काठमाडाैं। अन्नपूर्ण हिमालको आधार शिविरसम्म पुग्न वर्षात्को समयमा पनि दैनिक पर्यटक आउने क्रम निरन्तर चलेको छ। मनसुनको याम भए पनि दैनिक ५० जनाभन्दा बढी पर्यटक अहिले पनि अन्नपूर्ण आधार शिविर आउने गरेका छन्।
छोमरोङ पर्यटन व्यवस्थापन समितिका सचिव दिलीप गुरुङका यस याममा छिटोछिटो फुल्ने र ओइलाउने बुकी फूलका साथै विभिन्न प्रजातिका फूल एवं यहाँ देखिने हरियाली र खोलानालाले यहाँ आउने जोकोहीलाई पनि लोभ्याउने गर्छ। पदयात्रा पर्यटनका क्षेत्रमा विश्वका उत्कृष्ट पदमार्गमध्येमा अन्नपूर्ण आधार शिविर जाने पदमार्गले चासो र चर्चा कमाएको छ। मनसुनका समयमा पनि पर्यटक आगमन भइरहँदा यहाँका पर्यटन व्यवसायी उत्साहित छन्।
झण्डै साढे चार दशकअघिसम्म यस क्षेत्रमा आउनुपर्दा पर्यटकले यहाँका भेडी गोठका साथै स्थानीयवासीले बनाएका चित्रा वा भकारीले बारेका झुपडीमा बस्नुपर्ने बाध्यता थियो। अहिले यहाँ बनेका सुविधा सम्पन्न होटेलका कारण त्यो बाध्यता हटिसकेको सचिव गुरुङ बताउँछन्।
केही वर्ष अघिसम्म यस पदमार्गमा पर्ने सिनुवा, बाम्बो, हिमालय, दोभान, देउराली, माछापुच्छ्रे आधार शिविर र अन्नपूर्ण आधार शिविरमा २६ होटेल सञ्चालनमा थिए। अन्नपूर्ण क्षेत्र संरक्षण आयोजना (एक्याप) द्वारा २०४३ सालदेखि संरक्षण हुँदै आएको यस क्षेत्रमा एक्यापको निर्धारित मापदण्डअनुसार यसअघि प्रत्येक होटलमा ६ का दरले एक सय ५६ कोठा थिए। तर पछिल्लो समयमा पर्यटकको बढ्दो आकर्षणलाई दृष्टिगत गर्दै यहाँ होटेल स्तरोन्नतिसँगै होटेल विस्तार गरिएका छन्।
पछिल्लो समयमा सिनुवा र यसभन्दा माथि ३४ होटेल सञ्चालनमा आइसकेका सचिव गुरुङले जानकारी दिए। होटेलको संख्या विस्तारसँगै यहाँ पर्यटक लक्षित सुविधा पनि वृद्धि गरिएको छ। पछिल्लो समयमा पदमार्ग अन्तर्गतका सिनुवामा चार, बाम्बोमा छ, हिमालयमा तीन, देभानमा पाँच, देउरालीमा पाँच, माछापुच्छ्रे आधार शिविरमा पाँच र अन्नपूर्ण आधार शिविरमा ६ होटेल सञ्चालनमा छन्।