काठमाडौं। पुललाई विकासको संवाहकको रुपमा लिइन्छ। सडक यात्राका लागि होस् या मानिस ओहोदोहरका लागि किन नहोस् पुलको भूमिका ठूलो हुन्छ। यसैले सरकारले हरेक वर्ष पुल निर्माणमा प्राथमिकता राख्दै बजेट विनियोजन गरेको हुन्छ। तर, जति लक्ष्य हो, त्योअनुसारको पुल संख्यात्मक रुपमा निर्माण सम्पन्न हुन सकेको हुँदैन।
गत आर्थिक वर्ष २०८१/८२ मा १५० वटा पुल निर्माण गर्ने लक्ष्य राखिए पनि १०९ वटा मात्रै पुल सम्पन्न भएको पाइएको छ। प्रारम्भिक तथ्यांकअनुसार ४१ वटा पुल निर्माणको काम अधुरै रहेको छ।
सडक विभागका अनुसार १५० वटाको लक्ष्य भए पनि हालसम्म करिब १०९ वटा पुल सम्पन्न भएको हो। बाँकी रहेका ४१ वटा पुल निर्माण सम्पन्न हुन नसक्नु विभिन्न कारणहरू रहेको विभागका प्रवक्ता तथा उप-महानिर्देशक इन्जिनियर प्रभात कुमार झाले बताए।

‘समस्या पुलअनुसार फरक-फरक छन्। एउटै कारणले गर्दा सबै पुलको काम रोकिएको छैन। कतिपय पुलमा बजेट अभावका कारण काम अगाडि बढ्न नसकेको हो। निर्माणका क्रममा आएका प्राविधिक जटिलताले पनि काममा ढिलाइ भएको देखिन्छ,’ उनले भने, ‘ठेकेदारको लापरबाही, क्षमता अभाव वा अन्य समस्याका कारण पनि केही पुल अधुरा रहेका छन्। किन सम्पन्न हुन सकेनन्। कारण पहिल्याउँदै छौँ। केही समय लाग्छ।’
निर्माण व्यवसायी महासंघ नेपालका अध्यक्ष रवि सिंहका अनुसार पुल निर्माण सुरु गर्नुअघि जमिनमुनिको विस्तृत अध्ययन नगरिँदा काम समस्याहरू आउने गरेका छन्।
उनले केही स्थानमा पुल निर्माण भए पनि पहुँच मार्ग (एप्रोच रोड)का लागि जग्गा प्राप्त नहुँदा सवारी साधन सञ्चालनमा आउन नसकेको उल्लेख गरे। हालसम्म सम्पन्न भएका पुलको खर्च र बाँकी रहेका पुलहरूको खर्च विवरण संकलन भइरहेका झाले बताएका छन्। ‘कहाँ-कहाँ पुल बन्न सकेनन् भन्ने विस्तृत विवरण पनि १० देखि १५ दिनभित्र उपलब्ध गराउन सकिन्छ,’ उनले भने।

लक्ष्यअनुसार पुलको निमार्ण हुन नसक्नुमा एकीकृत नीतिको कमी, बजेटको सुनिश्चितता नहुनु, निर्माण सामग्रीको सहज उपलब्धता हुन नसक्नु र राजनीतिक तथा स्थानीय हस्तक्षेपलगायत कारण देखिएको छ। निर्माण व्यवसायी महासंघ नेपालका अध्यक्ष रवि सिंहका अनुसार पुल निर्माण सुरु गर्नुअघि जमिनमुनिको विस्तृत अध्ययन नगरिँदा काम समस्याहरू आउने गरेका छन्।
हाल ग्लोबल वार्मिङका कारण खोलाको सतहमा अत्यधिक उतार-चढाव आइरहेको देखिन्छ। खोलाको गहिराइ बढ्ने वा घट्ने, वाटर टेबलमा अप्रत्याशित परिवर्तन आउने जस्ता समस्याले डिजाइनमा त्रुटि ल्याउने र कामको क्रममा पुनः डिजाइन गर्नुपर्ने अवस्था सिर्जना हुने गरेको अध्यक्ष सिंह बताउँछन्।
‘सोलुमा एउटा पुलको डिजाइन गर्दाको वाटर टेबल र निर्माणको समयमा वाटर टेबलमा ठूलो भिन्नता आएर ६ मिटर गहिराइ घटेको पाइएको थियो,’ उनले भने, ‘यसले गर्दा पुनः डिजाइन गर्नुपर्ने बाध्यता आइपरेको थियो।’
निमार्णका लागि बजेटको सुनिश्चितता नहुनु पनि पुल निर्माणमा ढिलाइको अर्को प्रमुख कारण देखिन्छ। कतिपय ठेकेदारले बजेटको अनिश्चितताका कारण काम सम्पन्न गर्न जोखिम उठाउन नसकेको पाइएको छ। सम्पन्न भइसकेका कामको पनि भुक्तानी नहुँदा ठेकेदारहरूले काम सम्पन्न भएको अभिलेखमा नदेखाउने प्रवृत्तिले गर्दा लक्ष्य प्राप्तिमा कमी देखिएको हुन सक्ने सिंहको तर्क छ।

‘ढुङ्गा, गिट्टी जस्ता निर्माण सामग्रीको उत्खननमा ढिलाइ र अवरोध हुनु पनि निर्माणमा ढिलाइको प्रमुख कारक हो,’ उनले भने, ‘प्रायः ठेक्का सम्झौता भएपछि ढुङ्गा, गिट्टी उत्खननका लागि चैत-वैशाखतिर मात्र अनुमति दिइने हुँदा काममा ढिलाइ हुने गरेको छ।’
यी समस्याको समाधानका लागि एकीकृत नीति, बजेटको सुनिश्चितता, निर्माण सामग्रीको सहज उपलब्धता र राजनीतिक हस्तक्षेपमुक्त वातावरण बनाउनु पर्ने सिंह सुझाउँछन्।
यसका साथै स्थानीय निकायहरूले उत्खननको टेन्डर गराउनमा ढिलाइ गर्ने वा उनीहरूको स्वार्थ बाझिँदा समस्या आउने गरेको पनि तर्क राखे। राष्ट्रिय निकुञ्ज क्षेत्रमा पनि स्पष्ट नीति नहुँदा निर्माण सामग्रीको उत्खननमा जटिलता देखिएको छ। वन क्षेत्रबाट उत्खननका लागि अनुमति लिन अत्यन्तै गाह्रो हुने गरेको छ। ‘मौलाकालिकाको वनबाट अनुमति लिन ६ महिना लागेकोमा कालीगण्डकी करिडोरले तीन वर्षसम्म पनि अनुमति पाउन सकेको छैन,’ सिंहले भने।
पुल निर्माणको लक्ष्य शतप्रतिशत हासिल गर्न चुनौती देखिएको छ। यी समस्याको समाधानका लागि एकीकृत नीति, बजेटको सुनिश्चितता, निर्माण सामग्रीको सहज उपलब्धता र राजनीतिक हस्तक्षेपमुक्त वातावरण बनाउनु पर्ने सिंह सुझाउँछन्।
कुन वर्षमा कति बने पुल?
पछिल्लो १२ वर्षमा देशभर १ हजार ७८ पुल निर्माण सम्पन्न भएका छन्। आर्थिक वर्ष २०७०/७१ देखि २०८१/८२ सम्मको अवधिमा ती पुल निर्माण सम्पन्न भएका हुन्।

सडक विभागका अनुसार आर्थिक वर्ष २०७८/७९ मा सबैभन्दा धेरै २८२ वटा पुल बनेका छन्। त्यसैगरी, आर्थिक वर्ष २०७५/७६ मा २४३ र २०७९/८० मा २२२ पुल निर्माण सम्पन्न भएका थिए। यद्यपि, केही आर्थिक वर्षमा पुल निर्माणको संख्यामा कमी आएको पनि देखिन्छ। आर्थिक वर्ष २०७०/७१ मा ६० पुल मात्र निर्माण सम्पन्न भएका छन्।
पछिल्लो १२ वर्षको सम्पन्न पुल विवरणः
