काठमाडाैं। मुस्ताङको थासाङ गाउँपालिका-२ स्थित (कोवाङ-लार्जुङ)बीच भागमा बग्ने लाङ्क्यु खोलामा जल सतह उच्च हुँदा लार्जुङ बस्तीका करिब १८ घर बाढीको उच्च जोखिममा पर्ने गरेका छन्।
धौलागिरि आइसफलको फेँदबाट बग्ने लाङ्क्यु खोलामा पानीको बाहव बढी हुँदा लार्जुङ बस्ती उच्च जोखिममा पर्ने गरेका हुन्।
यस वर्षको मनसुन सरु भएदेखि हालसम्म चार पटक उक्त बस्ती बाढीपहिरोको उच्च जोखिममा परेको हो। बर्खायाममा लाङ्क्यु ठाँडो खोलाको बाहवले लार्जुङ बस्तीलाई बर्सेनि तर्साइ रहन्छ।
गत १६ असार र साउन ७ गते लाङ्क्यु खोलाको बाहव उच्च भएपछि वर्षा हुँदा स्थानीय बाढी आउने सक्ने त्रासमा बस्ने गरेका छन्। ठाँडो खोलाको बाढीले बस्ती बगाइदिने चिन्ताले लार्जुङबासीको मनमा त्रासदी छाएको छ।
जिल्ला प्रशासन कार्यालय, सुरक्षा निकाय, जनप्रतिनिधि, थासाङ गाउँपालिकालगायतले बस्ती बचाउने उद्देश्यले मध्यरातिसम्म खोलालाई नियन्त्रणमा लिन डोजर चलाएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत विकास परियारले जानकारी दिए।
“अझै पनि लार्जुङ बस्तीको जोखिम कायम रहेकाले बुधबारदेखि खोलालाई नियन्त्रणमा लिन पालिकाले थप अग्रसरता देखाएको छ”, उनले भने।
कोवाङ-लार्जुङ बीचको लाङ्क्यु खोलामा बाढीसँगै ढुङ्गा, गिट्टी, बालुवा र ग्रेगान भरिँदै जान थालेपछि नदी उकास वृद्धि हुँदा बस्ती जोखिममा परेको परियारले बताए।