काठमाडौं। नेपालमा सञ्चालित मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) परियोजनालाई निरन्तर सहयोग रहने काठमाडौंस्थित अमेरिकी दूतावासले जनाएको छ।
अन्तर्राष्ट्रिय सहयोगी संस्था यूएसएड बन्द गरे पनि एमसीसीलाई निरन्तरता दिएपछि नेपालमा यसअन्तर्गत सञ्चालित कार्यक्रम कार्यन्वयनमा जाने दूतावासले सूचना निकालेर बताएको हो।
दूतावासका प्रवक्ताका अनुसार अमेरिकी सरकारको वैदेशिक सहायता समीक्षाले एमसीसी नेपाल सम्झौताको कार्यान्वयनलाई निरन्तरता दिन सिफारिस गरेको विज्ञप्तिमा प्रस्ट पारिएको छ।
‘नेपाल सरकारलाई यस निर्णयबारे सूचित गराएका छौं,’ प्रवक्ताले भने, ‘एसीसीको वित्तीय सहयोग र नेपालको आफ्नै केही स्रोत लगानी गरी ३१५ किलोमिटर लामो विद्युत् प्रसारण लाइन र सडक सुधार काम अघि बढेको छ। एमसीसीअन्तर्गत ५५ करोड अमेरिकी डलर दिने अमेरिकाले घोषणा गरेको छ भने नेपालले १९ करोड ७० लाख अमेरिकी डलर लगानी गर्नेछ। यो योगदानले विद्युत् प्रसारण पूर्वाधार निर्माण र सडक सञ्जालको सुधार गरी समृद्धि र क्षेत्रीय ऊर्जा प्रवर्द्धनमा टेवा पुर्याउनेछन्।’
यसअघि गत असार ४ मा अमेरिकी दूतावासले विज्ञप्तिमा गत फेब्रुअरीमा अमेरिकी विदेशमन्त्री मार्को रुबियोले नेपालको एमसीसी कम्प्याक्टलाई विशेष छुट दिने प्रस्ताव स्वीकृत गरेका थिए।
अमेरिकाले आफ्नो अन्तरराष्ट्रिय सहायता समीक्षाका लागि ९० दिन एमसीसी सहायता स्थगित गर्दा नेपाललाई विशेष छुट दिन प्रस्ताव गरेको दूतावासको विज्ञप्तिमा उल्लेख छ।
सम्झौताअन्तर्गत भइरहेका काम अमेरिका र नेपाल सरकारको प्राथमिकतासँग मिल्ने सुनिश्चित गर्न, पारदर्शिता र सुशासन कायम गर्न, प्रभावकारी डेलिभरी र विवेकपूर्ण जोखिम व्यवस्थापन सुनिश्चित गर्न एमसीसीले अर्थ मन्त्रालय र एमसीए नेपालसँग निकटमा रहेर काम गरिरहेको दूतावासले जनाएको छ।
एमसीसीले आव २०२५ का लागि ९३ करोड डलर बजेट प्रस्ताव गरेकामा २०२६ का निम्ति २२ करोड ४० लागि डलर प्रस्ताव गरेको छ। नेपालले चालू आवको बजेटमा एमसीसीबाट ५ अर्ब ६८ करोड रुपैयाँ अनुदान आउने अनुमान गरेको छ। उक्त अनुदान सोझै भुक्तानी हुने बजेटमा उल्लेख छ।
गत आव २०८१/८२ मा एमसीसीबाट ९ अर्ब ९० करोड अनुदान प्राप्त हुने अनुमान सरकारले गरेको थियो।