काठमाडौं। नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले मार्जिन कारोबारका लागि १२३ कम्पनीको सूची सार्वजनिक गरेको छ।
नेप्सेले मार्जिन कारोबारका लागि योग्य सूचीमा सार्वजनिक १२३ कम्पनीलाई सेयर कारोबारमा मात्रै मार्जिन लेन्डिङको सुविधा ब्रोकर कम्पनीले दिनेछन्।
मार्जिन कारोबारका लागि योग्य कम्पनीमा १९ वाणिज्य बैंक, ११ विकास बैंक, ११ फाइनान्स, १७ माइक्रोफाइनान्स, १२ जीवन बिमा, ११ निर्जीवन बिमा, १ व्यापार कम्पनी, ६ लगानी समूहका कम्पनी, २८ हाइड्रोपावर कम्पनी, २ उत्पादन तथा प्रशोधन कम्पनी, ३ होटल र २ वटा अन्य समूहका कम्पनी सूचीमा परेका छन्।
तत्काल कारोबार हुन सक्ने गरी कम्तीमा २५ लाख कित्ता सेयर सर्वसाधारणमा जारी भई नेप्सेमा सूचीकृत भएको, नेटवर्थ चुक्ता पुँजी बराबर वा सोभन्दा बढी भएको, पछिल्लो तीन वर्षमा कम्तीमा दुई वर्ष खुद नाफा भएको, प्रारम्भिक सार्वजनिक निष्कासनपछि सेयर सूचीकरण भएको कम्तीमा दुई वर्ष पूरा भएको कम्पनीमा मात्रै मार्जिन सुविधा पाइने व्यवस्था छ।