काठमाडौं। समस्याग्रस्त कर्णाली डेभलपमेन्ट बैंकको झण्डै सवा तीन अर्ब रुपैयाँ बढी आर्थिक अनियमितत भएको पाइएको छ।
प्रहरीको केन्द्रीय अन्सन्धन ब्यूरो (सिआइबी)ले तीन अर्ब २० करोड रुपैयाँ हिनामिना भएको निष्कर्ष निकाल्दै १११ जनाविरुद्ध मुद्दा चलाउन सरकारी वकिलको कार्यालयलाई प्रतिवेदन बुझाएको छ।
करिब सात महिनादेखि नेपाल राष्ट्र बैंकको टोलीसँगै सिआइबीसमेत कर्णाली डेभलपमेन्ट बैंकको केन्द्रीय कार्यालय नेपालगञ्जमा गएर अनुसन्धान गरिरहेको थियो। राष्ट्र बैंकले पुस १० गते कर्णालीलाई समस्याग्रस्त घोषणा गरेर व्यवस्थापन आफ्नो नियन्त्रणमा लिएको छ।
राष्ट्र बैंकको टोलीसँग कर्णाली डेभलपमेन्टको आर्थिक अनियमितताबारे अनुसन्धान गरिरहेको सिआइबीको टोलीले १११ जनाविरुद्ध मुद्दा चलाउनुपर्ने निष्कर्षसहित सरकारी वकिलको कार्यालयमा प्रतिवेदन बुझाएको वरिष्ठ प्रहरी निरीक्षक (एसएसपी) होविन्द्र बोगटीले बताए।
‘१११ जनाले तीन अर्ब २० करोड रुपैयाँ हिनामिना गरेको अहिले अनुसन्धानमा देखिएको छ। जसमा तीन जनाको मृत्यु भइसकेको, चार जना प्रहरी हिारासतमा र १०४ जना फरार छन्,’ एसएसपी बोगटीले क्यापिटल नेपालसँग भने, ‘अनुसन्धान रिपोट हिजो नै विषेश सरकारी वकिलको कार्यालय बुझाएका छौँ। थप अनुसन्धानमा राष्ट्र बैंकको निरीक्षणमा संलग्नलगायत अन्य कर्मचारीमाथि पनि गर्नुपर्ने देखिएको छ।’
हाल सिआइबीले राष्ट्र बैंकका पूर्वसहायक निर्देशक जो कर्णाली डेभलपमेन्ट बैंकको निरीक्षण टोली नेता थिए। उनलाई गत साता पक्राउ गरिसकेको छ। राष्ट्र बैंकका अन्य पदाधिकारीको जिम्मेवारी र उनीहरुले कर्णालीको गल्ती ढाकछोपका सहयोग पुग्ने कार्य गरेको अकांशमा थप अनुसन्धानमा गरिएको बोगटीको भनाइ छ।