काठमाडौं। नागढुंगा–मुग्लिन सडकअन्तर्गत पश्चिम खण्डस्थित कृष्णभिर क्षेत्रमा यतिबेला सडक पुनर्निर्माणकाे कार्य भइरहेको छ।
गत वर्षको असोज ११ र १२ गते भएको भारी वर्षा पश्चात यस क्षेत्रको सडक किनार करिब ५० सेन्टिमिटर जति भासिएकाे थियाे। त्यसपछि विज्ञसहितको टोलीले अध्ययन गरेपश्चात अहिले यस क्षेत्रमा पाइलिङको काम भइरहेको छ। नदिले कटान गरेका स्थानमा पनि चेक ड्याम लगाउने काम भइरहेको छ।
नागढुंगा–मुग्लिन सडकअन्तर्गत पश्चिम खण्डका योजना प्रमुख केदारप्रसाद नेपालका अनुसार २०५७ सालमा यस क्षेत्रमा ठुलो पहिरो आए पश्चात ६/७ वर्ष लगाएर सडक विभागले बायो इन्जिनयरिङ, चेक ड्याम र विभिन्न स्ट्रक्चरहरु लगाएर पुनर्निर्माण गरेपछि खासै ठुलो समस्या देखिएको थिएन्। यद्यपि, गत असोजको बाढीले नदी तटीय कटानका कारण सडकको एक किनारामा करिब ५० सेन्टिमिटर भासिएको थियो, जसको लम्बाई ८० मिटर थियो।

‘गत वर्षको बाढीपछि विज्ञ टोली र जियोटेक इन्जिनियरहरुको अध्ययनले तत्काल सडक भत्किने वा बन्द हुने अवस्था नरहेको तर अर्को मनसुनअघि दुई चरणमा काम गर्नुपर्ने सुझाव दिएको थियो,’ उनले भने,‘सोही सुझावअनुसार अहिले पहिलो चरणमा सडक किनारमा पाइलिङको काम भइरहेको छ, यो सम्पन्न हुने चरणमा छ।’
दोस्रो चरणमा नदीबाट कटान भएका पुराना चेक ड्याम लगायतका संरचनाहरूको पुनर्निर्माण गरिनेछ। यी संरचनाहरू २०५७/५८ सालमा निर्माण गरिएका थिए। तर, गत वर्षको बाढीले क्षति पुर्याएको थियो।
पृथ्वी राजमार्गको विस्तार भइरहेपनि कृष्णभिरको संवेदनशीलतालाई मध्यनजर गर्दै विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) मा यस क्षेत्रमा कटिङ गर्ने वा विद्यमान संरचना हटाउने योजना नरहेको योजना प्रमुख नेपालको भनाइ छ। यस स्थानमा सडकको सतह मात्र सुधार गरिनेछ र दायाँबायाँ कटिङको काम मात्रै गरिने छैन।

‘हामी कृष्णभिरमा रहेको यो संवेदनशील पहिरोलाई विचार गरेर डीपीआरमा कटिङ गर्ने, भएका संरचना हटाउने भन्ने छैन,’ उनले भने, ‘यसमै हामीले यो पेभमेन्ट भन्छौं, यो सडकको जुन कालोपत्रेलाई भत्काएर यसलाई नयाँ मात्रै गर्छौं। दायाँ–बायाँ कटिङ गराउने, यसलाई छुने, चलाउने, हामी चाहिँ मुभमेन्टको काम गर्ने किसिमको केही पनि डीपीआरमा पनि छैन, हामी पनि गर्दैनौं। तर, यसलाई यो सतह मात्रै सुधार गर्छौं।’
विस्तारपछि कृष्णभिर क्षेत्रमा न्यूनतम ९ मिटर चौडा दुई लेनको सडक हुने उनले बताएका छन्। बर्खाको समय र निर्माणाधीन सडकका कारण दुर्घटना तथा पहिरोको जोखिमलाई मध्यनजर गर्दै आवश्यक तयारी गरिएको योजना प्रमुख नेपालले जानकारी दिएका छन्। निर्माणाधीन सडक खण्डको जिम्मा निर्माण व्यवसायीको रहेको छ र उनीहरूकै मातहतमा जोखिम व्यवस्थापनको काम भइरहेको छ।
गत वर्ष झ्याप्ले खोलामा दुःखद घटना घटेपनि पृथ्वी राजमार्ग एक दिन पनि बन्द नभएको उनले सुनाए। यस वर्ष पनि मनसुनको प्रकोपलाई ध्यानमा राखी निर्माण व्यवसायीसँग समन्वय गरी सुरक्षाका उपाय अपनाइएको बताएका छन्।




तस्बिरः नेपाल पूर्वाधार पत्रकार समाज।