काठमाडौं । शिखरदीप बहुउदेश्यीय सहकारी संस्थाले विभिन्न प्रकारका खाद्यान्नमा पाँच प्रतिशत छुट दिएको छ । दैनिक उपभोग्य बस्तुहरू उत्पादन गर्दै आइरहेको सहकारी संस्थाले आफ्ना उत्पादनमा यस्तो छुट अफर ल्याएको हो ।
विश्वव्यापी रूपमा फैलिरहेको कोरोना भाइरसको संक्रमणको त्रास नेपालमा पनि फैलिएको र यसबाट परेको प्रभावमा आफ्नो थोरै भएपनि योगदान प्रदान गर्न छुट दिएको संस्थाले जनाएको छ ।
सहकारीका अध्यक्ष केदारनाथ शर्माका अनुसार हाल काठमाडौं उपत्यकाका कीर्तिपुर, पाटनको मंगलबजार, बागबजार, नयाँसडक, महाराजगन्ज, कौशलटार, सल्लाघारी र सूर्यविनायक गरि ८ स्थानबाट यस्तो छुट दिइएको छ । उक्त संस्थाले सदस्य सेवा काउन्टरबाट उपभोक्तालाई दैनिक उपभोग्य बस्तुमा अधिकतम पाँच प्रतिशतसम्मको छुट दिन थालेको हो ।
सहकारीले अहिले उपकार ब्राण्डमा चामल, दाल, मैदा, चिनी, चियापत्ती, घिउ, तेल, जाम लगायतका दर्जनौ उपभोग्य बस्तु उत्पादन गर्दै आइरहेको छ ।
‘हाम्रो उद्योगमा करिब एक महिनासम्मका लागि पुग्ने खाद्यान्न सामग्री छन् । यस्तो संकटको बेलामा सरकारलाई सघाउन र नागरिकलाई अप्ठ्यारोमा साथ दिन छुटको व्यवस्था गरिएको संस्थाका अध्यक्ष शर्मा बताउँछन् । संस्थाले चलाएको यस्तो अभियानले कालोबजारी नियन्त्रणमा पनि सहयोग पु¥याउने उनको विश्वास छ ।
बजारमा अहिले दैनिक उपभोग्य बस्तुमा कालाबजारी बढ्दै गएको सन्दर्भमा शेयर सदस्य तथा अन्य उपभोक्तालाई राहत उपलब्ध गराउन यो व्यवस्था गरिएको अध्यक्ष शर्माले बताए ।