काठमाडौं। नेपाल आयल निगमले गुह्येश्वरीस्थित नेपाली सेनाको गल्फ कोर्स रहेको स्थानमा बनाउन लागेको हवाई इन्धन डिपो ६ अर्ब ५४ करोड २९ लाख ५ हजार ५७ रुपैयाँ २० पैसामा बन्ने भएको छ। २०८४ मंसिरभित्रमा निर्माण सम्पन्न हुने डिपोको विस्तृत परियोजना (डिपिआर) तयार भएको हो।
हवाई इन्धन डिपो सिनामंगलका कार्यालय प्रमुख प्रदीपकुमार यादवले ०८४ मंसिरभित्रै निर्माण सम्पन्न गर्ने गरी प्रतिवेदन तयार भएको बताए। निगमको साविकमा रहेको सिनामंगलस्थित हवाई इन्धन डिपोले मन्त्रीपरिषद्को मिति २०८१ साउन २८ को स्थानान्तरण गर्ने निर्णयअनुसार गुह्येश्वरीस्थित नेपाली सेनाको गल्फ कोर्स भएको स्थानमा सार्नका लागि विस्तृत परियोजना प्रतिवेदन तयार पारेको हो।
डिपिआर तयार पार्नको लागि त्रिभुवन विश्वविद्यालय ईन्जिनियरिङ्ग अध्ययन संस्थान (कन्सल्टेन्सी सेवा) पुल्चोकसँग २०८१ मंसिर ५ गते निगमको सम्झौता भएको थियो। डिपिआर प्रतिवेदन बुझ्दै कार्यालय प्रमुख यादवले प्रस्तावित निर्माण हुने डिपो अत्याधुनिक तथा पूर्ण रुपमा स्वचालित एल३ लेभल अटोमेशनयुक्त हुने बताए।
हवाई इन्धन डिपो सिनामंगलका कार्यालय प्रमुख प्रदीपकुमार यादवले ०८४ मंसिरभित्रै निर्माण सम्पन्न गर्ने गरी प्रतिवेदन तयार भएको बताए।
डिपोमा इन्धन भण्डारणको लागि हाल ३००० किलोलिटरका ५ वटा भर्टिकल ट्याक्की निर्माण हुने र भविष्यमा भण्डारण क्षमता बढाउनको लागि समेत खाली स्थान निर्माण हुनेछ। इन्धन लोडिङ र अनलोडिङका लागि क्रमशः ६ र ८ वटा बेहरु निर्माण हुनेछ। अन्तरराष्ट्रिय उडानका जहाजमा इन्धन भर्नको लागि ७ पिट ह्याण्ड्रान्ट रिफुलिङ सिस्टम तथा २ वटा रिफुलिङ डिस्पेन्सर पनि रहने छन्।
डिपोमा अग्निसुरक्षाको लागि २ हजार १०० किलोलिटर क्षमताका २ वटा स्थिर पानी ट्याङ्की र पूर्णस्वचालित फायर फाइटिङ सिस्टमसमेत जडान हुनेछ। प्रस्तावित निर्माण हुने डिपोमा प्रशासनिक भवन, प्रयोगशाला भवन, मर्मत सम्भार यार्डलगायत डिपोको सुरक्षार्थ खटिने नेपाली सेनाको लागि अलग्गै भवनको समेत व्यवस्था रहने छ। अन्तरराष्ट्रियस्तरका मापदण्ड एपीआई, ओआइएसडीको पूर्ण रुपमा पालना गर्नेछ।
हाल निगमले डिपो निर्माण गर्ने स्थानमा जग्गा चार किल्ला छुट्याइ नागरिक उड्डयन प्राधिकरणले साइट क्लिरेन्सको काम अगाडि बढाएको छ। निगमले यो विस्तृत परियोजना प्रतिवेदन अध्ययन पश्चात् चालू आव २०८२/०८३ मा बजेट विनियोजन गरी भदौ महिनामा सार्वजनिक खरिद ऐन तथा नियमावलीअनुसार आईसीबी बोलपत्र आह्वान गर्ने र २ महिनाभित्रमा बोलपत्र मूल्यांकनलगायतका प्रक्रिया टुंग्याइ सो आवको मंसिर महिनामा निर्माण कार्य सुरु गरी दुई वर्षभित्रमा निर्माण सम्पन्न गरी डिपो सञ्चालन गर्ने निगमको योजना रहेको जनाएको छ।