काठमाडौं। बजेट आइसकेको र दुई तिहाइ बहुमत नजिकको सरकार बने पनि सेयर बजारले अझै गति लिन सकेको छैन। प्रधानमन्त्रीले संसदमा व्यक्त गरेको विवादित वक्तव्य, अर्थमन्त्रीले संसद्, सार्वजनिक लेखासमितिलगायत जनप्रतिनिधि बहस थलोमा देखाएको अशिष्ट धाकधम्कीजस्ता कारणले अर्थतन्त्रको मुख्य सूचक सेयर बजारमा पनि असर परेको ठानिएको छ।
यो साता नेप्से परिसूचक १ प्रतिशतभन्दा बढी घटेर बन्द भएको छ। गत साता २७५५.४१ विन्दुमा बन्द भएको नेप्से, यो साता १.१४ प्रतिशत अर्थात ३१.३८ अंक घटेर २७२४.०३ बिन्दुमा समेटिएको हो।
यो साता पाँच कारोबार दिनका लागि बजार खुलेको थियो। यसमध्ये एक कारोबार दिन नेप्से सामान्य अंक बढेको थियो भने चार कारोबार दिन घटेर बन्द भएको थियो।
यो साता कारोबार रकम पनि घटेको छ। गत साता दैनिक औसतमा ५ अर्ब ३८ करोड रुपैयाँको शेयर खरिदबिक्री भएको बजारमा यो साता दैनिक औसतमा ४ अर्ब ६१ करोड रुपैयाँको सेयर खरिदबिक्री भए।
गत साताको तुलनामा यो साताको दैनिक औसत कारोबार रकम १४.३८ प्रतिशत घटेको हो। त्यस्तै, यो साता नेप्सेको कुल बजार पुँजीकरण पनि १ प्रतिशतभन्दा बढी घटेको छ। गत साताको अन्तिम कारोबार दिन ४७ खर्ब १ अर्ब रुपैयाँ रहेको नेप्सेको कुल बजार पुँजीकरण यो साता ४६ अर्बले घटेर ४६ खर्ब ५४ अर्बमा सीमित भएको छ।
यो साता १३ वटै उपसमूहको परिसूचक घटेको छ। यसमध्ये व्यापार उपसमूहको परिसूचक सर्वाधिक ३.४३ प्रतिशत घटेको छ। अंकका आधारमा यो साता जीवन बिमा उपसमूहको परिसूचक सर्वाधिक २०८.६२ अंक घटेको छ। गत साता १२ हजार ६५२.०३ विन्दुमा बन्द भएको यस उपसमूहको परिसूचक यो साता १२ हजार ४४३.४१ विन्दुमा झरेको छ।
कारोबारमा आएको होटल तथा पर्यटन उपसमूहको परिसूचक यस साता सबैभन्दा कम ०.०८ अंक घटेको छ। यो साता एपोलो हाइड्रोपावरको ४७ लाख कित्ता आईपीओ नेप्सेमा सूचीकृत भएको छ भने कालिञ्चोक हाइड्रोको सेयर मूल्य सर्वाधिक ४०.७१ प्रतिशत बढेको छ।
यो साता सेन्सेटिभ इन्डेक्स ४.९० अंक, फ्लोट इन्डेक्स १.९८ अंक र सेन्सेटिभ फ्लोट इन्डेक्स १.६६ अंकले घटेको छ।