काठमाडौं। आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटमार्फत विद्युतीय सवारीसाधन (ईभी) मा मूल्यका आधारमा कर निर्धारण गर्ने व्यवस्थासँगै नेपाली अटो बजारमा मूल्य समायोजनको लहर सुरु भएको छ। नयाँ कर संरचनाको प्रभावले केही ब्रान्डका गाडीको मूल्य उल्लेख्य रूपमा बढेको छ भने केहीको घटेको छ।
यसअघि मोटर क्षमता (किलोवाट) का आधारमा लाग्दै आएको ईभीको कर सरकारले आगामी आर्थिक वर्षको बजेटमार्फत मूल्यको आधारमा लाग्ने घोषणा गरेपछि व्यवसायी मूल्य समायोजनमा उत्रिएका हुन्।
बजेट घोषणापछि विभिन्न अटो कम्पनीले नयाँ मूल्यसूची सार्वजनिक गर्न थालेका छन्। नयाँ कर प्रणालीअनुसार सवारीसाधनको मूल्यका आधारमा भन्सार तथा अन्य करको दर फरक–फरक हुने भएकाले बजारमा यसको प्रत्यक्ष प्रभाव देखिएको हो।
पहिले मोटर क्षमताका आधारमा उच्च कर लाग्दै आएकाले महँगो पर्दै आएकोमा मूल्यमा आधारित कर प्रणालीमा समेटिएपछि गाडीको मूल्य पुनः समायोजन गरिएको सांग्रिला मोटर्सको निर्देशक जय गोल्छाले बताए।
‘लिपमोटर बी १० मा १६० किलोवाटको मोटर भएकाले यसमा उच्च कर लाग्दै आएकाले महँगो परेको थियो,’ निर्देशक गोल्छाले भने, ’अहिले मूल्यको आधारमा कर लाग्ने भएपछि हामीले मूल्य समायोजन गरेको हो।’ यो मूल्यमा किलोवाटको क्षमताको मोटर ब्याट र यति राम्रो फिचर भएको गाडी पाउन मुस्किल रहेको उनको भनाइ छ।
केही कम्पनीका गाडीको मूल्य कर संरचनाबाट लाभान्वित हुँदा १६ लाख रुपैयाँसम्म घटेको छ। यसले ती ब्रान्डलाई थप प्रतिस्पर्धी बनाएको छ। अर्कोतर्फ उच्च मूल्यका प्रिमियम ईभीहरूमा करभार बढ्दा केही मोडलको मूल्य १ करोड रुपैयाँसम्म वृद्धि भएको छ।
एलआरआर मोटर्सका बिक्री विभाग प्रमुख अधिर श्रेष्ठ नयाँ कर व्यवस्थाका कारण जिलीको मूल्य वृद्धि भएको बताउँछन्। ‘सरकारले लागू गरेको नयाँ वित्तीय नीतिका कारण आयात लागतमा आएको अपरिहार्य वृद्धिलाई प्रतिविम्बित गर्दै मूल्य समायोजन गरिएको हो,’ अहिलेसम्म बीएमडब्लू, जिली, एमजी, आइकारलगायत ब्रान्डको मूल्य बढेको छ भने लिपमोटर र स्काइवेल ब्रान्डको मूल्य उल्लेख्य रुपमा घटेको छ।
कुन ब्रान्डको मूल्य कति बढ्यो?
नयाँ व्यवस्थाबाट विशेषगरी उच्च मूल्यका विद्युतीय सवारीसाधन बढी प्रभावित भएका छन्। केही प्रिमियम ब्रान्डका मोडलको मूल्य एक करोड रुपैयाँसम्म बढेको छ। उच्च मूल्यका विद्युतीय गाडीमा अब थप कर लाग्ने भएकाले तिनको बजार मूल्यमा उल्लेखनीय वृद्धि भएको हो।
मूल्यको आधारका कर निर्धारण गर्दा त्यसको सबैभन्दा धेरै असर बिएमडब्लुमा परेको देखिएको छ। बीएमडब्लू आइएक्स वानको मूल्य एकै पटक १ करोड ३० लाख रुपैयाँले वृद्धि भएको छ।
नेपालका लागि बीएमडब्लूको आधिकारिक वितरक लक्ष्मी प्रिमियम मोटर्सले बीएमडब्लूका विद्युतीय एसयूभीको मूल्य सरकारको बजेटपछि व्यापक वृद्धि भएको जनाएको छ।
यसअघि १ करोड ९९ लाख ९६ हजार मूल्य कायम गरेर बिक्री हुँदै आएको बीएमडब्लू आइएक्स वानको मूल्य १ करोड ३० लाख रुपैयाँले वृद्धि भई ३ करोड २९ लाख ९६ हजार रुपैयाँ कायम गरिएको छ। यसअघि १८० किलोवाट क्षमताको मोटर पावरमा कर लाग्दै आएको एसयूभीमा मूल्यको आधारमा कर लाग्दा मूल्यमा ठूलो उथलपुथल भएको हो।

यसैगरी नेपालका लागि जिलीको आधिकारिक वितरक एलआरआर मोटर्सले जिली इएक्स फाइभ म्याक्स र प्रोको मूल्य बढाएको छ। कम्पनीले ईएक्स फाइभ म्याक्स भेरियन्टको मूल्य ३ लाख रुपैयाँ र प्रो भेरियन्टको २ लाख रुपैयाँ बढाएको हो। नयाँ मूल्य सूचीअनुसार जिली ईएक्स फाइभ म्याक्सको मूल्य ७३ लाख र जिली ईएक्स फाइभ प्रो को मूल्य ६२ लाख रुपैयाँ पुगेको छ।
यसअघि म्याक्स भेरियन्टको ७० लाख र प्रो भेरियन्टको ५८ लाख रुपैयाँ थियो। सरकारले बजेटमार्फत विद्युतीय सवारीमा नयाँ कर प्रणाली लागू गरेसँगै मूल्य समायोजन गरिएको कम्पनीले जनाएको छ।

नेपालका लागि ओमोडा एन्ड जेकोको आधिकारिक बिक्रेता एसपीजी अटोमोबाइलले जेसिक्स टीको मूल्य बढाएको छ। कम्पनीले जे सिक्स टीको मूल्य १ लाख रुपैयाँले बढाएको छ।
कम्पनीले गत चैत ९ गते लन्च गर्दा जेसिक्स टीको आधिकारिक मूल्य ६८ लाख ९९ हजार रुपैयाँ तोकेको थियो। यद्यपि, विशेष अफरअन्तर्गत २ लाख रुपैयाँ छुट दिँदै ६६ लाख ९९ हजारमै उपलब्ध गराएको थियो। मूल्य वृद्धि भएसँगै जेसिक्स टीको नयाँ मूल्य ६९ लाख ९९ हजार रुपैयाँ पुगेको छ।
त्यसैगरी एमजीको आधिकारिक वितरक पारामाउन्ट मोटर्सले एमजी एस–६ मोडलको मूल्यवृद्धि गरेको छ। बजेटअघि ६९ लाख ९९ हजार रुपैयाँमा बिक्री हुँदै आएको यो मोडलको मूल्य नयाँ बजेटपछि २ लाख रुपैयाँले बढेको हो। कम्पनीका अनुसार नयाँ भन्सार दर र स्वच्छ पूर्वाधार लगानी शुल्क लागु भएपछि आयातित एमजी एस–६ को बजार मूल्य ७१ लाख ९९ हजार रुपैयाँ कायम गरिएको छ।
पछिल्लो समय अमेरिक डलरको भाउ उतारचढाव भएर आयात लागत बढ्दा अधिकांश बिक्रेताको ईभीको मूल्यमा प्रभाव परेको थियो। नयाँ कर संरचनाले झनै प्रभावित पर्ने देखिएको छ।
मूल्य घटेका ब्रान्ड
बजेट घोषणापछि अधिकांश आयातकर्ता कम्पनीले नयाँ मूल्यसूची सार्वजनिक गरिसकेका छन् भने केही कम्पनी अझै मूल्य पुनरवलोकन प्रक्रियामा छन्। हालसम्म धेरै ब्रान्डको मूल्य वृद्धि भइसक्यो भने दुई ब्रान्डको मूल्य भने घटेको छ। हालसम्म मूल्य घट्नेमा लिपमोटर बी१० र स्काइवेल रहेका छन्।
सरकारले बजेटमा करको प्रणाली परिवर्तन गरेपछि स्कावेल गाडीको मूल्य १६ लाख रुपैयाँसम्म घटेको छ। कम्पनीले सार्वजनिक गरेको नयाँ मूल्यसूचीअनुसार स्काइवेल ५२ किलोवाट आवर (युनिट) क्षमताको ब्याट्री भएको बीई११ भेरियन्टको मूल्य १४ लाख रुपैयाँ घटाएर ६५ लाख ९० हजार राखिएको छ। यसअघि यसको मूल्य ७९ लाख ९० हजार रुपैयाँ थियो।
यस्तै, अर्को ७२ किलोवाट आवर (युनिट) क्षमताको ब्याट्री भएको भेरियन्टको मूल्य पनि १५ लाख रुपैयाँ घटेर ७४ लाख ९० हजार रुपैयाँ कायम गरिएको छ। यसको मूल्य बजेट अगाडि ८९ लाख ९० हजार रुपैयाँ थियो।
यसैगरी अर्को लङ रेन्ज ८५.९ किलोवाट आवर (युनिट) क्षमताको ब्याट्री प्याक भएको बीई११ मूल्य १६ लाख घटेर ९९ लाख रुपैयाँ कायम भएको छ। यसअघि यसको मूल्य १ करोड १५ लाख रुपैयाँ थियो।

त्यसैगरी नेपालका लागि लीपमोटरको आधिकारिक वितरक सांग्रिला मोटर्सले आफ्नो लोकप्रिय इलेक्ट्रिक क्रसओभर एसयूभी लीपमोटर बी १० को मूल्य ५ लाख रुपैयाँले घटाएको छ। यसअघि ५९ लाख ९९ हजार रुपैयाँमा बिक्री हुँदै आएको बी १० अब ५४ लाख ९९ हजार ९९९ रुपैयाँमा उपलब्ध हुनेछ।

पहिले मोटर क्षमताका आधारमा उच्च कर लाग्दै आएकोले महँगो पर्दै आएकोमा मूल्यमा आधारित कर प्रणालीमा समेटिएपछि यसको मूल्य पुनः समायोजन गरिएको कम्पनीले जनाएको छ।