काठमाडौं। १७ वर्षपछि नयाँ पर्यटन नीति तयार भएको छ। नेपालमा अन्तर्राष्ट्रिय चलचित्रको छायांकनका लागि अन्तर्राष्ट्रिय स्तरको स्टुडियो निर्माणदेखि ध्यान र योग पर्यटनलाई प्रोत्साहन गर्ने विषय समावेश गरी पर्यटन नीति २०८२ सार्वजनिक गरिएको छ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्रीप्रसाद पाण्डेले सोमबार पर्यटन नीति २०८२ सार्वजनिक गर्दै निजी क्षेत्रसँग सहकार्यका लागि थप बाटो खुलेको बताए।
पर्यटन नीतिमा पर्वतारोहण, पदयात्रा, जलयात्रा (जस्तै क्यानोनिङ, ह्वाइट वाटर रिभर याफ्टिङ्, जलक्रीडा, बोटिङ), स्काई डाइभिङ्, बञ्जी जम्पिङ, प्याराग्लाइडिङ्, उच्च हिमाली स्किइङ्, माउन्टेन बाइकिङ्, हाई अल्टिच्युड मोटरबाइक राइड, जिप फ्लयाएर, रक क्लाइम्बिङ, स्काइ बालक जस्ता साहसिक पर्यटकीय गतिविधि सञ्चालन गरिने उल्लेख छ।
परम्परागत तथा प्राकृतिक चिकित्सा, ध्यान, योग र आरोग्य पर्यटनको प्रवर्द्धन गर्न सम्बन्धित संघ संस्थासँग सहकार्य गरिने, धार्मिक पर्यटकीय गन्तव्यलाई परिपथको रूपमा विकास गरी पर्यटनको प्रवर्द्धन गरिने र शैक्षिक पर्यटनको प्रवर्द्धन गर्न विश्वविद्यालयको क्षमता विकास गरी अन्तर्राष्ट्रिय विद्यार्थीलाई आकर्षित गरिने उल्लेख छ।
स्वास्थ्य सेवा प्रदायक संस्थाको गुणस्तर र क्षमता वृद्धि गरी स्वास्थ्य पर्यटनको प्रवर्द्धन गरिने, मौलिक तथा रैथाने खानपानको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा प्रवर्धन गर्न प्रोत्साहन गरिने, अन्तर्राष्ट्रिय चलचित्र छायांकनका लागि अन्तर्राष्ट्रिय स्तरको स्टुडियो निर्माण गर्न प्रोत्साहित गरिने जनाएको छ।
सम्बन्धित मन्त्रालय र निकायको समन्वयनमा विदेशी पर्यटकले तिर्नुपर्ने सेवा शुल्क नेपाल राष्ट्र बैंकले तोकेका परिपत्र विदेशी मुद्रा वा नेपाली मुद्रामा लिने व्यवस्थाका साथै अनलाइन प्रणालीबाट समेत भुक्तानी गर्न सकिने व्यवस्था मिलाइने जनाएको छ।
बहुमौसमी पर्यटनको प्रवर्द्धन गर्न विभिन्न देशका पर्यटन उत्पादन र अनुभवलाई समेटेर क्षेत्रीय क्लष्टरको विकास, पर्यटनको गुणस्तरमा वृद्धि, पर्यटकीय क्रियाकलाप र उत्पादनमा विविधीकरण गरिने र नेपाललाई उत्कृष्ट गन्तव्यको रूपमा प्रस्तुत गर्न प्राकृतिक, धार्मिक, सांस्कृतिक तथा साहसिकलगायतका पर्यटकीय वस्तुको ब्रान्डिङ गरिने जनाएको छ।
सम्बन्धित मन्त्रालय र निकायको समन्वयनमा विदेशी पर्यटकले तिर्नुपर्ने सेवा शुल्क नेपाल राष्ट्र बैंकले तोकेका परिपत्र विदेशी मुद्रा वा नेपाली मुद्रामा लिने व्यवस्थाका साथै अनलाइन प्रणालीबाट समेत भुक्तानी गर्न सकिने व्यवस्था मिलाइने जनाएको छ।
पर्यटक आवागमनलाई सहज बनाउन भिसा प्रक्रियालाई सरलीकरण गर्ने र अनलाइन भिसा प्रदान गर्ने व्यवस्था मिलाइने, स्थलमार्गबाट नेपाल भित्रिने पर्यटकको आवागमन सहजीकरणका लागि प्रदेशसँगको सहकार्यमा मुख्य नाकामा एकीकृत पर्यटन सेवा केन्द्रको स्थापना र सञ्चालन गरिने भएको छ।
नेपालमा आयोजना हुने अन्तर्राष्ट्रिय खेलकुदमा भाग लिने खेलाडी तथा चलचित्रमा अभिनय गर्ने कलाकारका लागि भिसा शुल्क नलाग्ने व्यवस्था गरिएको छ। यस्तै, पर्यटन उद्योगलाई अन्य प्राथमिकता प्राप्त उद्योगसरह सेवा सुविधा उपलब्ध गराउने व्यवस्था गरिने उल्लेख छ।
(पूर्ण पाठ)