काठमाडौं। नवलपरासीको दाउन्ने सडक खण्डमा लामो समयदेखि निमार्ण हुन नसक्दा स्थानीय तथा यात्रुले सस्ती खेपिरहेका छन्। यस सडकमा पानी पर्दा चिप्लने र नपर्दा धुलोको मार स्थानीय तथा यात्रुले सास्ती खेप्न बाध्य भएका छन्।
निर्माणाधीन सडकका कारण स्थानीय बासिन्दा धुलो, धुवाँ र प्रदूषणको मारमा परेका छन्। स्थानीय मनोज चापागाईले दाउन्नेदेखि पश्चिम खण्ड (बर्दघाट खण्ड)मा वर्षायाममा हिलो र सुख्खायाममा धुलोको समस्या कायमै रहेको बताए। दाउन्नेको पूर्वी खण्ड पहिलाभन्दा राम्रो भएको र स्तरोन्नति भएको उनको भनाइ छ।
विनय खोलामा बिग्रिएको पुल अहिले सञ्चालनमा आइसकेको छ। तर, दाउन्ने सडक खण्डमा धुलो, धुँवा र प्रदूषणको सास्ती छ। पहिलेको तुलनामा सुधार भएको उनले बताए। केही ठाउँमा बाटो ढलान भइरहेको र पानी पर्ने बित्तिकै हुने जाम कम हुँदै गएको उनको भनाइ छ।
पहिलाको तुलनामा अहिले सहज महसुस भएको तर पानी परेपछि पहिरो जाने समस्या भने यथावत् रहेको उनले जानकारी दिएका छन्। ठेक्का भइसकेदेखि जति समस्या थियो, त्यसको तुलनामा पछिल्लो दुई-तीन महिनामा सडक खण्ड सहज भएको उनको भनाइ छ।

दाउन्ने सडक खण्डमा निर्माणाधीन अवस्थाका कारण वर्षायाममा सवारी साधन चिप्लिने र जाम हुने समस्या अझै पनि कायम रहेको एक स्थानीय इन्जिनियर शम्भु केसीले बताउँछन्। ‘अन्डर कन्स्ट्रक्सन’ भएकाले पानी पर्दा गाडीहरू चिप्लिएर जाम हुने समस्या पहिले धेरै रहेको जानकारी दिए। ‘अहिले त अलिअलि करेक्सन पनि गर्या छन्, अलि सहज त भएको छ’ उनले भने, ‘तर पनि पानी परेको समयमा चाहिँ अलि गाह्रै छ।’
धुलो र हिलोको समस्याबारे बोल्दै केसीले भने, ‘घाम लाग्यो भने धुलो उडिहाल्छ। किनभने धुलो धुलाम्मे सडक छ नि त दाउन्ने सेक्सन, अन्त त लगभग बनिसक्नुभएको छ।’ पानी पर्दा हिलो भएर गाडीहरू चिप्लिने र जाम लाग्ने गरेको उनले औँल्याएमा छन्। पहिले घण्टौँ जाममा पर्नुपर्ने अवस्था रहेकोमा अहिले स्थानीय तह र प्रशासनको समन्वयमा बैठक बसी सुधारको प्रयास भएको छ।
त्रिवेणी गाउँपालिकाका स्थानीय पदम बहादुर पोखरेलले विगत पाँच–सात वर्षदेखि यो समस्या भोग्दै आएको बताएका छन्। पोखरेलका अनुसार सडकको अवस्थाले व्यापार व्यवसाय सुनसान बनेको छ। ‘पहिला मान्छे आउने भनी सन्ध्या हुन्न, भिडभाड हुन्थ्यो। हाल केही व्यापार छ,’ उनले भने।

सडक निर्माण सुरु भएदेखि आफूहरूले सास्ती खेप्नुपरेको पोखरेलको भनाइ छ। उनी २०५० सालदेखि यस क्षेत्रमा बस्दै आएका छन्। पहिले यस्तो समस्या नरहेको उनी बताउँछन्। ‘२४ सै घण्टा धुलो खाएर बस्छौँ, कपडा, शरीर माटो हुन्छ। बिजोक छ,’ पोखरेलले भने। उनले सडक निर्माणको काम तीव्र गतिमा भइरहेको र यसैगरी काम भएमा अर्को वर्षमा सम्पन्न हुने आशा व्यक्त गरे। यद्यपि, उनले यसको लागि छिटोभन्दा छिटो काम सम्पन्न गर्नुपर्ने आफ्नो माग राखेका छन्।
निर्माण सुरू भएको लामो समय बित्दासमेत दाउन्ने–बुटवल सडक खण्ड फराकिलो बनाउने कार्य पूरा हुन नसक्दा नागरिकले सास्ती खेप्नुपरेको हो। पूर्व-पश्चिम राजमार्ग देशभरि पाँच वटा योजना छन्। यो योजनाअर्न्तगत कुल एक हजार २७ किलोमिटर सडक खण्ड पर्छ। जसमध्ये नारायणघाट-बुटवलमा ११३ किलोमिटर सडक खण्ड पर्छ। यसमध्ये दाउन्ने क्षेत्रको १४ किलोमिटर सडक पर्छ।
हालसम्म ८० किलोमिटर चार लेनमा कालोपत्रे भइसकेको सडक विभागअन्र्तगतको आयोजना निर्देशनालय (ए.डी.बी.)का निर्देशक चुडाराज ढकाल बताउँछन्। ‘बाँकी २० किलोमिटरमा पुलसहितका संरचना र कालोपत्रेको काम बाँकी छ,’ उनले भने, ‘दाउन्ने क्षेत्रमा ९ किलोमिटर र अन्य स्थानमा १-१.५ किलोमिटर गरी कुल ११ किलोमिटर सडक अझै अप्ठ्यारो अवस्थामा छ।’

सो खण्ड विस्तारका लागि २०७५ माघ २४ गते सम्झौता भएर २०७९ साउन २२ गते सम्पन्न गर्ने सरकारी योजना थियो। तर, निर्माण कम्पनी चाइना स्टेट कन्स्ट्रक्सन कर्पोरेसन प्रालिले काममा ढिलाइ गर्यो । यसले गर्दा चौथोपटक म्याद थप्नुपर्ने देखिएको छ।
आयोजनामा ढिलाइ हुनुका पछाडि धेरै कारण छन्। वर्षाका कारण विनयी खोलाको पुल १४ पटक भत्किनु, डाइभर्सन बग्नु, दाउन्ने क्षेत्रको जटिल भौगोलिक बनावट (जहाँ चार लेनको सट्टा तीन लेनको डिजाइन रहेको र सवारी घुमाउने ठाउँ नहुँदा एउटा सानो गाडी बिग्रिए पनि रातभर जाम हुने गरेको) लगायत रहेको ढकाल बताउँछन्।
नागरिकका गुनासा धुलो, धुँवा, पानीको अभाव, यातायातका समस्याहरू, श्रमिक तथा निर्माण सामग्रीको अभावजस्ता विषयले पनि निमार्ण कार्यमा बाधा पु¥याएको उनले उल्लेख गरे। यो आयोजनाको कुल अनुमानित लागत १७ अर्ब रुपैयाँ छ। हालसम्म करिब ६० प्रतिशत रकम अर्थात् करिब १० अर्ब रुपैयाँ खर्च भइसकेको छ।

यो सडक खण्ड निमार्णका लागि चौथो पटक म्याद थप्ने तयारी भइरहेको ढकाल बताउँछन्। ‘अब थप एक वर्षको म्याद थप गर्ने विषयमा छलफल भइरहेको छ,’ उनले भने, ‘यद्यपि, यसको अन्तिम टुंगो लागिसकेको छैन।’
भिडियो/तस्बिरः नेपाल पूर्वाधार पत्रकार समाज।


