काठमाडौं। करिब एक वर्षपछि नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले तीन हजार विन्दु पार हुँदै बन्द भएको छ। मंगलबार नेप्से ३०.७६ अंकले वृद्धि भएर ३००२ विन्दुमा बन्द भएको हो।
यसअघि २०७८ भदौमा ३२ सयको विन्दुमा पुगेर झर्न थालेको नेप्से गत वर्ष साउन ३१ गते ३ हजार दशमलव ८१ विन्दुमा पुगेको थियो। त्यसपछि गत वर्ष नेप्से २८ सय विन्दुमाथि जान सकेन।
चालु वर्षका लागि नेपाल राष्ट्र बैंकले सेयर बजारमैत्री मौद्रिक नीति जारी गरेसँगै लगानीकर्तामा उत्साह छाएको छ। राष्ट्र बैंकले सेयर धितो कर्जाको सीमा बढाएपछि लगानीकर्ताको मनोबल उच्च भएसँगै नेप्से सूचकमा सकारात्मक प्रभाव पर्न थालेको हो।
राष्ट्र बैंकले मौद्रिक नीति जारी गरेयता कारोबार समयमा नेप्से सूचकमा ३ हजार विन्दुमाथि पुगे पनि घटिरहेको थियो। मंगलबार पनि ३०२८ दशमलव ७९ विन्दुसम्म पुगेको नेप्से ३००२ दशमलव ८० को विन्दुमा बन्द भएको हो।
सो दिन नेप्सेमा कुल चार करोड १८ लाख ८ हजार ९६६ कित्ता सेयरको एक लाख ५७ हजार ५२५ पटक खरिद बिक्री हुँदा १८ अर्ब ५२ करोड ९३ लाख रुपैयाँ बढीको कारोबार भएको छ। जसमा सर्वाधिक कारोबार हिमालयन डिस्टिलरीको ६४ करोड ४१ लाख रुपैयाँ बढीको भएको हो।
कारोबारमा आएका ३२१ कम्पनीमध्ये ३ वटा कम्पनीहरुको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ। जसमा मुक्तिनाथ कृषि कम्पनी, ट्रेड टावर लिमिटेड र सान्भी इनर्जी रहेको छ। नाडेप लघुवित्तको सेयर मूल्यसमेत ९.९९ अंकले वृद्धि भएको छ।
बजारमा उत्साह छाउँदा पनि ९८ वटा कम्पनीका लगानीकर्ताले गुमाएका छन्। जसमा समता घरेलु लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले सर्वाधिक गुमाएका हुन्।
यस्तै, मंगलबार कारोबारमा आएकामध्ये बैंकिङ समूह १.३२ अंक, होटल समूह ०.३२ अंक, हाइड्रोपावर समूह ०.४४ अंक, इन्भेष्मेन्ट समूह ०.९४ अंक, लाइफ इन्स्योरेन्स समूह ०.७९ अंक, नन्लाइफ इन्स्योरेन्स समूह १.१२ अंक, उत्पादन तथा प्रशोधन समूह ०.९८ अंक र माइक्रोफाइनान्स समूह १.६९ अंकले वृद्धि भएका छन्।