गण्डकी। सिन्धुलीको गोलन्जोर गाउँपालिका–६ छेत्पाबाट थातथलो छाडेर सोमबार बेलुका पोखरामा भेटिएका उर्मिला हायुको परिवारका सदस्यबारे प्रहरीले अनुसन्धान सुरु गरेको छ। उर्मिलासहित उनका परिवारका १६ सदस्य पोखरा महानगरपालिका–३० गगनगौडामा भेटिएका थिए।
उनीहरू गगनगौडास्थित सोमनाथ पौडेल र चन्द्र भण्डारीको घरमा कोठा भाडामा लिएर बसेको अवस्थामा प्रहरीले फेला पारेको सिसुवा इलाका प्रहरी कार्यालयका प्रमुख श्रवण विकले जानकारी दिए। ‘हिजो आफन्त र जनप्रतिनिधिको रोहबरमा उहाँहरू जहाँ बसेको हो, त्यही रहनुुभएको छ। सामान्य सोधपुछ गरेर राखिएको छ’, उनले भने, ‘त्यहाँ कोठा खोजेर बस्नुुभएको रहेछ।’
घरमा बिरामी परिराख्ने, केटाकेटी बिरामी हुने र धामीले पनि नबस्न भनेको जनाउँदै उनीहरूले प्रारम्भिक जानकारी दिएको प्रहरी प्रमुख विकको भनाइ छ। उनीहरूबारे थप अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ।
यसअघि मध्य बर्खामा सिन्धुलीको गोलञ्जोर गाउँपालिका–६ जंगल छेउ एकान्तमा रहेको घरबाट उर्मिला हायुसहित परिवारका १६ सदस्य सम्पर्कविहीन भएको सूचना प्राप्त हुनासाथ जिल्ला प्रशासन कार्यालय र जिल्लास्थित सबै सुरक्षा निकायले दिनभर र राती अबेरसम्म खोज तलासलाई तीव्र बनाएका थिए।
त्यसक्रममा विभिन्न अड्कलबाजी गर्दै घर वरपरको जंगल, सम्भावित दुर्घटना हुन सक्ने स्थल, माइतीमावल, नातागोता र अरु आफन्तजनसँग जानकारी लिने र सम्पर्क कायम गरी बुझ्ने कार्य दिनभर भइरह्यो। परिवारका सबै घरबाट ठ्याक्कै कहिले बाहिरिए भन्नेबारे घर वरपरका कसैबाट यकिन जानकारी आउन सकेन।
साउन ६ गते खुर्काेटस्थित हिमालयन बैंकबाट सामाजिक सुरक्षाभत्ता झिकेको तथा ९ गते वडा कार्यालयमा गई सामाजिक सुरक्षा भत्ता नवीकरण गरेको सुरक्षा टोलीलाई सूचना प्राप्त भएको जनाइएको छ। त्यसलगत्तै उनीहरूको पछिल्लो पटक गत शुक्रबार साँझ ७ बजेर २८ मिनेटमा नेपाल टेलिकम रामेछापको टावरसँग मोबाइल सम्पर्क भएको सूचना सुरक्षा टोलीले प्राप्त गर्यो।
वर्षाको मौसम भएकाले विपद्मा पर्न सक्ने पाटो, विदेशबाट भर्खर छोरा आएको र सामाजिक सुरक्षाभत्ताको रकमसमेत झिकेकाले कसैको गलत दृष्टि रह्यो कि भन्ने कोणबाट पनि सुरक्षा विश्लेषण गर्दै सुरक्षा टोलीले खोजतलासलाई दिनभर तीव्र बनाएको हो।
सम्पर्कविहीन हायुको घरमा केही परिमाणमा सुँगुरको मासु फेला परेकाले छोरो विदेशबाट आएको र भत्ता बुझेको खुसीयालीमा रमाइलो गर्दै कतै घुमघाममा निस्केका वा आफन्तजन भएका ठाउँमा जानसक्ने पक्षलाई महत्त्व दिएर विश्लेषण गरिएको प्रमुख जिल्ला अधिकारी दिनेशसागर भुसालले बताए।
अनुमान गरिएजस्तै स्थानीय बलेनीबाट गाडी रिजर्भ गरी सिन्धुली, हेटौंडा, मुग्लिन हुँदै हायु परिवार पोखरा पुगेको प्रहरीको भनाइ छ। हायु परिवारलाई पोखरा पुर्याएर त्यहाँस्थित जननी होटलमा छाडेको भन्ने सवारी चालकबाट सूचना प्राप्त भएपछि जिल्ला प्रशासन र जिल्ला प्रहरीले पोखरा खबर गरेको थियो।
सोही आधारमा हायु परिवारलाई सोमबार साँझ अबेर प्रहरीले पोखरामा फेला पारेको थियो। हायु परिवार सम्पर्कविहीन भएको घटनालाई दिनभरजसो सबै सञ्चारमाध्यमले प्राथमिकताका साथ प्रचार–प्रसार गरेका थिए।
घरबाट बाहिरिँदा हायु परिवारले घरमा बाँधिएका ६ वटा बाख्रा छोडेर गएका थिए। ती पशुको अवस्था हेर्दा हायु परिवारले एक–दुई दिनअघि मात्र घर छोडेको पूर्वअनुमान गरिएको थियो।
खोजतलासका क्रममा बाख्रा र कुकुरलाई कसैको जिम्मा नलगाई किन परिवार बाहिरियो होला भन्ने प्रश्न पनि आफैंमा गम्भीर बन्न पुगेको थियो। उनीहरू खोरमा बाख्रा बाँधेर तथा कुकुर घरमा छाडेर वरपर कसैलाई पनि जानकारी नदिएर पोखरा घुम्न निस्केको घटनाले पुष्टि गरेको छ।
उर्मिला हायुका श्रीमान् पनि केही वर्षअघि बेपत्ता भएकामा जंगलमा भेटिएको अस्थिपञ्जरबाट मृत्यु भएको अनुमान गरिएको छ। सम्पर्कविहीन भएका हायु परिवारका १६ सदस्यमध्ये १६ वर्षमुनिका आठ जना थिए भने घरमुली उर्मिला ५२ वर्षकी हुन्।
अन्य सदस्य कमला, कोमल माया, उषा, सुजता, अस्मिता, राजु, हिमाल, लालबहादुर, वेगबहादुर, लक्ष्मण, सुवर्ण, ओमकुमारी, अर्जुन, रियासा र शान्ता हायुलाई पनि यकिन गरिसकेको प्रहरीले जानकारी दिएको छ।–रासस