काठमाडौं। स्वदेशमा उत्पादित आलुले नेपाललाई ११ महिना पुग्ने तथ्यांक कृषि तथा पशुपक्षी विकास मन्त्रालयले सार्वजनिक गरेको छ। नेपालमा आपूर्ति भइरहेको आलु उत्पादनको तथ्यांकले ११ महिना आलु माग धान्ने देखिएको हो।
स्वदेशको उत्पादन र आयातीत देशभर ३७ लाख टन आलु खपत भइरहेको छ। यसैलाई आधार मान्ने हो भने आलु बाह्रै महिनाका लागि भाग लगाउँदा एक महिनामा सवा ३ लाख टन (३ लाख १४ हजार टन) आउने देखिन्छ। ३७ लाख टनमध्ये ३१ देखि ३५ लाख टन आलु स्वदेशमा उत्पादन हुने गरेको छ। यो आलु करिब ११ महिना पुग्ने देखिन्छ भने बर्सेनि करिब साढे २ देखि ३ लाख टन आलु आयात भइरहेको भन्सार विभागको तथ्यांक छ।
नेपालमा पछिल्लो पाँच वर्षको तथ्यांकले बर्सेनि ६ देखि ८ अर्ब रुपैयाँ बराबरको आलु आयात भइरहेको देखिन्छ। गत आर्थिक वर्ष २०८१/८२ मा ७ अर्ब १० करोड ४२ लाख रुपैयाँको आलु आयात भएको छ। यो भनेको २लाख ८७ हजार टन आलु आयातको मूल्य हो।
नेपालमा आलुको वार्षिक उत्पादन करिब ३१ देखि ३५ लाख मेट्रिक टन रहेको र वार्षिक माग करिब ३३ देखि ३७ लाख मेट्रिक टन रहेको कृषिविज्ञले बताएका छन्। यो तथ्यांकले नेपाललाई ११ महिनाका लागि आलुमा आत्मनिर्भर बनाएको देखाउँछ। बाँकी एक महिनाका लागि मात्रै आयात गर्नुपर्ने अवस्था छ।
तरकारी बाली विकास केन्द्र प्रभावकारी योजना बनाएर आन्तरिक उत्पादनले यहाँको माग धान्न सक्ने तरकारी बाली विकास केन्द्रका बागवानी विकास अधिकृत डोलराज पाण्डेले दाबी गरे। ‘आन्तरिक उत्पादनले हामीलाई खान पुगेको छ। जम्मा खपत हुने आलुमध्ये ९० प्रतिशत आन्तरिक उत्पादन र १० प्रतिशत आयातित छ,’ उनले भने, ‘आयात हुने आलु औद्योगिक प्रयोजनका लागि हो।’
नेपालमा उत्पादित अधिकांश आलु घरेलु खपतमा प्रयोग हुन्छ। पहाडी क्षेत्रमा यो मुख्य खाद्यबाली हो भने सहरी क्षेत्रमा तरकारी र खाजाको रूपमा प्रयोग हुन्छ। औद्योगिक क्षेत्रमा भने चिप्स र फिंगर चिप्स बनाउन आलुको प्रयोग हुन्छ। बागलुङको ढोरपाटनमा उत्पादित अर्गानिक आलु भने विदेश (खाडी मुलुक) मा समेत निर्यात हुने गरेको पाण्डेले बताए। ‘घरेलु आलु चिप्स उद्योग पनि सञ्चालन छन्, जुन प्रायः पारदर्शी प्लास्टिकको प्याकेजिङमा स्थानीय बजारमा उपलब्ध छन्,’ उनले भने। यद्यपि, यी उद्योगको विस्तृत अध्ययन भने नभएको उनको भनाइ छ।
नेपालमा आयात हुने आलुको ठूलो हिस्सा प्रशोधित आलु (जस्तै, चिप्स र फिंगर चिप्स) रहेको बताइन्छ। अभाव समय कच्चा आलु पनि आयात हुने गरेको छ। होटल तथा ठूला उद्योगका लागि आवश्यक पर्ने विशेष प्रजातिका आलु नेपालमा पर्याप्त मात्रामा उत्पादन नहुनु पनि आयात भइरहेको पाण्डे बताउँछन्। नेपालमा आलुको औद्योगिक प्रयोग हुन्छ।
तर आलु चिप्स, फ्रेन्च फ्राईजस्ता प्रशोधित खाद्य पदार्थ बनाउन यसको प्रयोग हुन्छ। यी क्षेत्रमा के कति आलु खपत भइरहेको छ भन्ने यकिन तथ्यांक भने पाउन मुस्किल छ। कृषिविज्ञ राम बहादुर केसीका अनुसार उच्च पहाडी क्षेत्रमा आलु मुख्य खाद्यान्न बालीका रूपमा प्रयोग हुन्छ, जहाँ यो खानाको रूपमै खाइन्छ। अधिकांश क्षेत्रमा आलुलाई तरकारीको रूपमा प्रयोग गरिन्छ।

उत्पादन र क्षेत्रफल बढ्दो
नेपालमा आलु उत्पादन क्षेत्रफल र उत्पादन बढेको देखिन्छ। तर, यो तथ्यांक संघीयतापछिको भएकाले विश्वसनीयता नरहेको कृषि तथा मन्त्रालयका अधिकारीहरु बताउँछन्। ‘संघीयता पहिला हाम्रो तथ्यांक केन्द्र स्तरबाटै आउने गरेको थियो, तर अहिले त्यो कनेक्सन टुटेको छ,’ ती अधिकारीले भने।
कृषि मन्त्रालयले पाँच वर्षअघि (आर्थिक वर्ष २०७६/७७)मा १ लाख ८८ हजार हेक्टरमा ३१ लाख ३१ हजार टन आलु उत्पादन भइरहेकामा आर्थिक वर्ष २०८०/८१ मा २ लाख ११ हजार हेक्टरमा ३५ लाख २१ हजार टन आलु उत्पादन भएको तथ्यांक निकालेको छ। पाँच वर्षमा २३ हजार हेक्टर क्षेत्रफल बढेको छ भने ४ टन आलु उत्पादन बढेको छ।
नेपालमा आलुलाई खाद्य सुरक्षाका लागि महत्त्वपूर्ण बाली मानिन्छ। विशेषगरी उच्च पहाडी क्षेत्र, जहाँ यो मुख्य खाद्यपदार्थ रहेको कृषि विज्ञ केसी बताउँछन्। ‘सुधारिएको कृषि प्रविधि र बीउको प्रयोगले आलुको उत्पादकत्वमा वृद्धि भएको छ, जसले किसानहरूलाई थप प्रोत्साहन दिएको छ।’ उनले भने।

नेपालमा आलु उत्पादनको क्षेत्रफल र उत्पादन दुवै बढ्दै गएको छ। गत वर्ष प्रतिहेक्टर १७ टन रहेको आलुको उत्पादकत्व पछिल्लो समय १९ टन पुगेको बागवानी विकास अधिकृत पाण्डेले बताए। ‘उत्पादकत्वलाई प्रतिहेक्टर एक–दुई टनले मात्र बढाउन सके नेपाल आलुमा पूर्ण आत्मनिर्भर बन्न सक्छ,’ पाण्डेले भने।