद्राक्ष प्रतिगोटा बिक्री हुन्छन्। रुद्राक्ष मुखको आधारमा रुद्राक्षको मूल्य निर्धारण हुन्छ। उदाहरणका लागि, एकमुखी रुद्राक्षको प्रतिगोटाको मूल्य १०–१५ हजारदेखि २०–२५ लाख रुपैयाँसम्म पर्न सक्छ। यसको आकृति र बनावटमा निर्भर गर्छ। दुईमुखी रुद्राक्षको मूल्य ४–५ हजारदेखि ५० हजारसम्म पर्छ। यस्तै, तीनमुखी रुद्राक्षको मूल्य २५–३० रुपैयाँदेखि ५–७ वा १ हजार रुपैयाँसम्म पर्छ।
मुखी रुद्राक्षको तुलनामा केजीमा बिक्री हुने रुद्राक्षको मूल्य केही सस्तो पर्छ। केजीमा बिक्री हुने चार, पाँच र ६ मुखे रुद्राक्ष हुन्। यी रुद्राक्ष प्रतिकिलोग्राम हिसाबले बिक्री हुन्छन्। यिनको मूल्य २० रुपैयाँ प्रतिकेजीदेखि साढे एक लाख रुपैयाँ प्रतिकेजीसम्म पर्न सक्छ, जुन आकार र गुणस्तरमा निर्भर हुन्छ। सातमुखीभन्दा माथिका रुद्राक्ष भने प्रतिगोटा बिक्री हुने गरेका छन्।
नेपालमा हालसम्म ३२–३३ मुखीसम्मका रुद्राक्ष फलेको प्रमाण छ। यी रुद्राक्ष दुर्लभ मानिन्छन्। सामान्यतया २५–२७ मुखीका रुद्राक्ष नियमित रूपमा नेपालमा फल्छन्। सबैभन्दा उच्च मूल्य पर्ने र छिटो बिक्री हुने रुद्राक्ष २१ मुखी हो, जसलाई साक्षात् शिवको स्वरुप मानिन्छ। यसको मूल्य ५–७ लाखदेखि ३०–३५ लाख रुपैयाँसम्म बिक्री हुने गरेको छ।
नेपालमा उत्पादित रुद्राक्षमध्ये लगभग ८५ प्रतिशत बढी निर्यात हुने गरेको छ। यसको मुख्य बजार भारत र चीन हुन्। चीनमा चार, पाँच र ६ मुखीलगायत गुणस्तरीय रुद्राक्ष बढी निर्यात हुन्छन्। युरोप र अमेरिकामा पनि रुद्राक्ष निर्यात हुन्छ। हाल विद्युतीय प्रणाली (अनलाइन) कारोबारले रुद्राक्षको बजारीकरणमा थप सहज भएको छ।
पहिले रुद्राक्ष निर्यात गर्दा भन्सारमा न्यूनतम शुल्क लाग्ने गरेको थियो। यसको स्पष्ट वस्तु कोड नहुँदा समस्या थियो। तर, आगामी आर्थिक वर्ष २०८२/८३ को बजेटमार्फत रुद्राक्षलाई कृषि उपजसरह पूर्ण कर छुट गरिने प्रवाधान सरकारले ल्याएको छ। यसले रुद्राक्ष निर्यात थप सहज हुने देखिन्छ।
साथै, सरकारले रुद्राक्षको छुट्टै वस्तु भन्सार महसुल कोड (एचएस कोड) १४०४–९०–५० कायम गरिदिएको छ। अबका दिनमा रुद्राक्ष कारोबारमा बैंकिङ कारोबार, ऋण कारोबार र अन्य सरकारी सेवा प्राप्त गर्न सहज हुने वातावरण सिर्जना भएको छ। यसअघि रुद्राक्षलाई ‘पूजा सामग्री’ अन्तर्गत राखिएकाले बैंकिङ कारोबारमा कानुनी जटिलता थिए। यो प्रावधानले रुद्राक्ष कारोबार पुष्टि गर्न कठिन हुने छैन। सरकारको यस नयाँ व्यवस्थाले किसान र व्यवसायी दुवैलाई ठूलो राहत मिल्ने अपेक्षा गरेका छौं।
देशभरको करिब ४५ जिल्लामा रुद्राक्ष खेती हुन्छ। रुद्राक्ष उत्पादनको विशेषगरी भोजपुर, सुनसरी, संखुवासभा र धनकुटामा हुन्छ। देशभरको कुल उत्पादनमध्ये यी चार जिल्लाको उत्पादन योगदान ७० देखि ७५ प्रतिशत छ। यी जिल्लामध्ये भोजपुरको दिङ्लामा रुद्राक्षको वन नै छ।
कोसी प्रदेशका प्रायः सबै जिल्ला, बागमतीका ४–५ जिल्ला र गण्डकी, लुम्बिनी तथा तराई क्षेत्रका केही जिल्लामा पनि रुद्राक्ष उत्पादन भइरहेको छ। झापा, सुनसरी, मोरङजस्ता तराईका जिल्लामा समेत यसको उत्पादन हुने गरेको छ।
नेपालमा करिब ८ देखि १० लाख रुद्राक्षका रुख हुन सक्ने अनुमान लगाउन सकिन्छ। एउटा रुद्राक्षको बिरुवाले रोपेको चारदेखि पाँच वर्षभित्र फल दिन थाल्छ। यसको आयु सयौं वर्षसम्मको हुन्छ। रुद्राक्षका रुखलाई पहिरो वा बुढ्यौलीले खासै असर नगर्ने देखिएको छ। यद्यपि उत्पादनमा भने केही तलमाथि हुन सक्छ।
रुद्राक्ष उत्पादनको सम्भावना धेरै भए पनि किसानले केही चुनौती सामना गरिरहेका छन्। विशेषगरी सामान्य गुणस्तरका रुद्राक्ष, जसको मात्रा कुल उत्पादनको करिब ५० प्रतिशत हुन्छ। उनीहरूले उचित मूल्य पाउँदैनन्। दक्ष जनशक्ति अभावका कारण यी रुद्राक्षबाट मूल्य अभिवृद्धि वस्तु बनाउन नसक्दा किसानले न्यून मूल्यमा बेच्न बाध्य छन्।
टिप्ने, सफा गर्ने र बजारसम्म पु¥याउने खर्चले कतिपय अवस्थामा किसानले घाटासमेत बेहोरिरहेका छन्। रुद्राक्ष क्षेत्रका अधिकांश व्यवसायी आफैं किसान हुन्। रुद्राक्षको खेती, व्यापारमा ज्ञान र विशेषज्ञता आवश्यक पर्छ। पुख्र्यौली पेसाको भएकाले हामी यो विषयमा दक्ष छौं।
नेपालमा रुद्राक्षको वार्षिक कारोबार करिब साढे ३ अर्ब रुपैयाँ हाराहारी छ। यो कारोबार आन्तरिक र बाह्य दुवै हो। यस क्षेत्रमा लाखौं किसान र हजारौं व्यवसायी संलग्न छन्। रुद्राक्षले दसौं हजारलाई रोजगारी दिएको छ। रुद्राक्ष क्षेत्रमा अझै ठूलो सम्भावना छ। यसका लागि न्यून गुणस्तरका रुद्राक्षमा मूल्य अभिवृद्धि गर्नुपर्ने हुन्छ।
हामीले हालसम्म रुद्राक्षबाट करिब १५ देखि २० प्रकारका सामग्री तयार गर्न सकेका छौं। पूजा सामग्रीका रुपमा माला, घटीलगायत बन्ने गरेको छ। यस्तै, सजावटी सामग्रीका रुपमा झुम्मर, क्राफ्टजस्ता सामग्री तयारी गर्छौं। स्वास्थ्यवद्र्धक तयारी वस्तुका रुपमा गाडीको सिट कभर बनाइन्छ। यसले अर्थोपेडिक लाभ मद्दत पुग्ने विश्वास गरिन्छ। चाँदी तथा सुनमा राखेर गरगहनाका रूपमा प्रयोग गरिन्छ। यसका साथै किरिङ, शिवलिंग, टोपीलगायतका सामग्री तयार पार्छौं।
रुद्राक्षबाट यस्ता सामग्री उत्पादन गर्न दक्ष जनशक्ति अभाव छ। यसका लागि सरकारबाट सीपमूलक तालिम सञ्चालन गर्नुपर्ने आवश्यक देखिन्छ। यदि रुद्राक्ष उत्पादन हुने जिल्लामा १० देखि २० जना सीपमूलक तालिम दिन सके किसानले आफैं मूल्य अभिवृद्धि गर्न सक्छन्। रुद्राक्ष उत्पादन लागतको १० गुणासम्म मूल्य बढाउन सक्छन्।
सरकारले आगामी आर्थिक वर्ष २०८२/८३ को बजेटमार्फत रुद्राक्ष क्षेत्रका केही विषयलाई सम्बोधन गरेको छ। आगामी वर्षदेखि रुद्राक्ष कारोबारमा मोहकर छुट दिए वस्तु कोडको व्यवस्था गरेको छ। यस्ता खाले व्यवस्थाले रुद्राक्षको बैंकिङ सुविधामा पहुँच पुग्ने अपेक्षा छ। यद्यपि, रुद्राक्षलाई पूर्ण रूपमा कृषि कानुनअन्तर्गत समायोजन गर्नुपर्ने प्रमुख एजेन्डा अझै बाँकी छ। यसका लागि रुद्राक्ष उत्पादक तथा व्यवसायी संघले प्रधानमन्त्री, उद्योगमन्त्री, कृषि, अर्थ मन्त्रालयलगायतका सरोकारवालासँग निरन्तर लबिइङ गरिरहेका छौं।
सरकारले रुद्राक्षलाई कृषि उपजसरह मान्यता नदिएकाले ढुवानीमा अनावश्यक प्रशासनिक झमेला अझै छ। नेपालमा रुद्राक्षको उत्पादन, धार्मिक महत्त्व र निर्यात सम्भावना छ।
खादाको विकल्पको रूपमा यसको प्रयोगलाई बढावा दिनु, मूल्य अभिवृद्धि गर्ने कार्यमा लगानी गर्नुपर्ने देखिन्छ। सरकारले हालै गरेका नीतिगत सुधारले यस क्षेत्रमा सकारात्मक प्रभाव पार्ने अपेक्षा गरेका छौं। यदि रुद्राक्षलाई पूर्ण रूपमा कृषि उपजको रूपमा स्थापित गर्न सकिए नेपालको अर्थतन्त्रमा ठूलो योगदान पुग्नेछ। रुद्राक्षले ग्रामीण क्षेत्रमा रोजगारी सिर्जना गर्ने सम्भावना बोकेको छ।