काठमाडौं। असार २४ मा रसुवामा आएको बाढीले ठूलो जनधनको क्षति पुर्याएकै बेला फेरि भोटेकोसीमा लेदोसहितको बाढी आएको छ। रसुवा प्रशासनका अनुसार बुधबार बिहान २ः१४ बजे भोटेकोसीमा बाढी आएको हो।
जिल्ला प्रहरी कार्यालय रसुवाका सूचना अधिकारी इन्स्पेक्टर राजु शाहका अनुसार भोटेकोसीको जल सतह यसअघि असार २४ को भन्दा ठूलो रहेको छ।
हालसम्म बाढीबाट कुनै क्षति पुगेको खबर नआए पनि बुझ्ने काम भइरहेको उनले जनाए। रसुवाका सहायक प्रमुख जिल्ला अधिकारी ध्रुवप्रसाद अधिकारीले बाढी आएपछि तीन वटै जिल्लाका सुरक्षा निकायलाई अलर्टमा राखिएको बताए।
भोटेकोसी नुवाकोटमा पुगेपछि त्रिशूलीमा मिसिने गरेको छ। सोही कारण रसुवासहित नुवाकोट र धादिङका सुरक्षा निकायलाई उच्च सतर्कमा राखिएको हो। टिमुरे भन्सार यार्डबाट गाडी पहिल्यै निकालिएकाले क्षति नभएको उनको भनाइ छ।
अधिकारीले चीनतर्फबाट ठूलो पानी पर्न सक्ने सम्भावना रहेकाले सतर्क रहन सोमबार सूचना प्राप्त भएको जानकारी दिए।
जिल्ला प्रहरी कार्यालय नुवाकोटका सूचना अधिकारी डिएसपी विक्रम लामाले बाढीबारे रसुवा प्रशासनबाट बिहान ३ बजे खबर आएको बताए।
जिल्ला प्रहरी कार्यालय धादिङका सूचना अधिकारी डिएसपी सुवास हमालले पनि त्रिशूलीको बहाव बढेका कारण तटीय क्षेत्रमा प्रहरी युनिटलाई अलर्टमा रहन भनिएको बताए। बाढीले त्रिशूली–काठमाडौं प्रसारण लाइनको स्टेसनमा क्षति पुगेको छ।
यस्तै, बाढीले पैरेबेंसी, वेत्रावती, त्रिशूली, देवीघाटलगायत स्थानमा कटान गरेको छ। नेपाल प्रहरी र सशस्त्र प्रहरीले ‘माइकिङ’ गरेर नदी आसपासका घरपरिवारका सदस्यलाई सुरक्षित स्थानमा बस्न सचेत गराएको नुवाकोट प्रशासनले जनाएको छ।