काठमाडाैं। रूपन्देही जिल्लामा संघीय आयोजनाको पुँजीगत खर्च कार्यान्वयन र राजस्व संकलनमा सुधार आएको छ। कोष तथा लेखा नियन्त्रकको कार्यालय (कोलेनिका) रुपन्देहीले सार्वजनिक गरेको तथ्यांकअनुसार विगतको तुलनामा जिल्लामा पुँजीगत बजेटको खर्च र राजस्व संकलनमा गुणात्मक सुधार भएको हो।
सो तथ्यांकअनुसार जिल्लाका संघीय कार्यालयहरूको गत आर्थिक वर्ष २०८१/८२ को वित्तिय अवस्था सन्तोषजनक देखिएको छ। गत आवमा रूपन्देहीबाट एक खर्ब २० अर्ब बढी राजस्व संकलन गरिएको छ। जुन अघिल्लो आवको तुलनामा १५ दशमलव १६ प्रतिशतले बढी हो।
भैरहवा भन्सार कार्यालयले मात्र रु ९५ अर्ब १९ करोड बराबरको राजस्व संकलन गरी कूल योगदानको ७८ दशमलव ८५ प्रतिशत हिस्सा ओगटेको छ। यससँगै आन्तरिक राजस्व कार्यालय भैरहवा र बुटवलले क्रमशः १२ अर्ब ९८ करोड र ११ अर्ब ६३ करोड राजस्व संकलन गरेका छन्।
अघिल्लो आव २०८०/८१ मा जम्मा ३० अर्ब ५१ करोड मात्र पुँजीगत खर्च गरिएकामा गत आवमा ८१ अर्ब ७० करोड नाघेको छ। अघिल्लो आवको तुलनामा गत आवमा १६७ दशमलव ७९ प्रतिशतले सुधार भएको हो।
कोलेनिकाले संघीय कार्यालयहरुको गत आवको वित्तीय अवस्था, बजेट तथा खर्चको अवस्था, पुँजीगत रकमका आधारमा भएको खर्चको अवस्था, वित्तीय हस्तान्तरणको तुलनात्मक विवरण र राजस्व संकलनको अवस्थालगायतका शीर्षकमा तुलनात्मक तथ्यांक सार्वजनिक गरेको थियो।
संघीय संरचनामा पुँजीगत बजेट समयमै खर्च गर्नेतर्फ विकासे कार्यालयहरूले यसपटक विशेष तदारुकता देखाएको पाइएको छ। सडक, खानेपानी, अन्तरराष्ट्रिय सभाहल निर्माण र भूगर्भीय सिँचाइलगायतका ठूला पूर्वाधार योजनाहरुले उल्लेखनीय प्रगति हासिल गर्न थालेको विवरणमा उल्लेख छ।