पर्सा। वीरगञ्ज महानगरसहित पर्सामा खानेपानीको हाहाकार भएसँगै नेपाली सेनाको श्रीजंग गणले दैनिक औषतमा एक लाख लिटर खानेपानी ट्यांकरमार्फत वितरण गर्दै आइरहेको छ।
मधेस प्रदेश सरकारले पठाएको खानेपानीको ट्यांकरबाट सेनाले खानेपानी अभाव झेलेका बस्तीमा दिनको तीनपटक खानेपानी वितरण गर्दै आइरहेको छ।
श्रीजंग गणका गणपति तथा प्रमुख सेनानी लोकेन्द्र कार्कीले दैनिक ६ ट्यांकरमार्फत औषतमा एक लाख लिटर खानेपानी वितरण गर्दै आइरहेको जानकारी दिए।
‘पानीको अभाव भोगेका सर्वसाधारणलाई लक्षित गरेर दैनिक तीनपटक ट्यांकरबाट पानी वितरण गर्दै आइरहेका छौंं,’ उनले भने, ‘महानगरका विभिन्न वडा र पर्साका अन्य पालिकामा पनि पानी वितरणको काम भइरहेको छ।’
वीरगञ्ज महानगरसहित आसपासका पालिकामा देखिएको खानेपानी अभाव र संकटलाई न्यूनीकरण गर्न मधेस प्रदेश सरकार, जिल्ला विपद् व्यवस्थापन समिति, स्थानीय तह, खानेपानी संस्थान शाखा कार्यालय वीरगञ्ज र नेपाली सेनाको समन्वयमा आवश्यकता अनुसार ट्यांकरबाट पानी वितरण गर्दै हुँदै आएको छ।
पर्साका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले पानी अभाव झेलेका सर्वसाधारणलाई ट्यांकरबाट वितरण गरेको पानीले धेरै हदसम्म राहत महसुस गरेको बताए।
‘वीरगञ्ज महानगरका विभिन्न वडाबाट सर्वसाधारणले पानीको अभाव भयो भन्दै दिनरात नभनीकन फोन गर्नुहुन्छ। हामीले आवश्यकताको आधारमा ट्यांकरबाट पानी वितरण गर्दै आइरहेका छौंं।’
गत साउन १ देखि नै यहाँ खानेपानी ट्यांकरमार्फत वितरण हुँदै आएको छ। जिल्ला प्रशासन कार्यालयले गत साउन ५ देखि खानेपानीको अभाव भएका ठाउँमा तालिका नै बनाएर पानी वितरण गर्दै आइरहेको छ।
नेपाली सेनाले वीरगञ्ज महानगर–१ छपकैया, वीरगञ्ज महानगर १ गायत्री टोल, शिक्षा कार्यालय पछाडी, वीरगञ्ज महानगर वडा–११ राधेमाई, श्रीपुर, वीरगञ्ज महानगर–१४ बहुअरीचोक, वीरगञ्ज महानगर–१५ भीष्वा, राधेराधे कलोनी, वीरगञ्ज महानगर–२४ रामगढवा, महानगर–२६ सुगौली बिर्ता, हुसनजहान चोकलगायतका स्थानमा बिहान ७ बजे, दिउँसो २ बजे र साँझ ६ बजे तीन पटक ट्यांकरबाट पानी वितरण हुँदै आइरहेको छ।
त्यस्तैगरी पर्साको बहुदरमाई नगरपालिका–१ विश्रामपुर, दक्षिणटोल पनि दिनको दुई पटक १० बजे र दिउँसो ४ बजे ट्यांकरबाट खानेपानी वितरण हुँदै आइरहेको छ।
पर्साका प्रजिअ अर्यालले खानेपानीको समस्या न्यूनीकरण नहुँदासम्म ट्यांकरबाट खानेपानी वितरण कार्य जारी रहने जानकारी दिए।–रासस