काठमाडौं। नेपाल धितोपत्र बोर्ड (सेबोन)ले पछिल्लो समय सेयर बजार बुम भइरहेका बेला सेयर खरिद वा बिक्री गर्न उत्साहित गराउने उद्देश्यले कुनै पनि किसिमका अनधिकृत अभिव्यक्ति तथा सूचना सम्प्रेषण नगर्न सचेत गराएको छ।
बोर्डले शुक्रबार सूचना जारी गर्दै कुनै पनि सञ्चार माध्यम तथा फेसबुक, युट्युब, क्लबहाउसजस्ता सामाजिक सञ्जालमार्फत नेप्से परिसूचक तथा सूचीकृत संगठित संस्थाको सेयर मूल्य बढ्ने वा घट्ने भन्दै सेयर खरिद वा बिक्री गर्न तथा खरिद बिक्री गर्न उत्साहित गराउन अनधिकृत तवरले अन्तर्वार्ता र अभिव्यक्ति नदिन आग्रह गर्दै सचेत गराएको हो।
धितोपत्रसम्बन्धी ऐन, २०६३ ले धितोपत्र कारोबारमा प्रत्यक्ष वा अप्रत्यक्ष प्रभाव पार्न आफैंले वा अरुसँग मिली धितोपत्र किन्न वा बेच्न उत्साहित गराउन वर्जित गरेको छ।
ऐनले वर्जित गरेका यस्ता क्रियाकलापलाई धितोपत्र कारोबारसम्बन्धी कसूर गरेको मानिने भएकाले कुनै पनि सञ्चारमाध्यम तथा सामाजिक सञ्जाल वा अन्य कुनै माध्यमबाट टीकाटिप्पणी तथा सूचना सम्प्रेषण गरी निश्चित सेयर किनबेच गर्न वा नगर्न अभिप्रेरित नगर्न पनि बोर्डले सबैलाई सचेत गराएको छ।
स्वतन्त्र रुपमा सञ्चालन हुने सेयर बजार व्यवस्थालाई प्रभाव पार्ने गरी त्यस्ता काम नगर्न र गरिरहेको भए तत्काल रोक्न पनि बोर्डले सूचित गरेको छ।
बोर्डले विभिन्न सञ्चार माध्यम, फेसबुक, युट्युब, क्लबहाउसजस्ता सामाजिक सन्जालमार्फत नेप्से परिसूचक तथा सूचीकृत संगठित संस्थाको सेयरको मूल्य बढ्ने वा घट्ने भन्दै सेयर किनबेच गर्न वा नगर्न उत्साहित गराउने अनधिकृत अन्तर्वार्ता र अभिव्यक्ति दिई सेयर बजार प्रभावित पार्न खोजिएको सम्बन्धमा गुनासा तथा उजुरी आएको जनाएको छ।